Sunday, 25 August 2024

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा


 धनराज गिरी

माता, पिता ः महामाया गिरी, परशुराम गिरी

जन्ममिति ः वि.स. २०१५ भाद्र ९

जन्मस्थान ः दाबिले हटिया, मकवानपुर

हालको बसोबास ः रत्ननगर–६, चितवन

लघुकथा कृति ः साथी (२०७६)

थप परिचय 

—प्राध्यापन, सहिद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर चितवन 

—खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर (चितवन)

—उपाध्यक्ष, वाल्मीकि साहित्य सदन, चितवन 

सम्पर्क नम्बर ः ९८४५०६५८१५


प्रवृत्तिहरू ः 

 — बालबालिका एवम् जेष्ठ नागरिकको जीवनप्रति सम्वेदना ।

— सामाजिक उत्पीडनप्रति चिन्ता ।

—राजनीतिक विकृतिको आलोचना । 

— शिक्षा क्षेत्रका विकृतिप्रति छेड प्रहार  ।  

—शैक्षिक क्षेत्रका समस्याको उजागर । 

—धार्मिक, साहित्यिक क्षेत्रका विसङ्गतिको चर्चा  । 

— पात्रको चरित्र चित्रणमा रुचि । 

—सम्वादात्मक शैली ।

दोषी तिनै हुन्

अकाल कालग्रास हुनेहरूको विभाग छुट्टै यमपुरीमा । नेपाल शाखामा बढी भीड । आज धर्मराज चित्रपुप्त लिएर आफै खटेका छन् । यहाँ धाँधली हुने कुरा उनको गुप्तचरले खबर गर्यो  । कोसेलीको रूपमा अनियमिततालाई नेपालीले त्यहाँ पनि लगेछन् । 

“चित्रगुप्तजी ! यी रातापिरा मानिसको वास्तविक खाता हेर्नुहोस् त ।”–प्रभुको आज्ञा भो ।

“प्रभु ! यी इन्जिनियर, ओभरसियर, ठेकेदार र सरकारी सचिव ।”

“के भएर ३५ वर्ष अघि नै हाजिर हुन आए ?”

“सडक दुर्घटनामा परेर ।”

“गाडी कसले हाँकेको थियो ?”

“ठेकेदार साबले ।”

“सडक कस्तो थियो ?”

“प्रभु ! म स्वयम् यहीँ छु , म भन्छु सबै कथाव्यथा ।”–चित्रगुप्त बोले । 

अचानक भिडबाट एउटा अनुहार कुरूप भएको ५०० किलोमिटर लामो अदभूत मान्छे प्रकट भयो । सबैले उसलाई हेरे । अजिब । 

“होइन, ब्रह्मा बाबाको सृष्टिमा यस्तो जीव पनि छ ? चित्रगुप्तजी ।” –धर्मराज बोले । 

“प्रभु ! आज सडक बोल्छ मान्छेको भेषमा । उसको कथा उसैले भन्ने अनुमति दिनुहोस् ।” चित्रगुप्तले भने । 

बोल्यो सडक–“प्रभु ! मेरो आयु घटीमा ५५ वर्ष हुने थियो । मेरो नाममा आएको बजेट यी मुसाहरूले झ्वाम पारे । हरेक साल सडक बन्छ तर पिच रोड होइन, घीच रोड । भागशान्ति । यिनीहरूले मेरो आयु मात्र खाएनन्, आफ्नो आयु पनि खाए । अब हेर्नुहोला, अनेक नाममा राष्ट्रको धन लुट्नेले भुकम्पको नाममा पनि चमत्कार गर्नेछन् । धरातलीय यथार्थ उही हो । त्यो नेपाल भन्ने देशमा बेइमान मौलाउने र इमान्दार बौलाउने कुरा नौलो होइन । म बलियो भएको भए हिजो राति जति मापसे गरेर कार हाँके पनि यिनीहरू बाँच्ने थिए । यही ठेकेदार र यी हाकिमहरूको एम्बुसमा यिनीहरू नै परे । प्रभु कथा लामो छ । मेरो लम्बाइ जति नै नेपालमा कम बेइमान लेखक, प्र्रावि शिक्षक, हुलाक कर्मचारी र सानासाना किसान र व्यापारी हुन्छन् । यी भ्रष्टहरूलाई कडाभन्दा कडा सजाय दिनुहोस् प्रभु ।”

“हो प्रभु ! बिल पास हुन पाउन्न, सडक भत्किन्छ ।” चित्रगुप्तले पनि थपे । 

धर्मराज बोले–“यिनलाई सय कोर्रा लगाएर तातो तेलमा उमाल । अनि सुन्, त्यहाँका नेतृत्व पंक्तिका नेताहरू सबैलाई यतै ल्याउँ र नरकको सीमान्त कठोर कोठरीमा दाखिला गर । खासमा दोषी तिनै हुन् ।


प्रयोग

अमेरिका निवासी उमा अर्याल । एक सुन्दर युवती । साथी बनिन् प्रभातको । 

यतिको पुरुष हानिकारक नहोला ।” उमाको आत्मनिर्णय थियो  प्रभातसँगका मित्रतामा । 

“उमा ।” मेसेज लेख्यो प्रभातले उमालाई अनलाइन देखेर ।

“अङ्कल, नमस्कार ।” उमा तुरन्त हाजिर भई । 

“एउटा रमाइलो गर्ने ?” प्रभातले भन्यो । 

“के होला अङ्कल ?” 

“आधा घण्टा वा ४५ मिनटमा हामी बाउ छोरीले कथा पोष्ट गरौं । तिम्रो एक सुन्दर तस्वीर पनि राख, अनि हेर तमाशा ।”

“वाऊ अङ्कल, हजुरको दिमागलाई मान्नुपर्छ । लु लु.....हो जाये ।”

भने अनुसार कार्य सम्पादन भयो । कथा छोडेको एघार मिनटमा प्रभातको पोष्टमा सिर्फ दुई कमेन्ट र सात लाइक आयो । तर उमाका पोष्टमा ७५ कमेन्ट र ९९ लाइक ७ शेयर । तीन घण्टामा प्रभातले पायो–सात कमेन्ट र १२ लाइक तर उमाले पाइन्–५५५ कमेन्ट ६६६ लाइक १११ शेयर । उमाका पोष्टमा सहभागिता जनाउने सदस्यहरू अधिकांश पुरुष थिए । उमाका पोष्टमा देखिएका केही नमुना कमेन्ट यस्ता थिए–कमाल बुनु, जस्तो मान्छे त्यस्तै बेजोड कथा, सर्वोत्तम रचना, मनोविज्ञानको सफल प्रयोग, आहा यस्तो पो रचना, रूप हेर्दा खुबै राम्री रचनाको के बयान गरौं आदि आदि । उमाका रचनामा सामाजिक सञ्जालमा प्रायः देखिने वरिष्ठ साहित्यकारहरूका कमेन्ट पनि हेर्न लायक थिए । भाइरल बनिन् उमा । फोटोको कमाल ।

“कस्तो लाग्यो बेटे दुनियाँ ?”

“माने अंकल हजुरलाई । दुनियाँ के को पछि दगुर्छ, थाहा भयो । हाम्रो प्रयोग सफल भयो ।”

प्रभात र उमाले निष्कर्ष निकाले । “सञ्जालमा देखिने वाहवाही रचनाको सही मूल्याङ्कन होइन । यसैले साहित्य दीर्घ साधनाको प्रतिफल हो ।” 


गायत्रीकुमार चापागाईं ः परिचय, प्रवृत्ति र लघुकथा

 गायत्रीकुमार चापागाईं

माता, पिता ः युवाकुमारी चापागाईं, दण्डपाणी चापागाईं

जन्ममिति ः वि.स. २०१२ कार्तिक ८

जन्मस्थान ः दिङ्ला, भोजपुर

पहिलो प्रकाशित लघुकथा ः 

लघुकथा कृति ः साइत (२०७६)

कथा कृति ः चर्किएको घर (२०७०), डिभोर्स पार्टी (२०७४)

थप परिचय ः

—लामो समय शिक्षण सेवामा रहेर कार्य गरेको ।

—पूर्वाञ्चलमा विभिन्न साहित्यिक संस्थामा आबद्ध रहेर साहित्यिक पत्रिकाको प्रकाशनमा समेत सक्रिय ।

सम्पर्क नम्बर ः ९८४२०३४१५७


प्रवृत्तिहरू ः 

— राजनीतिक विकृतिप्रति आलोचना ।

— वैदेशिक रोजगारका कारण सिर्जित समस्याको चित्रण ।

— नारी पुरूष सम्बन्धका जटिलताको प्रस्तुति । 

— धार्मिक क्षेत्रका विसङ्गतिको आलोचना ।  

— कर्मचारीतन्त्रमा रहेका भ्रष्ट प्रवृत्तिको आलोचना । 

—साहित्यिक क्षेत्रका गलत प्रवृतिप्रति व्यङ्ग्य । 

—  व्यङ्ग्यात्मक चेतनाको प्रस्तुति । 

पुस्तकको इज्जत

मेरो मित्र प्राध्यापक सुवेदीलाई एउटा गहन विषयमा लेखिएको उपन्यासको समीक्षात्मक टिप्पणीका लागि आयोजकहरूले छनौट गरेछन् । पुस्तक उपलब्ध गराएछन् । दुई–चार दिनको गहन अध्ययनपछि भन्दैथे–“आफूले बुझेकै विषयवस्तु, भोगेकै भुगोल तथा परिवेश भएकाले खालि प्रस्तुतिको ढाँचामात्र हेरेँ । मन पर्यो ।”

पुस्तकको विमोचन अन्यत्र भएपनि प्रकाशकको बजार व्यवस्थापनलाई सघाउन र लेखकलाई उचाल्न आजकल पुस्तक परिचर्चा कार्यक्रम राख्ने होडबाजी चल्न थालेको छ । शहरको भव्य स्थलकै सभा हलमा कार्यक्रम सुरु भयो । लेखकको पहिलो उपन्यासले नै निक्कै चर्चा पाइसकेकाले होला, उपस्थिति पनि आकर्षक देखियो । 

लेखक सहित विशिष्ट साहित्य साधकहरूको माझ फूलमालामा सजिएका सुवेदी सर रातापिरा देखिए । मच्ची–मच्ची आकर्षक शैलीमा पुस्तकका विशेषताहरू बुँदागत रुपमा केलाए । विषयवस्तु, पात्र, परिवेश, प्रस्तुति, दृष्टिबिन्दु आदिको प्रशंसा गरे । उनको प्रभावशाली, खरो र दरो मूल्याङ्कनलाई लेखकले हात उठाएर स्वागत गरे । चर्चामा अरू पनि सामेल थिए तर सुवेदी सर जस्तो खरो, दरो देखिएनन् ।

कार्यक्रम सकिने बेलामा सुवेदी सरले आफ्नो झोलाबाट आफूले लेखेको आख्यानकै पुस्तक लेखकलाई उपहार दिए । अरु पनि उपहार दिनेहरू थपिए । यस्तैमा कोही भने लेखकलाई पुस्तकमा सही गराउन थाले । सही गर्नुपर्दा लेखकले उपहारका पुस्तक कुर्सीमुनि राखेर सही गर्न थाले ।

कार्यक्रम नसक्दै सहभागीहरू खाजा खानतिर लागे । सुवेदी सर पनि लेखकसँगै उतै लागे । हिँड्ने बेलामा सुवेदी सरको मन चञ्चल भयो कि के हो ? यसो हलतर्फ नै चियाउन थाले । चियाउँदा त उपहारमा दिएका पुस्तकहरू कुर्सीमुनि नै अलपत्र । यता लेखक भने बेपत्ता । आफ्नो पुस्तक झोलामा राख्दै उनी भन्दै थिए–“थुइक्क ! पुस्तकको इज्जत नगर्ने पनि लेखक हुन् सक्छन् ।” 

उनको गतिविधि हेरिरहेको मैले भनेँ–“पुस्तक त फिर्ता लियौँ सर, अघि आफैले गरेको टिप्पणी चाहिँ कसरी फिर्ता लिन्छौं ।”

उनको अनुहार हेरि नसक्नुको भयो । 


वनबासको कथा

सर्लाहीको सोझो गाउँले चौधरी । रामचन्द्रझै तेह्र वर्षको वनबासको जीवन भोगेर विदेशबाट काठमाडौंको विमानस्थलमा उत्रिएको । गेटबाहिर नआउँदै पत्रकारहरूले घेरिहाले । बिचरा ! अकमकाउँदै आफ्नो व्यथा उकेल्दै थियो । 

ऊ कुनै अपराध गरेर बन्दी भएको होइन रहेछ । उसको अरबियन मालिकले पासपोर्ट जफ्त गरेर काममा जोताउनसम्म जोताएछ । उसको कथन थियो–“मरुभूमिमा सानो झुप्रामा उसको वासस्थान । त्यहीा वरिपरि तरकारी लगाउनु, बाखा चराउनु, कुखुराको हेरचाह गर्ने काम । अरु कामदार आए पनि नटिक्ने, भागिहाल्ने । पानी उम्लने गर्मी ।”

“पैसा चाहिँ दिन्थ्यो त ?”

उसलाई लिन गाउँबाट आइपुगेकी बूढीले अघि सरेर भनी–“फोनमा बिन्तिभाउ गर्दागर्दा बल्ल बैङ्कमा पैसा हालिदिन्थ्यो तर बूढासँग कुरा गर्न नदिने । पैसा पनि बढाएर नपठाउने ।”

“फोन थिएन त तिमीसँग ।” पत्रकारको प्रश्नमा उसको भनाइ, “कहाँ हुनु, किन्ने पैसा दिँदै दिएन । फोन आउँदा उसकै फोनमा आउने । नम्बरसम्म धन्न दियो ।”

“यता आउन बिदा मागेनौ ?”

“पासपोर्ट त दिएन, विदा कहाँ दिन्थ्यो ।”

रूँदै उसकी बूढीले थपी, “घरमा म बेरामी परेँ । मेरो लोग्नेलाई पठाइदेउ भनेँ । पैसा पठाएकै छु । कचकच नगर भन्यो । रूएँ, फोन काट्यो । अपराधी, असत्ती । 

“अहिले कसरी आयौ त ?” पत्रकारको प्रश्नमा उसको उत्तर, “एक वर्ष अघि एउटा पाकिस्तानी मसँगै काम गर्न आयो । दिलको भला मान्छे । म रूएँ, आफ्नो बेथा कहेँ । उसैले कुन संस्थाका मानिसलाई खबर गरेछ । मान्छे आए र मालिकलाई यसलाई फिर्ता गर भने । उसले हुन्छ भन्यो तर टेरेन । अर्को पटक पुलिस लिएर आए अनि टिकट काटिदियो । पैसाचाहिँ दिएन । 

पत्रकारले झल्याकझलुक पार्दै फोटो खिचे । उसकी बूढी भन्दै थिई, “लौ ! तिमीले त जुन लुगा लगाएर गएका थियौ, त्यै पो लगाएर आएछौ । धन्न हातखुट्टा सग्लै रहेछन् । अब आफ्नै जमिन कन्याएर खानुपर्छ ।” उसले आँसु झार्यो । बोलेन । बूढीले छोरालाई देखाउँदै भनी, “यसलाई चिनेनौ ? तिम्रो छोरा ! खेत जोत्छ, पढ्छ पनि ।”

“लौ, यो त मभन्दा अग्लो भएछ ।” भन्दै उसले छोरालाई अँगालो हाल्दै भन्यो, “छोरा ! अर्काको देश अर्काकै हुँदो रहेछ, म धन्न बाँचेर आएँ ।”      



डा. गणेशकुमार पौडेल ः परिचय, प्रवृत्ति र लघुकथा

 डा. गणेशकुमार पौडेल

माता, पिता ः विष्णुमाया पौडेल, खडकबहादुर पौडेल

जन्ममिति ः वि.स. २०११ फाल्गुन  ७

जन्मस्थान ः लिखुतामाकोशी गाउँपालिक (रामेछाप)

हालको ठेगाना ः हेटौंडा उपमहानगरपालिका २, बनस्खण्डी रोड

लघुकथा कृति ः आमाको माया (२०७६)

थप परिचय ः

—लामो समय जनस्वास्थ्य विशेषज्ञका रुपमा सेवा ।

—स्वास्थ्य एवम् साहित्य सम्बन्धित तीन दर्जन जति पुस्तकका लेखक

—विभिन्न साहित्यिक एवम् सामाजिक संघसंस्थामा संलग्न ।

—विभिन्न समयमा राष्ट्रिय–अन्र्तराष्टिय पुरस्कार प्राप्त ।

सम्पर्क नम्बर ः ९८४५०२७६२३

प्रवृत्तिहरू ः 

 — राजनीतिक जीवनका विसंगत जीवन यथार्थप्रतिको आलोचना ।

—सामाजिक जीवनका विकृतिको विरोध ।

— भ्रष्टाचारजन्य क्रियाकलाप्रति आलोचना ।

— न्यायालयमा हुने ढिलासुस्तीप्रति व्यङ्ग । 

—  प्रशासनिक विकृतिप्रति छेड प्रहार ।  

—स्वास्थय क्षेत्रका विकृतिप्रति व्यङ्ग्य । 

— मिथक एवम् पशुपंक्षी पात्रको प्रयोग । 


चिकित्सक

रामशरणको दाइने खुट्टाको ऐडी खुस्कियो, जसले गर्दा उसले खोच्याएर हिँड्नु पर्यो । हिँड्दाहिँड्ददै एउटा कार रोखियो । त्यो कारमा हड्डी र नसाका दुई चिकित्सक थिए । 

हड्डीको चिकित्सकले भने–“तिमी हड्डीको कारणले लड्खडाएर हिँडिरहेका छौ । मेरो क्लिनिकमा आऊ, म सन्चो पारिदिन्छु । फेरि त्यहीँ नशाका चिकित्सकले भने–“हड्डीको कारणले होइन, नसाको कारणले हो । मेरो क्लिनिकमा आऊ, म निको पारिदिन्छु ।”

रामशरण रिसाएर जुत्ता देखाउँदै भन्यो, “तपाईँहरू जस्ता नसा र हड्डीको चिकित्सक हैन, मलाई जुत्ताको चिकित्सक चाहिएको छ ।”


आमाको खोजी

बालककालमा आमाको काखमा हुक्र्यो, बढ्यो तर जवान भएपछि सुदिपलाई कानो आमाको छोरा भन्दा ज्यादै घृणा लागेको हुँदा उसले आमा मात्र होइन, गाउँघर त्यागेर मुग्लान पसेको थियो । 

धेरै वर्ष बितेपछि उसलाई एक साधुले भेटी “तिम्री आमाको हालखबर के छ, बाबु ?” भनी सोध्दा उसले भन्यो, “मलाई कसरी चिन्नुभो र मेरी आमालाई किन सोध्नुभयो ?”

“बच्चामा तिमीले चकचक गर्दा तिम्र्रो आँखा फूट्यो, आमाले अस्पतालमा लगि आफ्नो आँखा झिकेर तिमीलाई सध्ये पर्दा आमा कानो भइन् । तिमीलाई धेरै दुःखकष्टले हुर्काएकी थिइन् । त्यसैले सोधेको ।”

साधुको कुरा सुनेपछि सुदिपलाई डाहा र छट्पटी भयो । आमा भन्दै खोज्दै जाँदा आमाको मृत शरिर चित्तामाथि देख्यो ।


Saturday, 24 August 2024

वासुदेव गुरागाईँ ः परिचय, प्रवृत्ति र लघुकथा

 वासुदेव गुरागाईँ

माता, पिता ः गोमा गुरागाईँ , खिलानाथ गुरागाईँ

जन्ममिति ः वि.स. २०१५ साउन ९

जन्मस्थान ः दुप्तेचर–५, नुवाकोट

पहिलो प्रकाशित लघुकथा ः 

लघुकथा कृति ः फुमन्तर (२०७६)

छोाटा कथा ः अनुमानित निष्कर्ष (२०७२)

थप परिचय ः

—नेपाल सरकारका अवकाशप्राप्त सहसचिव ।

—विभिन्न साहित्यिक—सांस्कृतिक गतिविधिमा संलग्न ।

सम्पर्क नम्बर ः ९८४१६६७१४९÷९८५११६७१४९


प्रवृत्तिहरू ः 

 — राजनीतिका क्षेत्रका विकृतिको आलोचना ।

— सामाजिक जीवनका गलत चिन्तनको विरोध ।

— सामाजिक विभेदको आलोचना । 

— प्रशासनिक क्षेत्रका अव्यवस्था, भ्रष्टाचार, कामचोर प्रवृतिप्रति व्यङ्ग्य प्रहार । 

— पुस्तान्तरणका समस्याको प्रस्तुति  ।  

—व्यक्ति जीवनका विसंगतिको आलोचना । 

—साहित्यिक क्षेत्रका विकृतिप्रति व्यङ्ग्य ।

— व्यङ्ग्यात्मक चेतनाको प्रस्तुति । सम्वादात्मक शैली  ।


दुई थोपा आँसुं

ऊ सरक्क उठ्न सक्ने अवस्थामा थिएन । थोत्रा बोरामा प्लास्टिक बटुल्दै आइरहेको मानिसलाई देखेर ऊ बसेकै ठाउँबाट सकिनसकी भुक्न थाल्यो । 

एकाध बिस्कुट उसका अगाडि छन् । नजिकै उसको मुखसम्म छिर्ने प्लास्टिकको बट्टामा अलिकति पानी छ । तर त्यो पिउन पनि उसका लागि त्यति सहज छैन । 

एउटा मान्छे परैबाट उसलाई नियाल्दै त्यहीँ आइपुग्छ । पुलुक्क मतिर हेर्छ । उसको हेराइको जवाफमा मैले सोधेँ–“के यो बिरामी छ ?”

“बिरामीभन्दा पनि यो बूढो हो ।” ऊ कौतूहलपूर्ण नजरले मतिर हेर्दै जवाफ लगाउँछ । 

उसको जवाफको भाषाले मेरो मन चसक्क दुख्छ । किनकि म पनि त बूढै हुँ नि । अझ त्यो कुकुरभन्दा धेरै बूढो । 

ऊ नरोकिईकन मतिर हेरेर बोलिरहन्छ–“कसले ल्याएर छाड्यो होला यसलाई यहाँ ! यो ठुलो जातको राम्रो कुकुर हो । कसैले सोखका लागि दशौँ हजार तिरेर ल्यायो होला । घरका कौंसीमा उभ्याएर छिमेकीका सामु प्रदर्शन गर्यो होला । सँगै सुताउने, खाने र खुवाउने काम गर्यो  होला । गाडीमा घुमायो होला । थाहा नपाएझैं गरी साँझ बिहान सडकमा निकालेर छिमेकीका सामु धाक जमाउँदै सडकमा फोहोर गरायो होला । बदलामा यसले पनि इमानदारीपूर्वक घरको रखबारी गर्यो होला । तर, समयान्तरमा यो बूढ्यौलीले अशक्त भयो । अनि, घर फर्किन्छ भन्ने डरले उसले रात÷साँझको समयमा गाडीमा ल्याएर निर्दयतापूर्वक यहाँ फालेको हुनुपर्छ । हेर्नुस् कति निष्ठुरी छ मान्छे !”

ऊ भन्दै छ–“म दिनको एकपटक यहाँ आएर हेर्छु । यसरी बिजोग बनाएर यसलाई फाल्ने मान्छे भेटिन्छ कि भनेर हेर्दैछु पनि । यसरी फाल्नु सट्टा बरु घरैमा एउटा इन्जेक्सन दिएर यसलाई मारिदिएको भए कति बेस हुन्थ्यो । बुढेसकालमा यसरी, यस्तो बिजोग त सहनु पर्दैनथ्यो ।”

कुकुरले सकिनसकी त्यस मानिसलाई पुलुक्क हेर्यो  । उसका कुरा बुझेझैं  गरेर बिस्तारै सहमतिसूचक टाउको हल्लायो र आँखाबाट तुरुक्क दुई थोपा आँसु झर्यो । मैले पनि प्रत्युत्तरमा दुई थोपा आँसु खसाल्नु बाहेक थप केही गर्न सकिनँ । आखिर म पनि त मान्छे नै थिएँ ।


बिचरो लेखक

हुन्छ त भनिहालियो, तर गाह्रै पर्छ कि जस्तो छ । 

उन्नतलालले मनमनै कुरा खेलायो । हैन ! समस्यै प¥यो त !! किन नगर्ने ? हुन्छ भन्दिउँ कि क्या हो ?

हैट, वचन गराइसकेको कुरामा यसरी दोमन गर्ने ? कि पहिल्यै अलि ढिला निर्णय दिनुपथ्र्यो । त्यतिखेर हौसिएर हुन्छ भनियो । जेसुकै होस् गर्ने हो । 

  उन्नतलालले पटकपटक मनमा कुरा खेलायो । मानसिक युद्ध चलिरह्यो । गर्ने कि नगर्ने मानसिक द्वन्द्वमा फसिरह्यो । द्विविधाको पहाड चुलियो उसका मनमा । थरथर गोडा कमाएर भए पनि उसले आफ्नो एउटा मनको पक्ष लिँदै भन्यो–बोलेको कुरा पुरा गर्नुपर्छ । कार्यक्रम गर्ने हो । 

पुस्तक–विमोचनको टुङ्गो लाग्यो । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, समीक्षक र अन्यको पनि टुङ्गो लाग्यो । आमन्त्रण गर्नेमा करिब एक सय पचास जना जतिको सूची बन्यो । दोहोर्याएर   पढ्यो । तेहर्याएर  पढ्यो । बोलाउनुपर्ने मान्छे कति छुटे, कति । छुट्नेहरूको सूची नै दुई तीन सयको बन्यो । यसै त काँपिरहेको उसको खल्ती तिनका नाम सुन्नेबित्तिकै नब्बे सालको भुकम्पझै यता र उता हल्लिन थाल्यो । मडारिन थाल्यो । 

कार्यक्रम अघि बढ्यो । पुस्तक विमोचन भयो । विमोचित कृतिको नाम थियो–’अर्काको घोडा आफ्नो धुरी ।’ सबैले बेपर्वाह ताली ठोके । समीक्षकले आफ्ना धारणा राखे । 

“कृति पुरै पढ्न त भ्याइएन, तथापि सरसरती नियाल्दा भन्ने बित्तिकै उन्नतलाल झसङ्ग भयो । 

“कृति निकाल्न हतार गर्नुहुन्न, वर्षाैंको लामो समय लिएर रचनालाई खारेर मात्र प्रकाशनमा ल्याउनुपर्छ । यति भन्दाभन्दै पनि उन्नतलालजीका रचना असाध्यै राम्रा र समाजसापेक्ष छन् । यति मात्र नभएर समाजलाई मार्गनिर्देशन गर्ने खालका छन् ।” समीक्षकले कुरो टुङ्ग्याए । 

समीक्षकले के भन्न खोजेको उन्नतलालले बुझेन । ओठमुख सङ्रङ्ङ सुक्यो । कहाँनेर के बिग्रियो र कहाँनिर के हुनुपथ्र्यो पनि भनिएन । सबै कुरा थोकमा बोलियो । 

ऊसँग पनि हतारहतारमा धन्यवाद भन्नु बाहेक थप बोल्ने समय भएन । दुई सय थान जति पुस्तकले ऊबाट विदा लिए । खाजाका नाममा पच्चीस हजार लेखाएर खल्तीको चेकले पनि विदा माग्यो । 

बिचरो लेखक कार्यक्रम सकिएपछि कोठामा पुगेर खाटमाथि डङ्रङ्ङ लड्यो । जे भएपनि अब त हाइसन्चो भो भनेको त बूढीले ढोकाबाट यसो चियाएर–“खुब रहर  गर्थ्यो, अब त रहर मेटियो होला नि ?” भनेर छ्वस्स भन्नेबित्तिकै पलङमाथि ठडिएको उसको नाक उल्टिएर त्यसैमाथि ठोसियो । 


एकदेव अधिकारी ः परिचय, प्रवृत्ति र लघुकथा

 एकदेव अधिकारी

माता, पिता ः पद्मकुमारी अधिकारी, उमानाथ अधिकारी

जन्ममिति ः वि.स. २०३१ असार ४

जन्मस्थान ः रत्ननगर नगरपालिका ५, चित्रसारी, चितवन

लघुकथा कृति ः 

भिखारी (२०७६)

स्वको खोजी (२०७५) विभिन्न विदेशी भाषाका लघुकथाको नेपाली अनुवाद

सम्पादित संकलन प्रयोग–केही रेच्की गल्फहरूको अंग्रजी अनुवाद 

थप परिचय ः

—चितवनमा रहेर शिक्षण एवम् साहित्यिक क्षेत्रमा सक्रिय ।

—लेखन, सम्पादन एवम् अनुवाद ।

—फेसबुक पत्रिका लघुकथा कुनोका सञ्चालक ।

सम्पर्क नम्बर ः ९८५५०३८०


प्रवृत्तिहरू ः 

 — राजनीतिक विकृतिको आलोचना ।

— सामाजिक विभेद एवम् अन्यायजन्य गतिविधिको विरोध ।

—शिक्षा क्षेत्रका विकृतिप्रति व्यङ्ग्य । 

— पारिवारिक जीवनका समस्याको प्रस्तुति ।  

—गैरसरकारी संस्थाका गलत गतिविधिको आलोचना । 

—पारिवारिक जीवनका समस्याको प्र्रस्तुति । 

— पुस्तान्तरणका समस्या । 

—ससाना वाक्य एवम् अनुच्छेदको प्रयोग ।

— सुत्रात्मक अभिव्यक्ति ।

वन्यजन्तु संरक्षण सप्ताह

वन्यजन्तुको संरक्षणमा काम गर्ने देशकै एक ठूलो गैरसरकारी संस्थाले वन्यजन्तु संरक्षण सप्ताह कार्यक्रमको आयोजन गर्यो । सप्ताहको पहिलो दिन कार्यक्रमको उद्घाटन सत्र सुरू हुँदै थियो । कार्यक्रम आयोजकले प्रमुख अतिथि मन्त्रीज्यूसँग प्रश्न सोधे–“मन्त्रीज्यू, उद्घाटनको समय हुनैलाग्यो । खाजामा के बनाउँ ?”

मन्त्रीज्यूको मुखबाट फ्याट्ट जवाफ निस्कियो–“बँदेलको सुकुटी तयार गरेर राख्नु, म रिबन काटेर आइहाल्छु ।”


केन्द्राध्यक्ष

परीक्षा चलिरहेको चौथो दिन विज्ञान विषयको परीक्षा करीब सकिनै लागेको थियो । जिल्ला शिक्षा कार्यालयले खटाएको जिल्लाको घुम्ती निरीक्षण टोली ढोकामा आइपुगेको देखेर केन्द्राध्यक्ष ढोकामै स्वागत गर्न पुगे । घुम्ती टोलीलाई मूलद्वार वरपर नै केहीबेर अल्झाएर केन्द्राध्यक्ष आफ्नो केन्द्रको बखान गर्दै थिए–“हेर्नुस्, हामीले चिट चोर्न त परै जाओस्, भित्र लैजान समेत दिएका छैनौं ।”

“तपाईँ त हामीपट्टिकै मान्छे । यो केन्द्रका अधिकांश विद्यार्थी पनि हामीपट्टिकै त छन् नि । तपाईँप्रति हामीलाई पुरापुर विश्वास छ । यसपालिको उत्कृष्ट परीक्षा केन्द्रमा सिफारिस समेत गरिसकेका छौं ।”

केही क्षणमै परीक्षा पनि सकियो । विद्यार्थीहरू एकएक गर्दै हासिलो मुद्रामा बाहिरिए । विज्ञान विषय शिक्षकको अनुहार थकित र फुङ्ग उडेको देखिन्थ्यो । उनी केन्द्राध्यक्षलाई अरूले नेदेख्ने गरी केही इशारा गर्दै शिक्षक कक्षतिर लागे । 

निरीक्षण टोली पनि केन्द्राध्यक्षसँगै चियापानमा केहीबेर भुलेर विदा माग्दै हिँड्ने तरखरमा लागे । त्यतिकैमा विद्यालयको पियन रामे केन्द्राध्यक्षतर्फ आउँदाआउँदै भन्न थाल्यो, “सर, कोठाको पछाडिपट्टि फ्याँकिएको कागज दुई बोरा भयो । कबाडीमा पठाउने कि ?”

“हुँदैन, एउटा खाल्डोमा राखेर पोलिदिनु ।” 


रञ्जुश्री पराजुली ः परिचय, प्रवृत्ति र लघुकथा

 

रञ्जुश्री पराजुली 

रञ्जुश्री पराजुली 

माता, पिता ः सुशिला भट्टराई, ठाकुरनाथ भट्टराई

जन्ममिति ः वि.स. २००५ मंसीर २४

जन्मस्थान ः काल्धारा, काठमाडौं

लघुकथा कृति ः घाइते मनिप्लान्ट (२०७५)

थप परिचय ः

—पद्मकन्या क्याम्पसका लामो समय प्राध्यापन, हाल अवकाशप्राप्त ।

—मूलत ः बालसाहित्य त्यसपछि नियात्रा एवम् अनुसन्धानात्मक लेखनमा सक्रिय ।

—नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक समूहको सञ्चालक । 

सम्पर्क नम्बर ः ९८४१२८६८५८


प्रवृत्तिहरू ः 

 — वैदेशिक जीवनका अनुभूतिको प्रस्तुति ।

— प्रवासी नेपालीका समस्याको चित्रण ।

—नवपुस्ताका संस्कारहीन कार्यको आलोचना । 

— नरनारी सम्बन्ध र तिनले निम्त्याएका जटिलताको प्रस्तुति ।  

— समलैङ्गिक सम्बन्धका असहजताको चित्रण । 

— कतिपय रचनामा वर्णनात्मकता भएपनि पछिल्लो समयका रचनामा सुत्रात्मकता र सम्वादात्मक शैलीको प्रयोग । 

— राजनीतिक विकृतिको आलोचना । 


कठिन घुम्ती

“सबै साथीहरु सङ एक से एक ब्रान्डेड मोबाइल छ । आफू सङ भने थोत्रो अरुलाई देखाउन पनि लाज लाग्ने दुई पैसे खाले छ ।अब देखि मलाई फोन नगर्नुस् है ।” दम जवाफ दिन्न । भनेर सुरेश प्रत्यक दिन स्कुल जाने बेलामा बाबुलाई घुर्क्याउँछ ।

छोरालाई साम्य पार्दै बुबा चाहिँ “त्यसो न भन न बाबू । एक महिना साहुले ओभर टाईम गर्न दिए भने म तिमीलाई यो भन्दा राम्रो किनिदिन्छु । छोरालाई साम्य पार्ने उद्देश्यले बाबू सम्झाउन खोज्छन् । उनी भन्छन् “ छोरा तिम्रै उज्वल भविष्यको लागि घरमा आमालाइ एक्लै छोडेर यहाँ सानोतिनो काम गरेर पैसा कामाउँदै छु । म तिम्रो सबै इच्छा बिस्तारै पूरा गरिदिन्छु ।”  सरकारियामा नभएर तिमीलाई प्राईभेट कलेजमा एघार कक्षामा भर्ना गरेको छु । तिमी पढाईमा ध्यान देउ । अरू सबै म गर्छु है !“ भनेर उनी छोरालाई सम्झाउने प्रयास गर्छन् ।

“तपाईं सधै त्यसै भन्नुहुन्छ । तर तपाईँले मेरो कुन ईच्छा पूरा गर्नु भएको छ र ?” बाबुले भएर, सकेर पनि आफ्नो इच्छा पूरा नगरेको जस्तो गर्दै रिसाएर सुरेश ढोका ढ्याम्म बजार्दै बाहिर हुत्तिन्छ । राम्रो पढेर ठूलो मान्छे बनोस् । आफुहरूको भविष्यको लौरो बनोस् भनेर दुखजेलो गरे शहर ल्याएर पढाएको छोरोको त्यस्तो क्रियाकलापले आफ्नो मुटुमा ठेस लागेपनि धर्य गर्दै बेलुकी खाना बनाएर छोराको प्रतीक्षा गरेर बस्छन् । आधा रात बितिसक्दा पनि छोरो न आएकोले उनी चिन्तित भएका थिए । त्यत्तिकैमा अकस्मात् ढोका खोलेर हुत्तिँदै छोरा सहित उस्का अरु दुई जना साथी कोठाभित्र पस्दै “ हामीले एटिएमहरुबाट पैसा लुटेर आएका छौ । हामीलाई लुकाई दिनुहोस् ।” भन्न थाले । 


कोपिला

विद्यार्थी बेलादेखि पद्य विधामा कलम चलाएर मैले गुरूहरुबाट तारिफ पाएको थिए । आफु गुरु भएपछि पनि छात्रछात्राले रचेका पद्यका पङ्त्तिहरूको आस्वादन गर्न थाले ।

कोपिला उनको नाम थियो । उनी अनुशासित छात्राहरुको अग्रिम पङ्त्तिमा थिइन् । पढाइको साथै कविता बिधामा उन्को लगाव थियो । उनले रचेका कविता स्तरिय हुन्थे । महाकवी लक्ष्मीप्रसाद देवकोटाका कव्यहरु प्रायः सबै उन्लाइ कन्ठस्थ थियो मुनामदन ।“ उनको प्रिय थियो ।

दसैंको लामो बिदा अगाडी उन्ले मलाइ “मिस ! मैले एउटा खन्डकाव्य लेख्ने प्रयास गरेको बिदामा हजुरले जाँचिदिनुहुन्छ कि ? मैले यो काव्य लोकलयमा लेखेको छु “ भन्दै पान्डुलिपी मलाइ दिइन् । मैले “हुन्छ, म पढेर प्रतिक्रिया लेखिदिन्छु ।” भने । उनले खुशी हुँदै “धन्यवाद“ भनिन् ।

बिदाको सुरुमा नै अरु काम पन्छाएर मैले उनको त्यो लघुकाव्य पढेँ जुन अति सुन्दर थियो । उनको लेखनशिल्पबाट म झनै प्रभावित भए ।

कलेज खुलेको निकै पछि मात्र उनी आइन् । उनको मुहार मलिनो थियो । खास्टो ओडेर आउँथिन ।  म सँग परपर हुन्थिन् । उनमा आएको त्यो परिवर्तनले म अचम्मित भएँ । एकदिन मैले नै “कोपिला मैले तिम्रो काव्य पढेँ । तिम्रो यो काव्यकोपिला मात्र मात्र नभएर सुन्दर शुभाशित पुष्पजस्तो छ । यस्लाइ प्रकाशित गर्न म भूमिका सहित पहल गर्ने छु तर आजकल किन तिमी परिवर्तित भएकी छौ ? तिमीलाई के भएको छ ? लेखेर देखाउन पनि छोड्यौ ? मैले मद्दत गरेर हुने केहि छ भने भन ? म तयार छु ।” भनेँ ।

“म अब लेख्दिन मिस, कसरी लेख्ने, हेर्नुस् । यसपालिको बिदामा तेल पिँध्ने मिलको फित्तामा जेलिएर मेरो हात.......“ भन्दै उनले खास्टो खसालेर देखाइन ।

त्यो देखेर म निशब्द भएँ किनकी उनको दाहिने हातको नाडीसम्म मिलको फित्ताले पेलेर डुँडो बनाएको आलो घाउ थियो ।




अवतार ढकाल ः परिचय, प्रवृत्ति र लघुकथा

                अवतार ढकाल 

 माता, पिता ः राधादेवी ढकाल, कृष्णप्रसाद ढकाल

जन्ममिति ः २०३२ पुस १६ 

जन्मस्थान ः याकु ७, भोजपुर

पहिलो प्रकाशित लघुकथा ः जनभेट साप्ताहिकमा वर्ष ६, अङ्क ३९ मा २०७५ फागुन १ गते प्रकाशित उफ पत्रकारिता लघुकथा ।

लघुकथा कृति ः नियतिको खेल (२०७६)

पेशा ः शिक्षण सेवा ।

सम्पर्क नम्बर ः ९८४४०६०६५८


प्रवृत्तिहरू ः 

 — पारिवारिक–सामाजिक जीवनका लघुकथाको प्रस्तुति ।

— आधुनिक सभ्यताका नाममा उत्पन्न विकृतिको आलोचना ।

— नारी शोषणको विरोध । 

—सामाजिक सञ्जालको दुरुपयोगप्रति चिन्ता ।

— पत्रकारिता क्षेत्रका विसङ्गतिको विरोध ।  

—राजनीतिक विकृतिको आलोचना ।

—धार्मिक क्षेत्रका विकृतिको आलोचना । 

—संवादात्मक शैलीको प्रयोग । 


सत्ताका भगवान

उसको र मेरो डेरा एउटै फ्लयाटमा थियो । कहाँ, के गथ्र्यो, केही थाहा थिएन । हाम्रो बाहिर निस्किने समय प्रायः एउटै हुन्थ्यो । मलाई पूजापाठ र मन्दिर जाने कुरामा खासै जाँगर लाग्दैनथ्यो । ऊ भने बिल्कुल फरक थियो । बिहानै उठेर कोठाका भित्ताभरि राखेका एउटै भगवानका अलग–अलग पोजका फोटाहरूमा पूजा गथ्र्यो । 

“होइन, तपाईँ  त नास्तिक हो, कि के हो ?” ऊ बारम्बार सोध्ने गथ्र्यो । 

म “होइन” भन्थेँ ।

ऊ पत्याउँदैनथ्यो । 

”आस्तिक भए त कुनै न कुनै भगवानको पूजा गर्नुपर्ने । मन्दिर जानुपर्ने । अप्ठ्यारो परेको बेला कुनै पनि देवताले हेर्र्दैनन् नि ।“ ऊ चेतावनी दिन्थ्यो । 

”मैले अहिले मान्ने गरेको भगवान मान्न सुरु गर्नु अगाडि म अर्कै भगवान मान्थेँ । खासै पावर रहेनछ उनको । अहिलेको भगवान मान्न थालेपछि भने प्रगति नै प्रगति भएको छ ।” ऊ आफ्नो भगवानको जयगान गरेर थाक्दैनथ्यो । 

”बुझ्नुभो । यो देउता, सेउता वाहियात् रहेछ । अब पनि नास्तिक भएँ । तपाईँले पूजासूजा नगरेको ठिकै रहेछ ।” एक साँझ मेरो ढोकाबाट भित्र हेर्दै उसले अप्रत्याक्षित कुरा ग¥यो । 

करिब एक हप्तापछि एक दिन बिहानै उसले कोठामा फलाक्दै गरेको मेरै कोठासम्म सुनियो, “हेर्नुहोस्, अरू जे भएपनि नेपालमा बसेपछि भगवान त मान्नैपर्ने रैछ । म त फेरि आस्तिक भएँ ।” उसले आफ्नो कोठाको भित्तातिर इशारा गर्दै भन्यो ।

मैले बाहिरैबाट भित्ताका फोटाहरूतिर नजर दौडाएँ । यसपटक उसले सत्ताका भगवानका फोटाहरू टाँसेको रहेछ ।  

प्रणय दिवस 

“मामु, हाम्रो बाबाचाहिँ कहाँ हुनुहुन्छ ? सबैका बाबा छन्, मेरो चाहिँ खोई ?” सानो हुँदा मैले आमालाई बारम्बार सोधिरहन्थेँ । 

“बाबु, तिम्र्रो बाबामाथि आकाशभन्दा नि माथि आकाशभन्दा माथि ताराहरूको देश जानुभको छ  ?” आमा आकाशतिर पछेउरीले आँखा पुछ्दै भन्नुहुन्थ्यो ।

“के भयो मामु ?” उसले सोधेको थियो । 

“केही होइन । आँखामा कसिङ्गर पस्यो । जाऊ खेल्न ।” आमा भन्नुहुन्थ्यो । 

पछि हुर्किँदै गएपछि आमाले केही नभएरै मैले थाहा पाएँ, मेरो बाबा म जन्मेको केही समयपछि नै गइसक्नु भएको रहेछ । कहिल्यै नफर्कने गरेर । 

प्रणय दिवसको दिन । आफ्ना प्र्रेमिकासँग भेटघाट गर्ने कार्यक्रम तय भएको थियो । घरबाट बाहिर निस्कनु अगाडि आमालाई जानकारी गराउन उहाँको कोठातिर गएँ । रोमान्टिक गीतहरूका पङ्क्तिहरू आफसेआफ मुखबाट निस्किरहेका थिए । 

“प्रेम दिवसको शुभकामना । तिम्रै यादमा बाँचिरहेकी छु । छोरो अझै सानै छ । तिम्रो चिनो अहिलेसम्म गलत बाटोमा लागेको छैन । उसकै अनुहारमा तिम्रो बिम्ब हेरेर बाँचिरहेकी छु ।” ढोका बाहिरै आमाको आवाज सुनियो । 

बिस्तारै ढोका खोलेँ । बाबाको तस्वीर अगाडि उभिएर आमा बोलिरहनु भएको थियो । आँखाबाट बगेका आँसु दुवै गाला छिचोलेर तलतिर झरिरहेका थिए । 


धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...