Friday, 16 August 2024

प्रा.डा. कपिल लामिछाने ः परिचय, प्रवृत्ति र लघुकथा

प्रा.डा. कपिल लामिछाने

माता, पिता ः सुकुमाया लामिछाने, शुकदेव लामिछाने 
जन्ममिति ः वि.स. २०१५ असोज २४
जन्मस्थान ः साविकको माझठाना गाविस १, कास्की हाल पोखरा २८, माझठाना (सौर)
पहिलो प्रकाशित लघुकथा ः अणु साहित्यिक पत्रिका (२०४४) मा प्रकाशित कुप्राहरूको देश लघुकथा
लघुकथा कृति ः अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साई (२०६८),, विस्थापन (२०७५)
कथा ः मरुभूमिका पोथ्राहरू (२०४४), भोकयुद्ध (२०५७)
पुरस्कार÷सम्मान ः बाटुली–खिलध्वज लघुकथा सम्मान (२०७४)
सम्पर्क नम्बर ः ९८५७०२२१०९

 

थप परिचय  ः
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक ।
नेपाली लोकसाहित्यमा विद्यावारिधि ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्य । 
–बहुविधाका लेखक ।

प्रवृत्तिहरू ः 
 — नेपाली राजनीतिका विकृत विकृतिको आलोचना । 
— सामाजिक क्षेत्रका असङ्गतिको चिरफार ।
— प्रशासन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य एवम् धर्मसँग सम्बन्धित अमिल्दा पक्षप्रति व्यङ्ग्य । 
— साहित्यका नाममा हुने गरेका अवाञ्छित क्रियाकलापप्रति असहमति ।  
—ठगीजन्य क्रियाकलापप्रति व्यङ्ग्यात्मक चेतना । 
— नवीन शिल्पको प्रयोग । 
— पात्र चयन, परिवेशको प्रस्तुति एवम् भाषिक प्रयोगमा निरन्तर नवीनता । 
— प्रतीकात्मकता, प्रश्नोत्तर शैलीको प्रयोग, सुत्रात्मकताका साथै हाइकु कविताको समेत प्रयोग ।
—समाजवादी यथार्थवादी युगचेतनामा आधारित लेखन । 

आमाको पिरलो 

हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले आमालाई ढोग्यो । 

“बाबु नितेश ! सन्चै छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिन्छस् त !” छोराको टाउको मुर्सादै आमाले भनिन् ।
नितेशले भन्यो, “सन्चै छु आमा । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ‘को । एक हप्तामै अमेरिका उड्ने हो ।” 
उनले भनिन्, “म यहीँ ठिक छु बाबु ! आउँदाआउँदै कस्तो जाने गरेको ?”
भोलिपल्ट थरिथरिका मान्छेले घर चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन्, मेरो घर, बारी, खेत ।”
उसले भन्यो, “अब हामी सबै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।”
उनले जसरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुम्सुम्याइन् ।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहाँ बस्नुस्  । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला ।”
ऊ भित्र पस्यो । 
उसले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । “टिकट नपाएर पो हो कि ?” उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् । शौचले अत्याउँदा पनि उनी त्यहीँ बसिरहिन् । 
“आमै, एक्लै किन यति बेरसम्म ?” एयरपोर्टको एक कर्मचारीले सोध्यो । 
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हेर्यो र भन्यो, “तपाईँको छोरा नितेश हो ? उ त चार घन्टा अगाडि नै उडिसक्यो ।”
उनी ढलिन् । कर्मचारीले पानी छम्केर पानी छम्केर उठायो र हिँड्यो । 
भोलिपल्ट ऊ आउँदा उनलाई त्यही बेन्चमा देखेर उसले भन्यो, “तपाईँ अझै यहीँ हुनुहुन्छ ? जानुस !”
उनले भनिन्, “छोरो आएर खोज्ला कि बाबु !”   

डाक्टरी 

मन्त्री भएको महिना दिनमै उनी डम्म मोटाए । सारङ्गी भुँडी घ्याम्पे भयो । लुगा नयाँ–नयाँ सिलाए । पुराना पात झरे, नयाँ पात पलाए । पुराना पलङ् फालिए, नयाँ पलङ् ल्याइए । पुराना सोफा फालिए, नयाँ सोफा ल्याइए । पुराना गहनासहना किचिए, नयाँ गहना बनाए । ढोका साना भए, ठुला बनाइए ।
एक दिन उनले सरकारी चिकित्सकलाई आफ्नो निवासमा बोलाएर भने–“डाक्टर सा’ब, कम खान्छु । फेरि पनि मोटाइ बढेको बढ्यै छ । नमोटाउने उपाय के छ कि ?
चिकित्सकले जाँचेर–सोचेर–गमेर–भने–छ हजुर, तर मन्त्रीज्यू हजुरले दाल, भात कम खाएर मात्र के गर्नु ? अरू थोक नै बढीबढी खानु भएछ । तपाईँ जतिजति मोटाउनु भएको छ नि, राष्ट्र त्यतित्यति दुब्लाउँदै गएको छ ।....खोलानाला, पुलपुलेसा, खाद्यान्न, लत्ताकपडा, कलकारखाना, राजमार्ग, राहत सामाग्र्री, तलबभत्ता....पत्रपत्रिकाले त अझ केके हो केके लेखेका छन् ।
मन्त्रीज्यूलाई झनक्क रिस उठ्यो, तर उनले त्यसलाई खेपेर दबाएर राखे । उनी गम्भीर भए । 
उनले भने–डाक्टर सा’ब हुनुहुन्छ, अबदेखि म कम खान्छु । कति राम्रो डाक्टरी हजुरको....?
  चिकित्सकले भने–तब त हजुर स्लिम ।
उनले अन्तमा भने–हुन्छ, म त्यसै गर्छु । तपाईँको फिस पनि भोलि म घरमै पठाइदिन्छु । 
चिकित्सक हवस् भन्दै बाहिर निस्के । 
भोलिपल्ट उनका अगाडि एउटा खाम आयो । खोलेर हेरे, त्यसभित्र उनलाई दुर्गम जिल्लामा सरुवा गरिएको पत्र थियो । 
  


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...