![]() |
| हरि खनाल |
माता÷पिता ः चन्द्रकुमारी खनाल÷घनानाथ खनाल
जन्ममिति ः वि.स.२०२३ साउन २
जन्मस्थान ः निलकण्ठ–९, धादिङ
लघुकथा कृति ः लघुकथा कृति परावर्तन (२०७४)
कथा कृति ः बाबाको बिहे (२०६१), अँध्यारो मानचित्र (२०६९), चर्तित पौराणिक कथाहरू (२०७०), पञ्चतन्त्रका कथाहरू (२०७१), एकादेशमा (२०६८), अकबर र वीरबलका कथाहरू (२०७४)
थप परिचय ः
—हाल निजामती सेवामा कार्यरत उच्च अधिकारी ।
—जनमत धादिङ विशेष अंकका सम्पादक ।
सम्पर्क नम्बर ः ९८४३८८८०६७
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिको विरोध ।
— जेष्ठ नागरिकको उपेक्षाप्रति चिन्ता ।
—वैदेशिक रोजगारका समस्याको प्रस्तुति ,
—समाजमा रहेको विभेदजन्य घटनाको विरोध ।
—धर्मका नाममा हुने अमानवीय क्रियाकलापको विरोध ।
— शिक्षा क्षेत्रमा व्याप्त अराजकताप्रति चिन्ता ।
— स्वास्थ्य क्षेत्रका समस्याको प्रस्तुति ।
— साहित्यिक पुरस्कारका नाममा देखिएका विकृतिको आलोचना ।
— व्यङ्ग्यको समुचित प्रयोग ।
—सम्वादात्मक शैलीको प्रयोग ।
धर्म
“ए किन कुल्चेको देवतालाई ? आँखा छैन तिम्रो ?” साहुजीले मङ्गलमानलाइई बेसरी हपारे । ऊ झसङ्ग भयो र केही पाइला पर सर्यो अनि हातले त्यो ढुङ्गाको मूर्तिलाई स्पर्श गर्दै त्यही हात निधारमा छुवायो ।
“साहुजी ! यो कुन देवता हो ? देवतालाई मन्दिरमा नराखेर किन यस्तो हिँड्ने सडकमा राखेको ?” उसले साहस बटुलेर मुख फोर्यो ।
“मूर्ख ! देवता भन्या देवता हो नि । देवतालाई जहाँ राखे पनि हुन्छ । यति सानो कुरा पनि थाहा छैन । कहिलै धर्म ग¥या भए पो थाहा हुन्छ” साहुजीले मूलप्रश्नको उत्तर नदिइ उसको खिल्ली उडाए । मङ्गलमान चूप रह्यो र केहीबेरपछि साहुजीकै आदेशअनुसार पसलको सामान ओसार्न गयो ।
- सामान ओसारेर चुरोटको सर्को तान्दै पसलभित्र आँखा ओछ्याइरहेको मङ्गलमानले देख्यो
- साहुजीको तराजु सन्तुलित थिएन । उनी तराजुको हलुका भागतिर ढक राखेर सामान जोख्थे ।
- एउटै चिजमा पनि ग्राहक हेरी मूल्य लिइरहेका थिए ।
- अझ अचम्मको कुरा त उनी तौलेर सामान झोलामा राख्ने बेलामा पनि ग्राहकको आँखा छलेर केही झिक्थे ।
यी सब दृश्य हेरिरहेको मङ्गलमानको कानमा त्यही आबाज अविच्छिन्न रूपमा गुञ्जिरहेको थियो–“कहिलै धर्म गरेको भए पो थाहा हुन्छ ।”
ऊ पालैपालो साहुजीको अनुहार र सडकको पूजित ढुङ्गामा दृष्टि दिन थाल्यो ।
“साहुजी । मैले बुझेँ अनायास उसको मुखबाट शब्द फुत्कियो ।
“के बुझिस् ?” आश्चर्य मान्दै साहुजीले सोधे ।
“धर्म” ऊ खिस्स हाँस्यो र टाउको कन्याउन थाल्यो ।
भोकालाई राज्य
गाउँलेहरू मिलेर गाउँमा एउटा सार्वजनिक शौचालय बनाएका थिए । शौचालयको उद्घाटन गर्ने निमन्त्रित थिए नेताजी केवलीराम । नेताजीले शौचालयको ढोकामा राखिएको रिबन काटे र शौचालयभित्र पसेर तुर्क्याए । बाहिर निस्केर नेताजीले लामो भाषण दिए । उनको भाषण सकियो र जनताले ताली बजाए ।
भाषणको समाप्तिपछि नेताजीले जनताका कुरा सुन्ने समय आयो । विभिन्न मानिसहरूले विभिन्न समस्याहरू पोखे ।
“नेताजी ! बजारभाउ मनपरी भयो ।”
”नेताजी ! हामीलाई बिचौलियाले ठग्यो....“
“नेताजी ! यातायात व्यवसायले मनपरी भाडा असुले ।”
“नेताजी ! गाँस धान्न दालचामल केही छैन र जाडो धेरै छ । ओढ्ने कपडा पनि छैन....” लामो गुनासोको हारमा अर्को गुनासो पनि आयो ।
सबैका कुरा सुनेपछि नेताजी बोले, “पर्खनुस््, हामी तपाईँको नाममा राज्य दिँदैछौं ।”
“राज्य भनेको कस्तो प्रकारको खानेकुरा हो र ?” एक मागकर्ताले सोध्यो । उनको कुरा सुनेर भीडभित्र हाँसोको फोहोरा छुट्यो । कोही केवल हाँस्दै थिए त कोही हाँसोसँगै रुँदै थिए ।

No comments:
Post a Comment