![]() |
| शेखर कुमार श्रेष्ठ |
माता, पिता ः लक्ष्मी श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ
जन्ममिति ः वि.स २०३१ माघ २९
जन्मस्थान ः दक्षिणकाली नगरपालिका–३, फर्फिङ, सोखेल (काठमाडौं)
पहिलो प्रकाशित लघुकथा ः
लघुकथा कृति ः सगरपुर (२०६०)
थप परिचय ः
—प्राध्यापन सेवामा कार्यरत ।
—नेपाली साहित्य विषयमा विद्यावारिधि शोध अनुसन्धानरत ।
—विश्वविद्यालय स्तरका विभिन्न पाठ्यपुस्तकका लेखक ।
सम्पर्क नम्बर ः ९८४१३१०७९२
प्रवृत्तिहरू ः
— शैक्षिक क्षेत्रमा देखापरेको विकृतिप्रतिको आलोचना ।
— पारिवारिक जीवनका घटनाको प्रस्तुति ।
—राजनीतिक विकृतिको आलोचना ।
— देशप्रेमको भावको अभिव्यक्ति ।
— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता ।
—जेष्ठ नागरिकले भोग्नुपरेका पीडाको अभिव्यक्ति ।
— समाजका विपन्न नागरिकको जीवनप्रति सहानुभूति
—प्रतिभाको अवमूल्यनप्रति चिन्ता ।
—व्यङ्ग्यको प्रयोग ।
आँसु
छ वर्षीया छोरी वर्षा दौडँदै आएर टिकटक हेरिरहनुभएको आमालाई भन्छे, “ममी ! मैले बनाउन लागेको चित्र हेर्नुहोस् त ?”
“बाबु म तरकारी पकाउने तरिका युट्युबमा हेर्दै छु । एकछिन पछि हेरौँला ।”
“होइन, ममी म हाम्रो परिवारको चित्र कोर्दै छु । दाइ र म बिचमा बस्यौँ । बुबा र आमालाई कहाँनिर राखौँ भनेर ?”
“कति कराइरहन्छेस् । एकछिन नकरा न । कस्तो राम्रो आएको छ । जा बाउलाई सोध ।” आमाले रिसाउँदै भन्नुभयो ।
वर्षा आँसु झार्दै बाबु भएको कोठामा जान्छे । “बुबा, यो चित्रमा हजुर र ममीलाई कहाँनिर राख्दा सुहाउँछ ? अनि हजुरआमालाई पनि राख्नु छ । कहाँ राखौँ ?”
“छोरी, म कोरोनासम्बन्धी समाचार हेर्दै छु । एकछिन पख न ।” बुबा छोरीलाई पुलुक्क हेर्दै भन्नुहुन्छ ।
“बुबा तपाईँ पपजी खेल्दै हुनुहुन्छ । यति भनिदिनुहोस् न म बनाइहाल्छु ।” छोरी पनि रिसाएर बोल्छे ।
“देखिनस्, टिभी खोलेर बसेको ? यत्रा मरिसके । कति किचकिच गरिरहन्छेस् ? एकछिन शान्त हुन सक्दिनस् ?” बाबु पनि झोक्किएर बोले ।
वर्षा दाजु भएको ठाउँमा रुँदै पुग्छे । दाजु हजुरआमासँग छन् । “दाइ, मलाई त स्कुल विदा भएर दिक्क लाग्यो । घरमा कसैले वास्ता गर्दैनन् । साँच्चै, भन्नुस् त दाइ, हाम्रो यो परिवारको चित्रमा बुबा, आमा र हजुरआमालाई कहाँनिर राखूँ ।”
“हेर रोएर आँसु झारेकी ? ल सुन । बाबु र आमालाई बिचमा क्रमशः दायाँबायाँ राख । अनि तिमीहरू छेउ छेउमा बसेको चित्र बनाऊ ।” हजुरआमाले भन्नुभयो ।
“अनि तपाईँ नि आमा ?” वर्षा नम्र भएर सोध्छे ।
“होइन क्यारे बहिनी, बुबालाई फेसबुकमा र ममीलाई टिकटकमा राखेर बनाऊ । अनि आमालाई गोठमा राख । आमाकै नजिक मलाई राखेर बनाऊ ।” दाजु भन्छन् ।
“अनि मचाहिँ कहाँ नि ?” जिज्ञासा राखी वर्षा सोध्छे ।
“तिमीचाहिँ आँगनमा रुँदै रुँदै आमा ! आमा !! भन्दै रोएको चित्र बनाऊ । होइन त आमा ?” ऊ हजुरआमालाई सोध्छ ।
हजुरआमाका आँखाबाट आँसु खस्छ ।
बोकाको खुसी
महाअष्ठमीको दिन कालो बोकोलाई तेह्र वर्षीय केटाले तानिरहेको छ । एउटी केटी मान्छेले डालोमा पूजाको सामान बोकेकी छन् । अधबैँसे मान्छे बोकाको पछाडि छ । बोको खुसी हुँदै गएको बथानमा चरिरहेको खसीले देख्छ । उसले बोकालाई भन्छ, “होइन, खुब खुसी हुँदै छस् । कहाँ हो ?”
“मन्दिर ।”
“किन नि ?”
“दसैँ मनाउन ।”
खसीले घिर्चो लामो बनाउँदै भन्छ, “मन्दिर, मन्दिरमा तँलाई घुमाउन होइन, बलि दिन लगेको हो । तँलाई काटेर मार्छन् । जान्न भनी पछाडि हट्न ।”
“हेर साथी, बाघले खाए पनि मर्ने हो । रोग लागे पनि मर्ने हो । ल भन त, कुनचाहिँ हाम्रा पुर्खा कालगतिले मरे । हामीमध्ये ९५ प्रतिशतको काल खुकुरी नै हो । मेरो हजुरबाले र बाबुले पनि खुकुरी खाए । अब मेरो पालो । रोएर बाँचिन्न क्यारे । त्यसैले देवताको मन्दिरमा काटिए त स्वर्ग पुगिन्छ भनी खुसी भएको । मान्छेले पूजा र भाकल गर्दा त देवताले खुसी भएर वरदान दिन्छन् भने हामीलाई कसो स्वर्ग नदेलान् ।”
“काटिँदैमा स्वर्ग गइन्छ त । हामीलाई त टुक्रा टुक्रा पारेर आगोमा पकाएर खान्छन् ।”
“हामीमात्र आगोमा पाक्ने होइन हामीलाई खाने मान्छलाई त झन् आगोले खरानी बनाउँछ । उनीहरूलाई त डर छैन भने हामीलाई केको डर ?”
“हेर, संसारमा विवेकी भनाउँदो मान्छेले आफ्नो स्वाद र खुसीका लागि हामीलाई रेटेका हुन् ।”
“हो, थाहा छ । हरेक मान्छेले हामीलाई माया गर्नु, बिरामी पर्दा रुँदै उपचार गर्नु, भाकल गरी हामीलाई बचाउनु अनि मिठो खान दिएर पाल्नुको कारण यही ज्यानको मासु त हो नि । नत्र मानिसले हामीलाई पाल्छन् ?”
बोको अलमल गर्दा अधबैँसे मान्छे स्यो भनी कराउँछ ।
“ए खसी सुन । यो संसार वास्तवमा मासु र रगतमा नै छ । यी मान्छेलाई पनि त अरू कसैले रगतकै लागि पालेका त हुन् नि । जुन दिन यी मान्छेको रगतमा तागत हुँदैन नि त्यो दिन यिनीहरू काइते हुन्छन् । यी मान्छेले जतिसुकै बलको तागत देखाओस् न, एकदिन अवश्य ढल्छन् । यी मान्छे मन्दिरमा देवताको सामु होइन अन्यत्र ढल्छन् । म देवताको मन्दिरमा ढल्छु । त्यसैले यो मान्छेभन्दा म खुसी छु ।” मान्छेले लठ्ठी हान्छ । बोको अगाडि बढ्छ ।

No comments:
Post a Comment