Wednesday, 21 August 2024

कल्यान पन्त ः परिचय, प्रवृत्ति र लघुकथा

कल्यान पन्त

 माता÷पिता ः ईश्वरी पन्त, बटुककृष्ण पन्त

जन्ममिति ः वि.स. २०२५ जेठ ५

जन्मस्थान ः राइनास गाउँपालिका–८, डौलियाडाँडा

हाल ः पोखरा, कास्की 

पहिलो प्रकाशित लघुकथा ः गोरखापत्र दैनिकको २०५३ असार १९को शनिवासरिय परिशिष्टाङ्कमा प्रकाशित नेपाली समाज लघुकथा

लघुकथा कृति ः समय सन्दर्भ (२०६९) र प्रसाद  (२०७१)

सम्पर्क नम्बर ः ९८४६०४०५२३

थप परिचय ः

—पृथ्वीनारायण क्याम्पस, पोखरामा बनस्पतिशास्त्रको प्राध्यापक

—विभिन्न पत्रपत्रिको सम्पादन एवम् साहित्यिक संगठन सञ्चालन


प्रवृत्तिहरू ः 

 — सामाजिक जीवनका विसङ्गतिको चित्रण ।

— राजनीतिक विकृतिको आलोचना ।

—प्रशासनिक क्षेत्रमा देखापरेको नातावाद, कृपावाद एवम् भ्रष्ट प्रवृत्तिको विरोध । 

— साहित्यिक क्षेत्रका विकृतिको आलोचना ।  

—आर्थिक क्षेत्रका भ्रष्ट प्रवृत्तिको विरोध । 

— मानवीय सम्वेदनहीनताप्रति चिन्ता । 

— सम्वादात्मक शैलीका साथै व्यङ्गको समुचित प्रयोग । 

 

साहित्यकार

विश्वनाथ चञ्चललाई सफल साहित्यकार बन्ने धोको थियो । उनले धेरै कथा, निबन्ध र उपन्यास लेखे । उनले तीन महिना लगाएर नाटक तयार गरे । समीक्षकलाई उत्साहले देखाए । समीक्षकले भने, “धेरै किताब लेखिसक्नु भयो, अब प्रकाशक बन्नुस ।”

उनी चिसा भए । 

“सफलता प्राप्त गर्न सबैतिर अनुभव बटुल्नै पर्छ । तपाईँ प्रकाशक भइहाल्नु भो । अब लेखक खोज्ने त हो नि ।” समीक्षकले सल्लाह दिए । उनी गम्भीर मुद्रामा देखिए र अन्तमा उनले झट् साहित्यमा रुचि भएका न्यायाधिश बरूण सिँहलाई सम्झे ।

उनी उतै पाण्डुलिपी लिएर पुगे । उनले पाण्डुलिपी सरसर्ती हेरे र लेखकको रूपमा छाप्ने कुरामा स्वीकृति जनाए । न्याय क्षेत्रमा पच्चीस वर्ष बिताएर खासै योगदान पु¥याउन नसकेकोमा उनलाई पनि निराशा भइरहेको थियो । कृतिको भूमिका नाट्य संघको अध्यक्षले खुलेर लेखे । 

कृति छापियो । विमोचनमा थुप्रै साहित्यकारहरू भेला भए । चौतर्फी कृतिले चर्चा पायो । 

साहित्य संघका अध्यक्षले भने, “यस नाटकले न्याय क्षेत्रका सम्पुर्ण साहित्यकारहरूलाई कृति लेख्ने उत्प्रेरणा दिएको छ ।”

समीक्षकले भने, “नाटककारको भाषाशैली र प्रस्तुति गहन र बोधगम्य छ ।”

एक महिनापछि बधाई दिनेहरूको संख्या ह्वातै बढ्यो । बरूणसिँहले धेरै संस्थाबाट पुरस्कार र अभिनन्दन प्राप्त गरे । पत्रपत्रिकाले लेख्न थाले, बहुमुखी प्रतिभाका धनी न्यायाधिश तथा साहित्यकार बरूणसिँह ।


कारिन्दा

“तपाईँको यो निवेदन भोलि सच्चाएर ल्याउनुस् ।”

“जाबो ! एउटा निवेदन दर्ता गर्नको लागि पनि यत्रो तारिख...?” सत्तरी वर्षे कर्मवीर बूढा झनक्क रिसाए । दस बजे अफिसमा पियनबाहेक कोही थिएनन् ।

साढे दस बजे फाँटवाला कारिन्दा कार्यालयमा प्रवेश गरे र साँढे एघार बजे कलम समाते । निवेदन दर्ता गर्नेहरूको भीड लाग्यो । कर्मवीर बूढाले भीडलाई ठेल्दै कारिन्दा समक्ष विनम्र भावमा गुनासो पोखे । 

“ए हजूर ! निवेदन सच्चाइसेँ । म त स बजे नै आएको....”

“त्यसो भए एकैछिन पर्खनुस्....” कारिन्दा राँकिए । टेबुल मुनिबाट पनि काम भएको देखिन्थ्यो । 

दुई बजेपछि भीड पातलियो । 

“ए हजूर ! तीन बज्न लाग्यो ।” बूढाले बिन्ति चढाए । 

“खाजा खाने बेला टर्न लागेको देख्नुभएन ?” कारिन्दा एक्कासी ताते । फेरि पनि निवेदन हतारहतारमा दर्ता भए । त्यसपछि कारिन्दा भट्टीतिर पसे । एक हूल ग्राहकहरू उतैतिर लागे । 

साढे तीन बजेसम्म पनि कारिन्दा भट्टीबाट फर्केनन् । त्यति नै बेला एक युवकले इसारा गरे, “बा ! एउटा गैँडा....”

बूढाले थुक घुटुक्क निले, घडी हेरे र अन्ततः उनी भट्टीतिर लागे । कारिन्दाको हातमा निवेदनसहित खाम थमाइदिए । कारिन्दा अफिस फर्के र लेजर पल्टाएर लेख्न थाले, “कर्मवीर नेपाली ।” 

 




No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...