नाम ः डा. जयनारायण गिरी
जन्म ः १९८७
जन्मस्थान ः सिराहा जिल्लाको बस्ती
आमा, बुबा ः सावित्री गिरी र कुबेरलाल गिरी
प्रकाशित कृति ः कसिंगर (२००८) लघुृकथा कृति
मृत्यु ः २०३९
विशेष पक्ष ः
– एमबिबिएस गरेर लामो समय चिकित्सा पेशामा संलग्न ।
– नेपाल र भारत दुवै ठाउँमा कार्य गरेको ।
–राजनीति र समाजसेवामा संलग्न ।
– नेपाल रेडक्रस सोसाइटी स्थापनाको पहलकर्ता ।
प्रवृत्तिहरू
–रागात्मक अनुभूति र आत्मीयताको संवेदनालाई व्यक्त ।
–मानिसभित्र हुने हार्दिकता वा सौहार्दतालाई सूक्ष्म रूपले व्यक्त गर्ने लघुकथाकार ।
–प्रेम, माया र स्नेहको भावनाको अभिव्यक्ति ।
–मानिसभित्रको आत्मीयता भावको प्रदर्शन ।
–आत्मपरक शैली ।
–नारी पीडाको अभिव्यक्ति ।
लघुकथाहरू
पशुपतिका माग्नेहरू
पशुपतिनाथको मूल ढोका पस्नुअघि केटा र केटीहरूको एउटा हुलले मलाई आएर घेर्यो–अनेपाली सम्झेछन् क्यार ! सबै कराउन लागे–“देसी साब, एक रुपियाँ देऊ न भटमास, चिउरा किनेर खान्थ्यौं ...दुहाई देशी साब....” त्यस हुललाई एकचोटि राम्ररी हेरेँ....राले, सिँगाने, धसिङ्गरे नानीहरूले यस्तो जाडोमा तुना नभएको फाटेको दौरामात्र लाएको....अनुहारमा कलिलो हँसाइ.....! मन एक तमासको भएर आयो । मैले सोधेँ तिनीहरूलाई–“तिमीहरूले केही काम गर्नु नि ? .... किन यसरी भीख मागीमागी हिँडेको....”
“हामीलाई कसले दिन्छ काम साब !....वनको दाउरा बोकेर जान्छौं.....दाउरेले खोसेर हुत्याइदिन्छ .....काम माग्न जान्छौं....यस्ता भिखारीलाई कल्ले काम दिन्छ, भिख मागीमागी हिँडन भन्छ; हामी कसो गरौं ?” मैले अलिक सहानुभूति देखाएकोले हो कि किन हो मसित जाने साथीले मेरो हात तान्दै भित्र लगे....मैले भनेँ–“हाई....बबुराहरूलाई केही दिऊँ न ?”
“छि ः यस्ता गुहेहरूलाई पनि पैसा दिन्छौ ? ....बरू तिनीहरूलाई दिने पैसा त मन्दिरमा चढाउनु; स्वर्ग त पुगिन्छ.... । मलाई भने भित्रभित्रै हाँसो उठ्यो । “...वाह रे पुण्य ! पुष्टपुष्ट बाँहा भएका पुजारीहरूको गोजी भर्नुचाहिँ पुण्य !....” मैले केही भनिनँ....दर्शन गरेर फक्र्यौं । त्यो हुल अझै ....त्यहीँ उभिएको थियो....यसपालि चाहिँ त्यसमध्ये एकजनाले मिहिन स्वरमा भन्यो–“हजुर एकै मोहर भए पनि हुन्छ .....साह्रै भोक लागिरहेछ, धर्म हुने थियो.....”
“कराऊ मोरा हो....सिकारू मोराहरू.....कुनै नयाँ मान्छेलाई त देख्नु नै हुँदैन....यो पशुपतिका माग्नेहरूले धुरुक्क रुआए....” भन्दै साथी कराए । त्यो केटो डरायो । हामी जीउमा आएर बसि सकेका थियौं....मैले आफ्नो गोजीतिर हात बढाएको देखेर हुल दौँडदै मतिर आयो.....। साथीले जीप स्टार्ट गरिहाल्यो.... । गोजीमा हात हाल्न नपाउँदै....जीप घर्र गरेर अगाडि बढ्यो.... । त्यस हुलबाट निकै परसम्म एउटा तिखो आवाज सुनियो “एक पैसासम्म त छरिदिएको भए हामी भटमास किनेर खान्थ्यौं नि ?”
म छक्क परेर साथीको मुसुमुसु हाँसिरहेको अनुहारलाई हेरिरहेँ.... ।
वरदान या अभिशाप !
तेह्र वर्षकी मैनाको बिहेको कुरो छिनियो । पाँचओटी छोरीहरूको बाबु भए पनि दुलहा चौपट्टै धनी छ रे ! दाइजो नलिने....मैनाका बाबुआमालाई चित्त बुुझ्यो....उमेर पनि धेर भएको रैन छ–५० त हो नि....! सौता भने दुच्छर छ रे ! तर पोइलाई रिझाइ भने सौतालाई मिचिहाल्छे.....मैना भाग्यमानी रहिछ भन्ने दृढ धारणा सबैको भयो । तर....कसैले मैनासित सोध्ने खाँचो लिएनन् कि पचास वर्षको धनी लोग्ने पाएर ऊ कति खुशी छे । बिचरी मैनाको मुक विरोधले जागृत रूप लिन पनि त सकेन....किनकी संस्कारपूर्ण मैनाले चलिआएको परम्परा अथवा सनातनको विरोध कसरी गरोस् ?
बिहे भएकै वर्ष तीजमा मैना माइत आई....गहनै गहनाले लादिएर....पोइकी कान्छी चौपट प्यारी थिई रे मैना ! सारा गाउँ नै उर्लिएर आए उसलाई हेर्न । फरियाको छेउमा बाँधिएको साँचोको ‘झुत्तो’ले घर, भण्डार र अरू राखन–धरनमा मैनाको पुरा अधिकार रहेछ भन्ने प्रमाणित गरायो । तर कसैले गहना र साँचोको बोझले लादिएकी मैनालाई यतिसम्म सोधेनन् “साँच्चि तिमी सुखी छौ.....?” सोधेको भए सुनाउँदी हो....भित्र अन्तरमा गाडिएको वेदना जसको राप खप्न नसकेर ऊ बौलाउँथी । तर ....“छोरीको जातलाई यति भए पुगिहाल्यो....” भन्दै ‘सबै’ फर्के....सुुखको परिभाषालाई टुङ्ग्याएर !
पति मरेको निकै दिन भयो–आयु पुगेर नै मरेको भए तापनि ‘पोइ टोक्ने’ उपाधि बोकेर बबुरी मैना माइत फर्की । यसपालि उसलाई हेर्न ‘कोही’ आएनन् । पोइ टोक्ने अलिच्छिनीलाई कसरी हेर्नु....? आउ कराई भन्ने थिई–“यीः हेर ! तिम्रो निर्णयको परिणाम......! तिम्रो सुखको परिभाषा....! तर मैना ? अघि पनि मौन....अहिले पनि मौन र यही मौनता नै उसको ठूलो अभिशाप थियो । तर ‘सबैको’ वरदानलाई अभिशाप कसरी भन्नु !
No comments:
Post a Comment