![]() |
| प्रेमसिंह धामी |
माता,पिता ः मानमती धामी, बहादुरसिंह धामी
जन्ममिति ः वि.स. २००९ भदौ २९
जन्मस्थान ः मल्लिकार्जुन गाविस, भौतडी (दार्चुला)
पहिलो प्रकाशित लघुकथा ः गरिमा, वर्ष ७, अंक ७, पूर्णाङ्क ७९ मा २०४६ असारमा प्रकाशित भएको समाधान लघुकथा
प्रकाशित कृति ः प्रेमसिंह धामीका साहित्यिक रचनाहरू (२०७१)
सम्पादन ः रैवार, गोरा
थप परिचय ः
–नेपाल सरकारका राज्यमन्त्री (२०५१)
–वि.स. २०५४ भाद्र २७ गतेका दिन नुवाकोट जिल्लाको मदनपुर गाविस, केउरेनीमा जीप दुर्घटनामा मृत्यु ।
–मृत्यु पश्चात कृति प्रकाशन ।
प्रवृत्तिहरू ः
–मानवीय अभावजन्य विवशताको चित्रण ।
— व्यक्ति पात्रको विसंगति जीवन यथार्थको प्रस्तुति ।
— निम्नवैतनिक कर्मचारी जीवनका समस्याको चित्रण ।
—सामन्ती शोषण एवम् सरकारी कार्यालयको अव्यवस्थाप्रति व्यङ्ग ।
— सम्वादात्मक शैलीको प्रयोग एवम् व्यङ्ग्यात्मकता ।
समाधान
गाउँमा एउटा नौलो रोगले मान्छे मर्न थालेका छन्, रोग चिन्ने कोही छैन । जिम, हकिम वैद्यखाना तथा हे.अ.हरूले हेरे, उपचार गरे तर मानिसहरू पूर्ववत् मरिनै रहे ।
उक्त बेहोरा राखी जिल्ला सदरमुकाममा खबर पठाइयो, त्यहाँ पनि खलबली मच्चियो । रोगको लक्षण हेरेर अतिसार भन्ने नाम दिइयो । अतिसारको औषधिको लागि केन्द्रबाट माग गरियो ।
केन्द्रमा उक्त औषधिको माग पुगेपछि रोगको लक्षणमा पुनः कडा बहस भयो । दुई तिहाई डाक्टरहरूको रायमा उक्त रोग अतिसार नभएको ठहर गरियो, सोही व्यहोराको खबर गाउँतिर पठाउने निर्णय गरियो ।
यो निर्णय खबर गाउँमा आइपुग्दा उक्त रोगले मान्छे मरेर आधा गाउँ शून्य भइसकेको थियो । बाँचेकाहरू मध्ये केही रोगाउँदै थिए, केही अतिसार होइन भनी प्रचार गर्दै थिए ।
फाटेको खल्ती
दिनभरिको कमाई साँझ हिसाब गरी उसले चाहिने सरसामान किनमेल गरी बाँकी रहेको रकम आफ्नो कमीजको खल्तीमा थन्क्यायो ।
आज पनि यसरी नै बाँकी रकम छुट्यायो, खल्तीमा राख्यो र घरतिर हिँडयो । बाटामा के सोचेर हो कुन्नि, दुवै खल्ती छाम्यो, एउटा खल्ती रित्तो पाएर ऊ उदास भयो, सम्झन खोज्यो, कँही कतै सो पैसा खर्च भएको यकिन गर्न सकेन ।
“शायद इष्टकोटको खल्तीमा राखेँ कि ? यो चम्किलो आशा उसको मगजमा एक्कासी उदायो, ऊ सन्तुष्ट भयो तर इष्टकोटको खल्ती छामेर ढुक्क हुन भने चाहेन, संभावित प्राप्तिको मातबाट उम्किन चाँहदैनथ्यो ।
पछि कुनै दिन उसको जोइले सो इष्टकोट धुन ठीक पारी, खल्तीमा केही छ कि भनेर छामछुम गरी, इष्टकोटको खल्ती फाटेको देखेपछि ढुक्क भएर लुगा धोई ।
ऊ घर आएर इष्टकोटको खल्ती छाम्यो, खल्ती फाटेको थाहा पाएर दिक्क भयो ।

No comments:
Post a Comment