Saturday, 17 August 2024

सनत रेग्मी ः परिचय, प्रवृत्ति र लघुकथा

सनत रेग्मी

 माता, पिता ःलीलादेवी रेग्मी, गोपाल शर्मा रेग्मी
जन्ममिति ः वि.स. २००४ असोज ६
जन्मस्थान ः नेपालगञ्ज, बाँके
पहिलो प्रकाशित लघुकथा ः लघुकथा पत्रिकामा वि.स. २०४४ मा प्रकाशित भोक लघुकथा
कथा कृति ः मातृत्वको चित्कार (२०२४),  चन्द्रज्योत्सना र कालो बादल  (२०२५), दिनान्त (२०३५), बन्द कोठाहरूको शहर (२०५३), 
लछमनियाको गौना (२०५९), समय सत्य (२०५४), सनत रेग्मीका प्रतिनिधि कथा (२०६१), एवम्  स्मृतिदंश र अन्य कथाहरू (२०६६) (यस कृतिमा केही लघुकथा रहेको)
सम्पादन ः महेन्द्र सौरभ, सिर्जना, सेवा, समकालीन साहित्य 
सम्पर्क नम्बर ः ९८५११४२२७६
थप परिचय ः
नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व सदस्यसचिव ।

प्रवृत्तिहरू ः 
 — राजनीतिक विसङ्गतिपतिको आलोचना ।
— साहित्यिक क्षेत्रका विकृतिको आलोचना ।
— समाजमा रहेको सामन्तवादी चिन्तनप्रति आलोचना । 

वारिस
सहरको माझमा एउटा लास छ । लासको वरिपरि मानिसहरू झुम्मिएका छन् । लासको शरीरमा एउटा फाटेको कमिज र ठाउँठाउँमा टालेको पाइन्ट मात्र छ ।

”को हो यो ? कहाँबाट आयो ? यो कसरी मर्यो ?” प्रश्नहरू हातमा कावा खाँदै छन् ।

ऊ नाङ्गो छ । यस अर्थमा कि उसँग जीउमा लगाएको लुगा बाहेक केही छैन । उसको कुनै नाम छैन । ऊ फगत एउटा मान्छेको लास ।

“यो मान्छे त पन्ध्र दिनअघि कामका लागि अनाज कार्यत्रममा काम गरेबापत ज्याला नपाएको उजुरी गरिहेको देखिएको थियो ।”

“यो मान्छे पाँच दिनअघि सुकुम्बासी आयोगको कार्यालयमा जग्गा पाउन निवेदन दिन प्रयत्नरत देखिन्थ्यो ।”
भीडबाट उसको परिचय चारैतिर छरिइरहेको थियो ।

उसको कुनै नाम थियो होला तर अहिले ऊ बेनामी छ । उसको कहीँकतै वतन–ठेगाना थियो होला तर उसको वतन–ठेगानाको पत्तो छैन । जे भए पनि ऊ नेपाली नागरिक थियो किनभने उसले सुकुम्बासी आयोगमा जग्गा पाउन आफ्नो नागरिकताको प्रमाणपत्र देखाउँदै थियो ।

ऊ नेपाली नागरिक थियो, त्यसैले ऊ नागरिक हक अनुसार गाँस, बास र कपासका लागि जोसँग पनि बाझिरहन्थ्यो । तर ऊ बिस्तारै बेनामी हुँदै गएको थियो र ऊ अनायास एउटा लाशमा परिणत भएको छ । एउटा बेवारिसे लास ।
प्र्रहरीहरू उसको शरीरको तलाशी गरिरहेका छन् । कहीँकतै उसको केही सुराक भेटिन्छ कि ?

प्रहरीहरूको मिहिनेत सफल हुन्छ । उनीहरू उसको शरीरबाट केही कागजहरू भेट्टाउँछन् । उनीहरू ती कागज पढेर उसको वारिस भेट्टाएको अनुभव गर्दछन् ।

प्रहरीहरूले उसको शरीरबाट भेट्टाएका कागजहरू, नेपालका राष्ट्रिय दलहरूका सदस्यता रसिद रहेछन् । ऊ सबै राजनीतिक दलको सदस्य रहेछ । सबै राजनीतिक दल उसका वारिस रहेछन् ।


नालायक

मुलुकका विशिष्ट साहित्यकारहरूका बृहत् साहित्यिक गोष्ठीको समापनपछि राजधानी फर्कँदै थिए् । सुदूर पश्चिमको कार्यक्रम स्थलदेखि धेरै टाढा पुग्नुपर्ने थियो । त्यसैले उनीहरू निजी गाडीमा हिँडेका थिए । काठमाडौं पुग्नुपर्ने हतारमा दगुरेको गाडी राजधानीभन्दा धेरै टाढाको एउटा बस्ती नजिक बिग्रियो । गाडी बनाउन बस्तीभन्दा टाढैको ठूलो सहरमा पुग्नुपर्ने थियो । तर रात परिसकेको हुँदा गाडी लिएर जाने कुनै साधन थिएन । उनीहरू यस विषम परिस्थितिमा मद्दत मिल्ने मानिसको खोजीमा थिए । राजमार्ग नजिकैको एउटा पसलेले त्यस बस्तीका ठूला व्यापारी रामप्रसादले उनीहरूको मद्दत गर्नसक्ने कुरा बतायो । उनीहरू रामप्रसादको घरमा पुगे ।

रामप्रसादले उनीहरूको समस्या बुझ्यो । उसले उनीहरूलाई आज रातिको पाहुना हुन आग्रह गर्यो । बिहान उसको ट्र्याक्टर आइपुगेपछि अर्को ठूलो सहरमा पुर्याइदिने आश्वासन दियो । रामप्रसादले आदरपूर्वक उनीहरूको खानेबस्ने व्यवस्था मिलाइदियो । उसको बोली, वचन र व्यवहारले उनीहरू साह्रै प्रभावित भए ।

राति सुत्ने बेलामा उनीहरू सँग भलाकुसारी गन आयो, उनीहरू ऊसँग औपचारिक कुराहरू गर्न थाले–

“रामप्रसादजी, तपाईँको सहयोगप्रति आभारी छौं । तपाईँ साह्रै असल र सम्पन्न हुनुहुँदो रहेछ । छोराछोरी कति छन् ? के काममा लागेका छन् ?”

“हजुरहरूको कृपाले सबै राम्रो छ हजुर । दुइटी छोरी र तीन भाइ छोरा छन् । छोरीहरू दुवैको बिहेबारी गरिदिइसकेँ । आआफ्नो घरमा सानन्द बसेका छन् । जेठो छोरो काठको काम गर्छ । काठको काम साह्रै फाइदा रहेछ हजुर । पाँच वर्ष भयो, उसले काठको व्यापार र मिल खोलेको छ । सबै उसलाई काठको राजा भन्छन् । माहिलो पनि काममा लाग्या छ । ठेकेदारी गर्छ, दिनोदिन उन्नति गरेकै छ । यहाँ दस बिघा खेत छ । राजमार्गको छेउमै पसल छ । यो मैले आफै हेर्छु । सबैतिरबाट सुखसन्तोष नै छ हजुर, कान्छोचाहिँको साह्रै पीर छ मलाई । कसैले नपाउने दुःख पाउने छाँट छ त्यसको । साह्रै नालायक भो हजुर त्यो ।”

“त्यस्तो के गर्छ कान्छाले र यसरी पिरिनुभएको ?”

“के गथ्र्यो र त्यो नालायकले । कामधन्दामा ध्यानै दिँदैन । साहित्यकार भई पल्टेको छ मोरो । साहित्य लेख्छ रे, पत्रिका छाप्छु भन्छ । आफ्नो भएको कामधन्दा छाडेर साहित्य लेखेर के पाउँछ त्यो नालायकले ?”

रामप्रसादको कुरा सुनेर उनीहरू चुप लाग्न बाध्य हुन्छन् र त्यो रात उनीहरूलाई निन्द्रा पर्दैन ।



No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...