Wednesday, 21 August 2024

डम्बर रसिक भारती ः परिचय, प्रवृत्ति र लघुकथा

डम्बर रसिक भारती

माता, पिता ः मैया भारती, पोनप्रसाद भारती
जन्ममिति ः वि.स. २०३४ जेठ ११
जन्मस्थान ः कुञ्चोक–४, सिन्धुपाल्चोक
पहिलो प्रकाशित लघुकथा ः छहारी पत्रिकाको २०५३ चैत्रमा प्रकाशित कुरीति लघुकथा
लघुकथा कृति ः भुइँकुहिरो (२०६०) एवम् तुँवालो (२०६९)
सम्पादन ः जमघट एवम् डिकुरा साहित्यिक पत्रिका
सम्पर्क नम्बर ः ९८०३२१६५६६
थप परिचय ः
—शिक्षण सेवामा आबद्ध
—लघुकथा समाजका कार्यसमिति सदस्य 

प्रवृत्तिहरू ः 
 — राजनीतिक विकृतिको आलोचना ।
—सामाजिक विसङ्गतिको चित्रण । अन्धविश्वास विरोधी चेतना ।
— शैक्षिक विकृति एवम् अराजकताको चित्रण ।
— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता । 
— साहित्यिक, गैरसरकारी संस्था असङ्गत पक्षको चित्रण  । 
—लघु आकारका लघुकथा लेखन । 
— सम्वादको समुचित प्रयोग । 
—रचनामा चित्रको प्रयोग ।

समवेदना
हाम्रा स्नेही, अति मिलनसार, मृदुभाषी मित्र खडकबहादुर खत्रीको गत साता असामयिक निधन भएकोमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति  हार्दिक समवेदना प्रकट गर्दछौं ।”

उनका सहकर्मी साथीहरूले यो समवेदना एक दैनिक पत्रिकामा छपाएका रहेछन् । ती मेरा लागि अपरिचित थिएनन् । त्यसो त खडकबहादुरलाई पनि म राम्रै चिन्दथे । ती साथीहरू जहिल्यै खडकबहादुरको कुरा काटेकै सुन्थेँ–कोहीसँग पनि नमिल्ने, एकलकाँटे, कोहीसँग राम्र्रो नबोल्ने आदिआदि । 

मलाई लाग्यो, जीवित हुँदा सँधै कर्कश लाग्ने, एकलकाँटे भइरहने खड्कबहादुर । आखिर स्नेही, मिलनसार हुन मर्नैपर्ने रहेछ । 


शिक्षा सम्वाद
विद्यालयको वार्षिक परीक्षा पश्चात नतिजाको तयारी भइरहेको छ । सरहरू काममा जुटेका छन् । अन्तिम नतिजाको तयारी भइरहँदा त्यहाँको कुराकानी पनि सुन्न लायककै छ ः

धनबहादुर सर, “सर, यसपालि पनि मेरो छोरो फेल भयो भने तीन वर्ष एउटै कक्षामा हुनेछ । यसमा विचार गर्नुपर्ला है हेडसर ।”

“मेरी छोरी रमिला यसपालि प्रथम भइन् भने उसको पढ्ने जाँगर नै हुने छैन । सकभर मिलाउँ है सर ।” हरि सरको अनुभव । 

रुपा मिस, “मेरी बहिनी सीता प्रथम, द्वितीय, तृतीयमध्ये कुनै स्थानमा ल्याउने प्रयत्न गरौं है ।”

गणेश सरको चाहिँ चासोको विषय अर्के । भन्दै थिए, “सुभद्रा, बद्री र सुमन पालोपालो प्रथम, द्वितीय र तृतीय हुँदै आएका छन् । यसपालि प्रथम हुने पालो सुभद्राको है सर ।”  


 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...