Saturday, 24 August 2024

डा. साधना प्रतीक्षा ः परिचय, लघुकथा र प्रवृत्ति

डा. साधना प्रतीक्षा

 वास्तविक नाम ः डा.साधना पन्त
मातापिता ः शारदा पन्त, भोजराज पन्त
जन्ममिति ः वि.स. २०२९ मंसीर ५
जन्मस्थान ः लिमिठाना, पर्वत
पहिलो प्रकाशित लघुकथा ः त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा उप्राध्यापक
लघुकथा कृति ः सन्दिग्ध समयका पाइलाहरू (२०६८)
कथा कृति ः रगतका दुई रङ (२०५३), अतृप्त आकाश (२०६१)
थप परिचय ः
—त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा उप्राध्यापक ।
—सिर्जनात्मक लेखन एवम् समालोचनाका क्षेत्रमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४३३१५६००

प्रवृत्तिहरू ः 
 — राजनीतिक विसङ्गतिप्रति आलोचना ।
— सामाजिक अन्धविश्वासको विरोध ।
— शैक्षिक क्षेत्रका विकृतको आलोचना ।
—धर्मका आडमा गरिने अनैतिकताको विरोध ।
— , प्रहरीका गलत क्रियाकलापको आलोचना । 
— प्रशासन क्षेत्रमा निम्न तहका कर्मभारीमाथि हुने उत्पीडनको विरोध । 
— वर्णनात्मक शैलीको प्रयोग  । 
— व्यङ्गको समुचित प्रयोग ।
 
मदिरा निषेध
रातको एघार बजे, राजधानीको सडकमा ट्राफिक प्रहरीले प्रत्येक सवारीचालकलाई रोकेर लाइसेन्स मागेर अनि मदिरा परीक्षण यन्त्रद्वारा परीक्षण गरेर पठाउँदै छ । नियम कडा छ, अतः त्यो रुटमा थाहा नपाएका बाहेक कसैले पनि पिएर सवारी चलाउने आँट गर्दैनन् । यस कार्यप्रति सबैको धारणा सकारात्मक नै रहेको छ । यस्तैमा एउटा मोटरसाइकल बेतोडसँग हुत्तिएर आउँछ । ड्युटीवालाले रोक्छ तर उसको सातो उड्छ अनि हत्तपत्त स्याल्युट ठाक्दै भन्छ, “जय नेपाल सा’प ।”

“अँ, ड्युटी राम्रै भाछ होइन ?” उसको काँधमा हात राखेर अलि लरबराउँदै मोटरसाइकल चालक अघि बढ्छ । उसको मुखबाट आएको मदिराको गन्धलाई कुनै यन्त्रले नाप्न सक्दैन । किनकी ऊ त कतै सर्च गरेर आएको प्रहरी अधिकृत हो जसका आँखामा कुनै डान्सबारको ताजा स्वाद अझै बाँकी छ ।  


शुभकामना
“तिमीलाई मेरो तर्फबाट धेरै धेरै ........।” फोनमा बोल्दै गरेको पतिले कुरा सकेर फोन राख्नासाथ पत्नी बोल्छे, “देऊ देऊ बूढा ! मन फुकाएर देऊ ! जति दिए पनि सकिने होइन क्यारे....!” पतिले उसको कुरा नबुझेर अल्मलिँदै प्रश्न गर्छ–

“होइन, के भन्छे यो ? दिने.....सकिने.....के भनेकी ?”

“त्यही तिमीले दिन लागेका थियौ नि मैले पनि हिजोदेखि दिएको दियै छु ! अझ कतिलाई दिन बाँकी छ...दिँदै गरुँला नि भरे भोलिसम्म......।”

“आ ! कति नचाहिने फतफत गरेकी ?” ऊ झर्कन्छ । पत्नी भने हौँसिदै बोल्छे–“दिएको मात्र कहाँ हो र ! लिएका पनि त हौं नि ! कतिले दिसके, कतिले दिन बाँकी छ....।”

उत्ता फोनको घण्टी बज्यो । पति फोन उठाएर बोल्न थाल्छ–“.....ल ल, तपाईँलाई पनि हाम्रो तर्फबाट मुरीमुरी.....।”

“लेऊ लेऊ बूढा ! जति लिए पनि कहाँ राखुँ भन्न नपर्ने ! बोक्दा भारी पनि नहुने ! अनि किन नलिनु ? मैले पनि कति लिइसकेँ....।” भन्दै खित्का छाडेर श्रीमती हाँसेपछि श्रीमालाई खपिनसक्नु हुन्छ अनि त ऊ पनि झोकिन्छ । 

“होइन,  तैँले  आज बिजुलीपानी चढाइस् कि क्या हो ? चाहिने नचाहिने फतफत गरेर....।”

“यो नचाहिने फतफत होइन बूढा । वर्तमानको नियति हो । महङ्गी, अभाव, रोग, भोक, अशान्तिले जिउँदै मरेतुल्य भएर पनि हामी नेपालीहरू यसरी नयाँ वर्षको शुभकामना आदानप्रदान
 गरिरहेका छौं । नयाँ वर्ष यही शुभकामनाको औपचारिकतामै सीमित भएको त छ नि होइन र....?”  
 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...