![]() |
| सरस्वती रिजाल |
माता÷पिता ः नर्मदा तिमिल्सिना÷लीलानाथ तिमिल्सिना
जन्ममिति ः २०१२ माघ १७
जन्मस्थान ः नयाँबजार, काठमाडौं
पहिलो प्रकाशित लघुकथा ः २०४७ सालमा मधुुपर्कमा प्रकाशित नारी दिवसको सार्थकता
लघुकथा कृति ः प्रसङ्ग, भ्रम र पात्रहरू (२०६५)
सम्पर्क नम्बर ः ९८४५०२६४८० (चितवन)
विशेष पक्ष ः
हाल अमेरिका बसोबास ।
लामो समयदेखि चितवनमा रहेर शिक्षण सेवामा कार्य गरेको ।
सिर्जना एवम् समालोचनाका साथै सांगठनिक क्षेत्रमा समेत सक्रिय ।
प्रवृत्तिहरू ः
— नारी अधिकार तथा अस्तित्वको खोजी ।
— नारी पात्रका विकृत जीवन परिवेशको चित्रण एवम् सांस्कृतिक विचलनप्रति चिन्ता ।
— राजनीतिले ल्याएका खराब चिन्तन एवम् प्रवृत्तिको विरोध ।
— साहित्य–कला क्षेत्रका दुुर्गुुणप्रति आलोचनाको स्वर ।
— आख्यानात्मक तीव्रता एवम् रोचकता ।
—बिम्ब, प्रतिकको प्रयोगका साथै संकेतको प्रयोग ।
—रचनाको अन्त्यमा चामत्कारिक अन्त्य ।
नारी प्रतिबिम्ब–१
झर्याम्म....केही चिज फूटेको आवाज आयो । आवाज सँगसँगै अर्को चर्को आवाजले निस्तब्धतालाई झङ्ग पार्यो –“एइऽऽ तेरा....आँखा ! कता हेरेर हिँडेकी थिइस् है ?”
“आमा ! हजुरले छिटो आइज भनेर डाक्नुभयो, म त के भएछ भनेर आत्तिँदै आउँदा गिलास देखिनछु, गिलास पनि बाटैमा रै’छ । आमा गल्ती भयो, माफ पाउँ ।”
“अँ हजुरआमाले राख्नुभा’त हो नि ।” सानो नानीले जवाफ दियो ।
अर्को मधुरो आवाजमा स्पष्टिकरण सुनियो ।
झर्याम्म.... केही चिज फूटेको आवाज पुनः आयो । अहिले पनि उस्तै चर्को आवाजले तर अर्कै भाषामा निस्तब्धतालाई तोड्ने प्रयास गर्यो–
“एइऽऽ दुलही के गर्छेस् हँ यो ? तेरो दिमाग छैन कि क्या हो ? काँ राखेकी गिलास ? हिँड्दा गोडा लागेर गिलास फूट्यो ?”
“हजुरआमा हजुर आफैले चिया खाएर गिलास त्यहीँ राख्नुभा’त हो नि ।” सानो बालकले तत्कालै जवाफ दियो ।
मूल्याङ्कन
आज प्रस्तर मूर्ति खुब नियालेर हे¥यो, घुमाइघुमाइ हे¥यो । धेरैबेर हेरिरह्यो । उसले कतै कमी देखेन यसमा । अहिलेसम्म बनाएको मूतिमध्ये यो साह्रै मन पर्यो । बाँसरी बजाउन लागेको कृष्णको अत्यन्त मोहक मुद्रामा बनेको थियो यो मूर्ति । कृष्णाष्टमीको शुभ साइतमा प्रतिष्ठान गरिने भनिएको यो मूर्ति र निर्माणका लागि चाहिने सम्पूर्ण खर्च एउटा उदारमना व्यक्तिले बेहोर्ने भएको थियो । यसै अनुसार भव्य समारोहको आयोजना हुँदै थियो ।
कृष्णाष्टमीको दिन । उसले आफूलाई त्यस समारोहमा जानबाट थाम्न सकेन । अहिलेसम्म ऊ कहिल्यै यस्तो कार्यक्रममा गएको थिएन र जाने रहर पनि थिएन । किनकि यसपालि कृष्णका आकर्षक मूर्तिले लोभ्यायो । हुन पनि यो मूर्ति दिँदा असाध्यै नमिठो लागेको थियो । त्यस्तो पीडा यसअघि कहिल्यै भएको थिएन उसलाई । आफ्नो प्यारो कृष्ण प्रतिष्ठापित भएको हेर्न उसलाई औधी रहर लाग्यो ।
आखिर ऊ गयो ।
ऊ छक्क पर्यो समारोहको भव्यता देखेर । हजारौं मानिसहरू त्यहाँ जम्मा थिए । कार्यक्रम शुरू हुनै आँटेको थियो । ऊ भीडलाई धकेल्दै बिस्तारै अगाडि गयो । भीडले उसलाई धकेलेर एकैचोटि अगाडि पुर्यायो । अचानक पुजारीका आँखाहरू ऊमाथि परे ।
“एइऽऽ ! कहाँबाट आयो यो अछुत अगाडि ? ए ! खेदन् यसलाई ।” पुजारी बेसरी चिल्लायो ।
पुजारीको आक्रोशपूर्ण आवाजले सबैको ध्यान त्यतैतिर मोडियो । उसले आफूलाई सम्हाल्न पनि पाएको थिएन, एकैचोटि ऊमाथि बज्रजस्ता हातहरू परे । ऊ हुत्तिएर पर पुगेर पछारियो । त्यत्रो भीडले कुल्चेर उसलाई थिलोथिलो बनायो ।
यता ऊ मुर्छित थियो । उता कृष्णको मनोहर मूर्तिको प्रशंसा सबैले मुक्तकण्ठले गरिरहेका थिए ।

No comments:
Post a Comment