Saturday, 24 August 2024

खेमराज पोखरेल ः परिचय, प्रवृत्ति र लघुकथा


 माता, पिता ः दुर्गादेवी पोखरेल, उद्धवप्रसाद पोखरेल
जन्ममिति ः वि.स.२०१३ भदौ ३
जन्मस्थान ः कञ्चनरुप नगरपालिका–१२, बस्तीपुर (सप्तरी)
पहिलो प्रकाशित लघुकथा ः सुलेख मासिकको वर्ष ५, पूर्णाङ्क ४४, २०७३ सालमा एकैसाथ प्रकाशित रत्यौली, ठूली कान्छी, झगडा, कलेजको पिउन लघुकथा 
लघुकथा कृति ः  पछ्यौरीको आइसक्रिम (२०७३), दह्रो लौरो (२०७३), सिमानामा आमा  (२०७५), राम शाहको चौतारो (२०७५), ईश्वरको मृत्यु (२०७६)
कथा कृति ः उनको डल्लो (२०७३), पगाहा (२०७५) 
सम्पादन ः मोलुङ (२०७३) एवम् मदुस (२०७६)
पुरस्कार÷सम्मान ः वि.स. २०७३ सालमा गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगितामा तेस्रो स्थान ।
थप परिचय ः
—लामो समय प्राध्यापन सेवामा कार्यरत हाल अवकाशप्राप्त ।
—हाल अमेरिकामा बसोबास ।
— लघुकथा कुनो नामक फेसबुक पत्रिकाका सञ्चालक ।
सम्पर्क नम्बर ः ९८५११०६२३०

प्रवृत्तिहरू ः 
 — पारिवारिक एवम् सामाजिक जीवनका कथाव्यथाको प्रस्तुति ।
— पुुस्तान्तरणका कारण उत्पन्न समस्याको चित्रण ।
— बाल मनोविज्ञानको प्रस्तुति । 
— लैङ्गिक विभेदको आलोचना ।  
— प्रशासनिक क्षेत्रका भ्रष्ट प्रवृत्तिप्रति व्यङ्ग्य । 
— समाजमा रहेको चाकडीवादी संस्कृतिको विरोध । 
— राजनीतिक क्षेत्रका विसङ्गतिप्रति आलोचना । 
— जातीय, क्षेत्रीय भावनाले समाज बिग्रेकोमा चिन्ता ।
—सम्वाददात्मक शैलीको प्रयोग ।
— प्रथम पुरुष दृष्टिबिन्दुको अत्यधिक प्रयोग ।

दह्रो लौरो
‘हजुर, भोलि माता तीर्थे औंसी, आमाको मुख हेर्न जानु पर्छ, आफ्नो त आमा दैवले चुँडिहाले । म पनि सासू आमाको मुख हेर्न हजुर सँगै जान्छु’ श्रीमतीको यो भनाइले मैले झट्ट सम्झेंः ‘हो त नि, पोहोर पनि आमाले छोरा बुहारी आउँछन् भनेर बाटो हेरेर बस्नु भयो । हामी गएनौ । यसपल्ट त जानै पर्छ ।’

‘हुन्छ, आजकै ‘नाइट’ चढेर गए त पुगी हालिन्छ’ श्रीमतीले सहमति जनाइन् ।

हामी दम्पति सहरमा जागिर खान्छौं । फुर्सद त्यस्तै हो । मन पनि त्यस्तै हो । भन्छन् नि बाबु आमाको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुङ्गामुढामाथि । हामी एउटा बहाना बनाउँछौ । बाबु आमा भेट्न गाउँ जान्नौ । तर यसपल्ट जु¥यो ।
०००००००
‘आमा यो मिठाइ खानू ।’

‘सुगर छ बाबु ।’

‘आमा यो स्याउ खानू ।’

‘दाँत छैन बाबु ।’

‘आमा यो सारी लाउनू ।’

‘यो राम्रो सारी कहिले पो लाउनु र बाबु ।’

‘आमा यो गहना लाउनू ।’

‘चोरले मार्छ बाबु ।’

मैले लगेका सबै कुरा सकिए । आमाले हाँसे जस्तो गर्नु भयो । कृत्रिम थियो ।
०००००००
कुर्सीमा बसेर आमालाई एक टकले हेरिरहेँ । रुखको पहेंलो पात जस्तो । चाउरी परेको अनुहार । हद बोलेर लगलग कामिरहेका गोडा । थकानले भरिएका दृष्टि कमजोर भएका आँखा । चर्को मात्र सुन्ने कान । पूर्ण थाकेको शरीर । मलाई आफैंलाई खुइय आयो । आमाले लौरो खोज्नु भयो र उभिने प्रयास गर्नु भयो । मैले एउटा हात पक्रेँ ।

‘बाबु तिमीलाई भोक लाग्यो होला । टाढादेखि आयौ । म भात पकाउँछु’ आमाको स्वरले म झसङ्ग भएँ ।
०००००००
श्रीमतीले भनिन् ‘हजुर, मुख हेराइ सकियो । आजै ‘नाइट’मा जाऊँ । घरमा बिजोग छ । केटाकेटीले के गरे होलान् ?’
आमाले भन्नुभयो ‘बाबु एउटा दह्रो लौरो बनाई दिएर जाऊ है ।’

ईश्वरको मृत्यु
मन्दिर उकालोमा थियो । मजस्तै मान्छेहरूका झुण्डहरू पनि सकिनसकि सकसले उकालो चढ्दै थिए । कोही भरियामा बोकिएका थिए । बाटोको भन्ज्याङ्मा होटल थियो । म चिया खान सुस्ताएँ । त्यहाँ चिया खाँदै गरेका मान्छेहरू थिए । एउटा मान्छेले मलाई गौर गरेर हेर्यो अनि सोध्यो ः‘तपाईँ पनि माथि भगवानथान जान आउनु भएको ?’

मैले सही थापेँ ः ‘हो, भाकल छ ।’

उसले फेरि विश्वासका साथ भन्यो ः ‘धेरै प्रख्यात छ यो भगवानथान, प्रत्यक्ष छ ।’

मैले ‘हो’ मा टाउको हल्लाएँ ।

त्यहीँ बसेको अर्को मान्छेले हाँस्दै भन्यो ः ‘हाहाहा, त्यहाँ त ढुङ्गा माटो मात्र छ । भगवान त मरिसकेको छ ।’

        के बोल्नु, म चुप लागेँ ।

अर्को पीडितले थप्यो ः ‘हो हो, सही भन्नु भयो । भगवानको मृत्यु भइसकेको छ । नत्र त यत्रो विधि अन्याय, अत्याचार, दूराचार छ । पापी घुमिरहेका छन् मस्तले । धेरै दान दिएकाले उही नै पो धर्मात्मा कहलिन थालेको छ ।’

        अर्को मान्छे बोल्यो ः ‘न जन्मिएको कुरो कसरी मर्छ हौ ? भगवान अहिलेसम्म जन्मिएकै छैन । जन्मिने पनि छैन । काल्पनिक कुरो गर्नु आत्मरती मात्र हो । भुलभुलैया हो ।’

म के भनूँ भनूँ भएको थिएँ ।

अर्को मान्छे बोल्यो ः ‘हो मलाई पनि लाग्छ कि भगवान जन्मेको छैन । तर भगवान छ छैन, मर्यो मरेन भनेर त फुर्सदमा सोच्ने कुरा हो । अघाएको बेला फुर्ने कुरा हो । हातमुख जोर्नका लागि यमानको मोटो मान्छे बोकेर भगवानथानतिर उकालो चढदै गरेको त्यो फुच्चे भरियालाई हेर्नु त, उसको भगवान कहाँ मरेको छ ? उसले तपाईँलाई भन्ने छ ः ‘ए विद्वान महाशयहरू, ईश्वर जन्मेको छैन भने जन्माउनुपर्छ, मरेको छ भने पनि ब्युँत्याउनु पर्छ ।’


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...