![]() |
| गणेश नेपाली |
माता, पिता ः उत्तरकुमारी नेपाली, धनबहादुर नेपाली
जन्ममिति ः वि.स. २०३० असार १९
जन्मस्थान ः बगनासकाली १, बगनास, पाल्पा
पहिलो प्रकाशित लघुकथा ः प्रोत्साहन दुई महिने पत्रिकाको वर्ष १ अंक ३, पूर्णाङ्क ३, २०५३ भदौ÷असोज अंकमा प्रकाशित व्यवहार लघुकथा
लघुकथा कृति ः अछुत (२०७६)
सम्पादन ः काँचुली साहित्यिक पत्रिकाको २९ अंकसम्म सम्पादक
सम्र्पक नम्बर ः ९८४७०२८२१२
थप परिचय ः
–स्वाथ्यकर्मी ।
–पाल्पामा साहित्यिक—सांस्कृतिक गतिविधिमा सक्रिय ।
प्रवृत्तिहरू ः
— जातीय उत्पीडनविरोधी चेतनाको प्रस्तुति ।
— समाजमा रहेको लैङ्गिक उत्पीडन, आर्थिक शोषणको विरोध ।
— आधुनिक सभ्यताका नाममा देखिएका विकृतिको चित्रण ।
— द्वन्द्वकालीन समयका मानवअधिकार विरोधी घटनाको प्रस्तुति ।
— वर्णनात्मक शैलीको प्रयोग ।
भाषण र व्यवहार
दलित जातिय मुक्ति समाजको भव्य अधिवेशनमा देशको कुनाकाप्चामा पशु सरह जीवन बिताइरहेका धेरै दलितहरूको उपस्थिति थियो । दलित नेताहरूले पनि आआफ्नै ठाउँबाट भाग लिएका थिए । निमन्त्रणा गरिएका मन्त्रीहरू विभिन्न कारण देखाई अधिवेशनमा देखिएनन् । दलित नेताहरूको आआफ्नो ठाउँबाट थुप्रै दलितहरूलाई जमघट बनाएकोले पनि कार्यक्रम भव्य थियो ।
कार्यक्रम शुरू भएपछि एकजना मन्त्री लाजकाज ढिलै भएपनि झुल्किए । मन्त्रीहरूको आगमनले दलितहरूको मुहारमा उज्यालो आशा र खुसीको संकेत देखिन्थ्यो । मन्त्रीले पनि आफ्ना भाषणमा राम्राराम्रा कुराहरू गरिरहेका थिए । “यो छुवाछुत जस्तो अमानवीय व्यवहार देशबाटै हटाउनु पर्छ । यो ठूलाबडाले सानालाई शोषण गर्ने रीति मात्र हो । यसको शुरुवात तपाईँ हामीबाटै हुनुपर्छ । काटे रगत सबैको रातै आउँछ । त्यसैले सबैमा समान व्यहार हुनुपर्दछ, इत्यादि ।” दलितहरूको तालीले मन्च नै गुञ्जायमान भयो । सबैले आआफ्ना तर्क राखे ।
कार्यक्रम समापनपछि जलपानका लागि मन्त्रीहरूलाई आह्वान गरियो तर विभिन्न कारण बनाएर मन्त्री मन्चबाटै निस्किनु भयो । मन्चमा कानेखुसी भयो । झम्के साँझ भइसकेकाले मन्त्रीज्यूको बस्ने व्यवस्था होटलमा थियो । मन्त्री आफ्ना जम्बो समूहसँग होटलमा ठर्रासँगै गफिँदै थिए ।
“आज साह्रै भोक लागेको छ । दलितहरूको कार्यक्रम र दलितहरूको बिचमा नास्ता खाने कुरा पनि भएन । अछुत भनेका त अछुत नै हुन नि । म मन्त्रीजस्तो मान्छे, त्यो पनि ठूलो जातको, ती दलितहरूको बिचमा बसेर खान्छु ?”
मन्त्रीको बस्ने व्यवस्था मिलाइरहेका दलित कार्यकर्ताको बाहिर कानमा यी सबै कुरा परिहाल्यो । ती दलित नेतालाई मन्त्रीज्यूको भाषण र व्यवहार बुझ्न त्यति गाह्रो परेन ।
भूमिका
गोपाल गाउँमै बसेर केही गर्नुपर्दछ भन्ने सोच भएको मान्छे थियो । उसले अध्ययन पनि राम्रै गर्याे । सरकारी जागीर खाने योग्यता भएपनि कहिल्यै चासो दिएन । आफ्नो स्वभाव र अध्ययन अनुसार गाउँमै औषधी पसल खोलेर गाउँमै सेवा गर्ने सोच अनुसार पसल पनि खोल्यो । घर–घरमै पुगेर सेवा पुर्याउने गोपालले छोटो समयमा नै धेरै गाउँलेको मन जित्न सफल भयो । सबैले उसलाई विश्वास पनि गर्न थाले ।
एक दिन उपचारमै व्यस्त भएको बेला सेनाको गस्ती उसको पसल अगाडिबाटै आयो । खाइलाग्दो एउटा भुसतिघ्रे सेनाले गोपालको काँधमा राइफल तेर्साउँदै भन्यो, “गोपाल भन्ने तैँ होस्, यो तेरै मेडिकल हो ?”
“हो, मेरै मेडिकल हो । गोपाल पनि म नै हुँ ।” गोपालले नम्र भएर आश्चर्य मान्दै भन्यो । “माओवादीलाई उपचार गर्ने र भात पकाउने तँ ? तँलाई खाल्डो खनेर जिउँदै पुरिदिउँ ?” सेनाले थर्कायो ।
गोपाल पनि नबिराउनु, नडराउनु भन्ने सोचेर ढुक्क भएर बोल्यो, “तपाईँले भनेझैं मैले कुनै त्यस्तो काम गर्या छैन । तपाईँहरूलाई सुराक दिने मान्छे अगाडि ल्याउनुहोस् । यदि सत्य प्रमाणित भए म तपाईँहरूको अगाडि नै गोली खान तयार छु ।”
“अझै बोल्छस् । केही नभइकन तेरो गाउँको मान्छे ब्यारेकमा भन्न जान्छ ? होसियार भएर काम गर । हामी फेरि आउँछौं ।” भन्दै सेनाहरू बाटो लाग्छन् । त्यही दिनदेखि गोपाल सेना र पुलिसको निगरानीमा रह्यो । ऊ दुःख पीडाहरू भोग्दै सेवामा जुटिरह्यो ।
फेरि महिना दिन नबित्दै साँझमा राता रुमाल टाउकामा बेरेका हातहतियारका साथमा गोपालको घरमा आउँछन् । “पुलिसमा हाम्रो सुराकी गर्ने ? हाम्रो महान विचार र सफलताको यात्रालाई अवरोध गर्न खोज्ने ?” भन्दै घिच्याउँदै झाडीतिर लगे । धम्क्याउने, यातना दिने काम गरे । गोपालले पनि आफ्नो बारेमा सेना–पुलिसले दिएको पीडा र गाउँका आफ्ना शत्रुहरूका बारेमा बतायो । सायद उनीहरू पनि बुझ्ने नै थिए होलान्, फेरि आउने शर्तमा एक पटकलाई भनेर छोडिदिए ।
गोपाललाई दोहरो पीडा र निगरानीमा दिनहरू बिताउन साह्रै गाह्रो भयो । तर प्रगति र सफलता देखेर सहन नसकी व्यारेक र माओवादीसम्म पुगेर दोहरो भूमिका निभाउने गाउँकै शत्रुलाई चिन्न उसलाई त्यति गाह्रो भएन ।

No comments:
Post a Comment