![]() |
| धनमान श्रेष्ठ |
जन्ममिति ः वि.स. १९९५ फागुन ५ गते
जन्मस्थान ः तचपाल टोल, भक्तपुर
पहिलो प्रकाशित लघुकथा ः नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य अधिकृत उपसचिव
कथा कृति ः टाढाको सम्झना (२०३२), यौटा यस्तो कथा (२०६४) एवम् सम्बन्ध विच्छेद (२०७१), (यौटा यस्तो कथा एवम् सम्बन्ध विच्छेदमा लघुकथा समावेश)
थप परिचय ः
—सिर्जना अभियान, भक्तपुरका अध्यक्ष ।
—धनमान कथा एवम् लघुकथा पुरस्कार स्थापना ।
—नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य अधिकृत (उपसचिव) पदबाट अवकाशप्राप्त ।
सम्पर्क नम्बर ः ९८४३०३३५२७
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिप्रति आलोचनात्मक चेत ।
— सामाजिक विसंगतिको आलोचना ।
— साहित्यकारका समस्याको प्रस्तुति ।
—कर्मचारीवर्गका समस्याको चित्रण ।
— वैयक्तिक जीवनका निराशा, कुन्ठा, हताशाको अभिव्यक्ति ।
— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता ।
— अन्तर्मुखी प्रवृत्तिका पात्रको सिर्जना ।
—सम्वादात्मक शैली ।
यो हार कस्को ?
संविधानसभाको चुनावताका जनताले अघाउन्जेल भाषण सुने । सबैको एउटै प्रण थियो–दुई वर्षभित्र संविधान तयार गरेर जनता सामु पेश गर्ने ।
एकजना नेताले त बसैलाई उछिनेर बोले–दुई वर्षसम्म किन कुर्ने ? छ महिना अघि डेढ वर्षभित्र संविधान तयार पारेर राष्ट्रलाई सुम्पिने ।
गुलियो भाषण, नौलो कुरा र नयाँनयाँ योजना परियोजनाहरूको परिकल्पनाहरू सुनेर जनता उत्साहित भए । निर्वाचनमा बडो उत्साही भएर सहभागी भए । बहिष्कारीहरूको डर, धम्की र आतंकको बावजुद पनि पच्चिसौं लाख जनता सडकमा ओर्लेर चुनाव सफल पारे । आफ्नो मनले खाएका नेता कार्यकर्ता र पार्टीलाई मतदान गरे । शान्तिपूर्ण निर्विघ्न ढङ्गले चुनाव सकियो ।
मतदानको परिणाम जान्न उत्सुक जनता भोलिपल्टदेखि मतगणना स्थलमा जम्मा भए । विजय पराजयको उद्घोषण सुन्न सबै उत्सुक थिए । यतिकैमा अमुक पार्टीको एकजना नेता भारी मतले विजय भएको घोषणा गरियो । जनतालाई उनलाई काँधमा बोके । गलाभरि माला लगाईदिए । अनुहार राताम्य हुनेगरी अबिर दलिदिए । आकाशै थर्किने गरी नारा लगाए–यो जित कसको ? जनताको ।
एकछिन पछि अर्को नतिजाको घोषणा भयो–फलाना पार्टीको फलाना झिनो मतले विजय भए ।
उनलाई पनि बोके, माला लगाइदिए । अबिर दलिदिए । अगाडि राखेर नारा लगाए– यो जित कसको ? जनताको ।
वास्तवमा जनता साह्रै उत्साहित सीमारहित थिए । जताजतै जनताले जितेका थिए । त्यसैले सबै ठाउँमा एउटा मात्र बुलन्द नारा घन्कियो– यो जित कसको ? जनताको ।
दिन बिते । हप्ता नाघे । महिना सके । वर्ष पनि गुज्रे । तर जनताले उनीहरूको जितको आभास पाउन सकेनन् । लोडसेडिङ्ग उतिकै छ । नेपाली खप्पर माथिको ऋण बढ्दै छ । विदेश जाने युवायुवतीहरूको लर्को छोटिएको छैन । अरु त अरु समयभित्रै लेखिनुपर्ने संविधान पनि लेखिएन । निर्वाचनताकाको जनताको हौसला सेलायो । दिनहुँ वितृष्णा बढ्दै गयो । जनताले आफू ठगिएको महसुस गरे । विश्वासको संकट मौलाउँदै गयो । जनताले आफू हारेको अनुभव गरे ।
त्यो दिन स्वतःस्फूर्त जनता सडकमा ओर्ले । ठाउँ यही, जनता उही । तर नारा फरक । उहिलेको नारा थियो । यो जित कसको ? जनताको ।
अहिलेको नारा छ– यो हार कसको ? जनताको ।
उहिले नारा लगाउनेहरू उत्साहित थिए । अहिले नारा लगाउनेहरू आक्रोशित छन् ।
फुटपाथको डिलमा उभिएर हेरिरहने जनता कुरा नबुझेर अकमकिए । भन्न खोजिएको के हो । सुनाउन चाहिएको के हो ? बुझ्न सकेनन् । ध्यान दिएर सुन्छन् । त्यही नारा दोहरियो, तेहरियो । यो हार कसको ? जनताको ।
सडकमा आउजाउ गर्ने जनता सल्लाह साउती गर्दैछन्–उहिले त्यसरी जितेका जनता कसरी हारे ? एकजनाले चित्त दुःखेको भाव प्रकट गर्छन्–अहिले हारे पनि भोलि जितिहाल्छ । जनता कहिले हारेको इतिहास छैन ।
घडीको सुई उल्टो घुम्छ भनेको यही हो, अर्कोले आफूलाई लागेको कुरा भने ।
उनको भनाई सुनेर सबैले आपसमा मुखामुख गरे । सबैले एकैपल्ट घन्टाघर हेरे । घन्टाघरको सुई उल्टो घुमेजस्तो लाग्छ सबैलाई । तर एकैनासले त्यही नारा घन्किरहेछ– यो हार कसको ? जनताको ।
ठूलो मान्छे
आज बिहानैदेखि अस्पतालको चहलपहल अर्कै थियो । सबै जना व्यस्त थिए–तलमाथि गर्दै र भित्र–बाहिर गर्दैमा । सबै जना व्यस्त थिए–तलमाथि गर्दै र भित्र–बाहिर गर्दैमा । म सुतेको कोठामा पनि डाक्टर र नर्सहरू साथै कहिलै नदेखिएका अनुहारहरू, अपरिचितहरू आइरहे, गइरहे ।
त्यस दिन दूधको स्वाद पनि नौलो थियो । दूध पनि बाक्लो । तरैतरले ढाकेजस्तो बिस्कुट पनि आकारमा ठुल्ठुला र सङ्ख्यामा हिजोअस्तिको भन्दा दोब्बर थियो । दूध पिउन भ्याएको थिएनँ । बिस्कुट चपाएर निल्नै पाएको थिइनँ । ताता पानीले भरिएको बाल्टिन लिएर अगाडि उभिएकी नर्सले भनिन्–‘बिरामी मान्छे फोहरी भएर बस्नु हुँदैन, बरोबर नुहाउनुपर्छ ।’
मलाई अचम्म लाग्यो । कानले पनि केके सुन्नुपर्दाे रहेछ भनेजस्तो लाग्यो । सूर्य पूर्वबाट उदाएको हो कि पश्चिमबाट–निर्क्यौल गर्न पनि साह्रो भइरहेको थियो । त्यसैले कोठाको चारैतिर हेरेँ । सबै आ–आफ्ना ठाउँमा पहिलेजस्तै थिए । मैले आफ्नो बेड नियालेँ । बेड जहाँको त्यहीँ थियो । अगाडि हेरेँ । अगाडिको बेडमा त्यही बिरामी हिजोअस्तिको निस्तेज अनुहार लिएर अडेस लगएर बसिरहेको थियो । बिहानको न्यानो घाम पूर्वको झ्यालबाटै उदाएको थियो । दृष्टिदोष पटक्कै होइन ।
बिहानदेखि अस्पतालमा चहलपहल निकै बढिसकेको थियो । सुकिलो लुगा लगाएकाहरू, चहकिला अनुहार बोकेकाहरू, फरासिला धेरै स्त्री पुरुषहरू ओहोरदोहर गरिहे । सबै उत्सुक र चनाखा थिए ।
मेरो मनमा अनेक कुरा खेल्न थाले–‘यी ठूला मान्छेहरू सँधै किन अस्पताल आउँदैनन् । सँधै नभएपनि बरोबर आउने जाने गरेको भए वा ठूलो मान्छे अस्पतालको दायाँबायाँ बसेर अस्पतालको क्रियाकलाप नियालिरहेको आभास सबैका मन–मस्तिष्कमा पार्न सके मैले दूधको स्वाद, बिस्कुटको आकारप्रकार र सङ्ख्यामा फरक पाउनुपर्ने थिएन । सबैले आआफ्ना दायित्वबोध गरे सूर्य कुन दिशाबाट उदायो भनेर भ्रममा पर्नुपर्ने थिएन ।’
मेरो मनमा थरिथरिका कुरा खेल्दै थिए । त्यसैबेला ठूला मान्छे गालाभरि माला लाएर मेरै कोठामा पसे ।

No comments:
Post a Comment