Saturday, 17 August 2024

हरिहर पौडेल ः परिचय, प्रवृत्ति र लघुकथा

 हरिहर पौडेल

माता,पिता ः ईमाकुमारी पौडेल, मोतीप्रसाद पौडेल
जन्ममिति ः २०२५ श्रावण २२
जन्मस्थान ः गुलाफबाग, चितवन
पहिलो प्रकाशित लघुकथा ः समष्टि पत्रिकामा वि.स. २०४४ भाद्रमा प्रकाशित कारण लघुकथा
लघुकथा कृति ः कालो उज्यालो (२०६२)
कथा कृति ः इतिवृत् (२०५१), अनुभ्रम प्रतिभ्रम (२०६६)
सम्पर्क नम्बर ः ९८४५०२६४८०
थप परिचय ः
विरेन्द्र बहुमुखी क्याम्पस, चितवनमा भौतिकशास्त्रका प्राध्यापक ।
विज्ञान र प्रविधिसँग सम्बन्धित कृतिका कृतिकार ।
चितवन वाङ्मय प्रतिष्ठानका पूर्व अध्यक्ष ।

प्रवृत्तिहरू ः 
 — राजनीतिक विकृति–विसङ्गतिप्रतिको आलोचनात्मक चेत ।
— मानिसको विसङ्गतिपूर्ण जीवन भोगाइ, विद्रुपता र व्यङ्ग्यात्मकता ।
— व्यक्ति, समाज एवम् राज्यका जिम्मेवार निकायका व्यक्तिमा रहेका कुण्ठा, हताशाका साथै विसङ्गतिमो प्रस्तुति । 
— विषम अवस्था बोकेर बाँचेको मानिसको जीवनको लघुताभाष, हीनता, दैन्यता, अभाव र आवश्यकताको बिचको  सङ्घर्षमा पिल्सिएको गतिहीन जीवनका कथाको प्रस्तुति ।  
— मिथकको प्रयोग, प्रयोगवादी शैली । 
— पात्रको विनिर्माण । 
— ससाना वाक्य र सम्वाृदात्मक शैलीको प्रयोग । 
—उत्तरआधुनिक चेतनाको प्रस्तुति ।


अर्को विश्वामित्र
कुनै समय विश्वामित्रको तपबाट इन्द्रको सिंहासन हल्लिन्थ्यो । तपको प्रभाव बलियो थियो । तप भङ्ग गर्न सुन्दरी मेनका, रम्भा अनेक हाउभाउ र कटाक्षका साथ विश्वामित्रका अगाडि प्रस्तुत हुनुपथ्र्यो । 
समय फेरिएको छ । अर्को विश्वामित्रलाई तपस्या गर्नुपरेको छ । ऊ सोच्दैछ–“तपमा अब पहिलेको जस्तो शक्ति छैन ।” तैपनि ऊ वर्षौं तपस्यामा बस्यो । 

समय बित्दै गयो । कुनै अर्को इन्द्रले अर्की मेनका, रम्भा पठाएनन् । मन विचलित हुँदै गयो । विश्वामित्रको धैर्य भत्कियो । ऊ तपस्या अधुरै छाडेर सहरतर्फ लम्केको देखियो । 

हिजोआज विश्वामित्रहरूबाट बच्न मेनका र रम्भाहरू भागिरहेका भेटिन्छन् । 


चस्मा
एक हुल मानिसहरू देखिए । ती सबैले पँहेलो चस्मा लगाएका थिए । तिनीहरू भन्दै थिए–“डाँडाकाँडा, गाउँसहर सबै रोगी भएछन् । सबै अत्यन्तै मलिनो भएछ, ओइलाएछ । अब हामीले नै केही गर्नुपर्छ । 

त्यहीँ अर्को हुल मानिसहरू देखिए । ती सबैले कालो चस्मा लगाएका थिए । तिनीहरू भन्दै थिए–“डाँडाकाँडा गाउँ–सहर सबै अन्धकारमा डुबेका छन् । यी सबैमा उज्यालो छर्नुपर्छ । त्यो अब अरूले होइन्, हामीले नै केही गर्नुपर्छ ।”

“अझ अर्को हुल मानिसहरू देखिए । ती सबैले रातो चस्मा लगाएका थिए । तिनीहरू भन्दै थिए–“डाँडाकाँडा, गाउँ–सहर सबै घाइते छन् । जताजतै रगत बगिरहेछ । अब यसलाई रोक्नुपर्छ । त्यो अब अरूले होइन, हामीले नै गर्नुपर्छ ।”

झन अर्को हुल मानिसहरू त्यहाँ देखिए । ती सबैले हरियो चस्मा लगाएका थिए र भन्दै थिए–“आहा ! हरिया डाँडाकाँडा, शान्त बहिरहेका नदी, गाउँसहर जताततै हरियाली, कति राम्रो । यो सबै अरूले होइन, हामीले गर्दा नै भएको हो ।” 

ती सबै हुलहरू गाडी र मानिसका लावा–लस्करसँगै अगाडिपछाडि सानाठूला पत्रकार र देशीविदेशी महत्वपूर्ण मानिसहरू लिएर आएका थिए । 

त्यसपछि त्यहाँ झन धेरै मानिसहरू देखिए । तिनीहरू सबै नाङ्गा आँखाले हेरिरहेका थिए । तिनीहरू भन्दै थिए–“उनीहरूले यहाँ जेजस्तो देखे, यहाँ सबै त्यस्तो छैन । अलिअलि सबैथोक छ .....।” उनीहरूले पनि नाङ्गा आँखाले पटकपटक मात्र हेरिदिए । 

यसो भन्ने मध्ये कतिका खुट्टामा चप्पल समेत थिएन । सरिरमा मैला, पुराना कपडा थिए । हातमा ठेला उठेका थिए....। तर तिनीहरूको आवाज सुन्न त्यहाँ कोही अरू देखिएनन् । 
 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...