![]() |
| इन्द्र कुमार विकल्प |
वास्तविक नाम ः इन्द्रकुमार जोशी
मातापिता ः नन्दकुमारी जोशी, गोपीमान जोशी
जन्ममिति ः वि.स. २०१८ कार्तिक २
जन्मस्थान ः मल्लाज गाविस ३, पर्वत
पहिलो प्रकाशित लघुकथा ः
लघुकथा कृति ः सर्वदलीय घर (२०६०), दो.स. २०६८
कथा कृति ः बैंसका रहरहरू (२०६३), निस्तो सम्झौता (२०६४)
सम्पादन ः प्रतिभा सामयिक संकलन (२०३८), कालीको सुसेली (त्रैमासिक, २०५४ देखि), धवलागिरी स्पन्दन (२०५९, धवलागिरी अञ्चलको पहिलो गजल सङ्ग्रह)
थप परिचय ः
धवलागिरी साहित्य संगमको संस्थापक अध्यक्ष, हाल संरक्षक ।
सम्पर्क नम्बर ः ९८४७६२०४१७
प्रवृत्तिहरू ः
— जेष्ठ नागरिकका पीडाको अभिव्यक्ति ।
— नेपाली समाजमा रहेको वर्गीय, जातिय एवम् लैङ्गिक शोषणको चित्रण र शोषितजनप्रतिको सम्वेदना ।
—सामाजिक विसङ्गतिको प्रस्तुति ।
—राजनीतिक अवसरवादिता, पदलोभी चरित्र एवम् जनतामा रहेको शक्तिपूजक प्रवृत्तिप्रति व्यङ्ग ।
— व्यक्ति जीवनका निराशा, कुण्ठा एवम् विसङ्गतिको चित्रण ।
—मनिस आप्नै कर्मले महान र हीन हुने सन्देशको अभिव्यक्ति ।
— सरल शब्दको प्रयोगका साथै वर्णनात्मक शैली ।
तोकिएको चन्दा
“हजुर मालिक ! म दुखियालाई सहयोग गर्नुहोस् मेरो यस संसारमा आफ्नो भन्नु कोही छैन । केही छैन । हजुरहरूकै दयामायाबाट बाँचेकी छु । मर्न पनि सकिएन, काल पनि आएन ।” एउटी असहाय बूढी आइमाईले विनित भावमा एउटा साहुजीको पसल अगाडि गएर आफ्नो दुःख पोखी ।
साहुजी केही बेर चुपचाप लाग्यो ।
बूढी आइमाईले उपयुक्त वाक्य पुनः दोहोर्याई । साहुजीले रिसले आगो भएर भन्यो, “कसलाई के चाहिया छ भनेर कमाई राख्या छैन.....काम गरेर खानुपर्छ काम.....।” चुपचाप बूढी आइमाई अर्कोतिर लागी ।
केही बेरपछि एकजना हट्टाकट्टा नवयुवक एक जना षोडसी युवती आएर भने–“साहुजी हामी तपाईँलाई एउटा सानो दुःख दिउँ भनेर आएका, फोन गरेको भए पनि हुने थियो, तर दर्शन पनि हुने भनेर हामी नै आयौं । तपाईँलाई थाहै छ होला, हाम्रो पार्टीको बारेमा, यस पटक पार्टी चलाउन अलि गाह्रो परेकोले तपाईँको नाममा २,५०० रुपियाँ तोकेका छौं, दिनुपर्यो, यी रसिद लिनुहोस् । ”
साहुजी एकछिन त रनभुल्लमा परे तर भविष्यको खतरा र आफ्नो....सम्झेर चुपचाप २,५०० रुपियाँ झिकेर दिए । उनीहरूले “धन्यवाद....” भनेर गएको ट्वाल्ल परेर हेरिरहे ।
दिउँसोको सपना
आज ऊ ज्यादै खुसीले उफ्रिरहेको छ । उसँग अत्यधिक सुविधासम्पन्न घर छ । नोकर–चाकरहरू छन् । राम्री स्वास्नी छ । समय–समयमा मिष्ठान्न भोजन गर्न पाएको छ ।
घरको एक छेउमा गाउँ सम्झने गरी गोठ बनाएर जर्सी गाई पालेको छ ।
अब कम्पाउण्डको वरिपरि रङ्गी–बिरङ्गी फूलहरूको कमी भएको छ । त्यो भोलिदेखि नै लगाउने छ । उसका छोरा–छोरी हुने छन् । राम्रो बोर्डिङमा पढाएर डाक्टर, इन्जिनियर बनाउने छ ।
यो त भयो उसको सांसद हुँदाखेरि मात्र । अब उसको मन्त्री हुने पालो आएको छ । आफ्नो समूह छोडेर मौकामा चौका दाउ लगाएर मन्त्री हुने पालो आएको । मन्त्री भएपछि त आहा ! देश, विदेश भत्ताका विभिन्न सुविधा.....उसको मन खुसीले बुरुक्कबुरुक्क उफ्रन्छ । कस्तो मज्जा...।
“ए साले ! ठेला एउटा ठाउँमा नराखेर किन बिचैमा राखेर मर्छस् ?”
“दिउँसै मन्त्री भएको सपना देखिस् कि क्या हो ! भाते कुकुर गधा....।”
एउटा चर्को आवाजले झल्यास्स् बिउँझिन्छ । बिचरा काले आफूलाई हेर्छ, टन्टलापुर गर्मीले सबै शरीर पसिनै पसिना भएको छ । छेउमा फोहरको डङ्गुर छ । उही थोत्रो ठेलागाडा छ । उही झुत्रे लुगा, सिकुटे शरीर, “थुइ्य....जिन्दगी यो त सपना पो रहेछ.....!” भन्दै आफैले आफ्नै भाग्यलाई धिक्कार्दै आफ्नो जीवनको साहारा ठेलागाडा छेउतिर लगाउँछ ।

No comments:
Post a Comment