Friday, 16 August 2024

गोविन्द गिरी प्रेरणा ः परिचय, प्रवृत्ति र लघुकथा

 गोविन्द गिरी प्रेरणा

 माता, पिता ःविष्णुमाया गिरी , रामबहादुर गिरी
जन्ममिति ः २०१५ वैशाख ५
जन्मस्थान ः मकवानपुर जिल्लाको टेक्कर भन्सार
पहिलो लघुकथा ः हलचल मासिकका वर्ष १, अंक १, २०३६ सालमा प्रकाशित दन्त्यकथा लघुकथा
कथा कृति ः 
सुतेको समुद्र (२०४०) 
अन्तराल (२०४६)
यात्रा अनन्त (२०५३)
घोराही शून्य किलोमिटर (२०६७)
छड्के तिलहरी (२०६९ ) 
गन्तब्य गणबहाल (२०७२)
सम्पादन ः लघुकथा पत्रिका, चार अंक प्रकाशित (वि.स. २०४३÷४४) ।

थप परिचय ः 
संयुक्त राज्य अमेरिकामा रहेर नेपाली भाषा—साहित्यका क्षेत्रमा सक्रिय । 

प्रवृत्तिहरू ः 
 — समसामयिक जीवन यथार्थको प्रस्तुति ।
— नरनारी सम्बन्धका जटिलताको चित्रण ।
—भिन्नभिन्न भूमिमा रहेका घरपरिवारका सदस्यबिचको सम्बन्ध र त्यस सम्बन्धले उत्पन्न गरेको जटिलताको प्रस्तुति । 
— प्रकृति र जीवनको खोजी ।  
—मानवीय सम्वेदनाको प्रस्तुति  । 
—प्रवासी जीवनका अनुभूतिको प्रस्तुति ।


फोटोग्राफर

अनन्त आज बेजोडले खुशी थियो । छुट्टीको दिन भएर पनि कतै गएन । सधैंझैं ढिलो उठेर नेपाल फोन गर्यो श्रीमतीलाई । छोराछोरीसँग पनि कुरा गर्यो । हरेक हप्ता कुरा गर्दा नयाँ कुरा नै के पो हुन्छ र । शुरुशुरुमा जस्तो आजकाल लामो कुरा हुँदैन । आज पनि त्यस्तै भयो । छोटो कुराकानीमा उसकी श्रीमतीले भनी “मैले तपाईंलाई मेरा नयाँ फोटाहरु पठाईदिएकी छु ।’’

अनन्त दङ्ग प¥यो र कम्प्युटर खोल्यो । उसले ताजा फोटोहरु पठाईदेउ भनेको कति भएको थियो । 

श्रीमतीका विभिन्न पोजका हँसिला र उदात्त फोटोहरु देखेर उसलाई हुनसम्मको खुशी लाग्यो । 

उसले फ्रिजवाट यौटा बियर निकाल्यो र चिसो बियरको स्वाद लिंदै श्रीमतीका फोटोहरु हेर्न थाल्यो । उसले गमेर हेर्यो, फोटो खिचेका सवै ठाउँहरु एकदम परिचित छन् । हो त नि, उनीहरु बिहा पछि ती ठाउँहरुमा घुम्न गएका थिए ।  

        उसले दराजवाट एल्वम निकाल्यो र नेपालवाट ल्याएका फोटोहरु हेर्न थाल्यो । अहो, सवै सवै पुराना ठाउँका फोटोहरु । नगरकोटको होटल र पहाड । ककनीका रिसोर्ट र वगैंचा । पोखराको वाराही मन्दिर अनि लेकसाइडको त्यही होटलको कौसी । 

अनन्तका आँखामा बिहा पछिका ती सुन्दर, दुर्लभ, रोमाञ्चकारी समयको झल्को आयो । ती होटल, रिसोर्टमा विताएका दिनका कुत्कुती लाग्ने क्षणहरुले अमला पिएर पानी खाएको मिठास उसको मुखभरि भरियो ।

बियर अर्काे पनि थप्यो । सजिलो खाना नूडल्स वनायो । खायो । विगतका दिनहरुमा अल्मलिईरह्यो । दिन वितेको पत्तो भएन । साँझ परेको पत्तो भएन । भोलि त विहानै काममा जानु छ । सुत्नुअघि फेरि उसले कम्प्युटर खोल्यो र हेर्यो  श्रीमतीका तिनै फोटोहरु । 

        त्यो वेलामा उनीहरुले पालैपालो एक अर्काका फोटो खिचेका थिए । उसले अनेक जोक्स भनेर श्रीमतीलाई हँसाईहँसाई फोटो खिच्थ्यो । श्रीमती पनि त्यसै गरी उसको फोटो खिच्थी । उसको दिमागमा अचानक एक झट्का पर्यो, अहिले उसको फोटो खिच्ने फोटोग्राफर को होला ?

        त्यसपछि उ रातभर निदाउन सकेन ।

चरा र मनुष्य

झिसमिसेमै चरा वगैंचामा चिर्बिराउन थाल्यो र विस्तारै चाराको खोजीमा भूर्र उडेर गयो ।

वगैंचा छेउको बासिन्दा मानिस पनि उटेर कामको खोजीमा हिंड्यो ।

शहरीकरण, वायु मण्डलको प्रदुषण झेल्दै साँझपख चरा गुँडमा फर्कियो । वचेराहरु चारासहित चराको आगमनले खुशी भए ।

मानिसको परिवार थियो । उनीहरु मानिसको प्रतीक्षामा भोक झेल्दै कुरीरहे ।

मानिसले वहुत मुस्किलले थोरै काम पायो । अलिकति पैसा कमायो । हातमा पैसा परेपछि उसले घरको वाटो समातेन ।

मुख मिठ्याउँदै भट्टीमा पस्यो ।

०००



No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...