Wednesday, 21 August 2024

गोरखबहादुर सिंह ः परिचय, प्रवृत्ति र लघुकथा

गोरखबहादुर सिंह


माता, पिता ः चेतकुमारी सिंह, ईश्वरबहादुर सिंह

जन्ममिति ः वि.स. २००८ फागुन १०

जन्मस्थान ः लुङ्ग–४, प्युठान 

लघुकथा कृति ः आलुप्याज÷प्याजआलु  (२०६१), नगरसभाको पाँचौ दिन (२०६५)

कथा कृति ः आलुप्याज÷प्याजआलु  (२०६१)

सम्पादन ः पहिरो थुप्रिएको बगर संयुक्त लघुकथा सङ्ग्रह (२०५५)

थप परिचय ः

सरकारी सेवामा उच्चपदस्थ कर्मचारी ।

बालसाहित्यका लेखक ।


प्रवृत्तिहरू ः 

 — राजनीतिक विकृतिको आलोचना ।

— सामाजिक जीवनमा विसङ्गतिप्रति व्यङ्ग्य ।

—प्रशासनिक क्षेत्रमा रहेको भ्रष्टाचार, चाकरीजन्य गतिविधि, पदलोलुपताजन्य क्रियाकलापप्रति असहमति भाव । 

—पुस्तान्तरणका समस्याको प्रस्तुति ।  

—आधुनिक सभ्यताका नाममा फैलिएका विकृतिप्रति छेड प्रहार । 

—व्यक्ति पात्रका गलत क्रियाकलापको आलोचना । 

— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता । 

— संवादात्मक शैलीको प्रयोग ।

—लामा, छोटा दुवै किसिमका शिर्षकको प्रयोग ।

—लघुकथासँगै चित्रको प्रयोग ।


उन्मुक्ति

उनीहरू निकै व्यस्त थिए । दुवै दाजुभाइले आकर्षक फ्रेममा सजिएका आआफ्ना प्रमाणपत्रहरू बैठक कोठाका भित्तामा सजाउँदै थिए । ती प्रमाणपत्रले आकर्षक फ्रेममा कारणले मात्र होइन; डिग्रीको उच्चताका हिसाबले पनि उच्च हैसियत राख्थे ।

त्यसरी भित्ता सजाउँदै गर्दा ती दुई बिच एउटा विषयमा विवाद चल्यो । विवाद बैठक कोठाको एउटा ठाउँलाई लिएर चलेको थियो । उक्त विवादित ठाउँ बैठकमा राखिएका सोफाबाट सोझै अगाडि पर्दथ्यो, जसले गर्दा कोठाका अन्य ठाउँमा भन्दा त्यस ठाउँमा सोफाभन्दा सोझै र सजिलै दृष्टि पर्दथ्यो । त्यही सजिलै र सोझै दृष्टि पुग्ने ठाउँमा ती दुवै आफ्नै प्रमाणपत्र सजाउन चाहन्थे । उनीहरूमा चलेको विवादको कारण त्यही थियो । विवाद लम्बिँदै मात्र गएन, यसमा आक्रोशको मात्रा पनि बढ्दै गयो–

“मेरो विद्वता तिम्रोभन्दा बढी छ ।”

“मेरो प्रमाणपत्र तिम्राभन्दा ठूला छन् ।”

“मेरो विचार तिम्र्रोभन्दा सही छ ।”

“म तिमीजस्तो विवेकशून्य छैन ।”

ती दुई भाईको विवाद रफ्तारमा चर्कँदै गएको मौका पारेर उनीहरूका प्रमाणपत्रबाट विद्वता र विवेक सट्ट बाहिर निस्किए । तर बिचरो ज्ञान भने विद्वता र विवेकको उन्मुक्तिप्रति लोभिँदै प्रमाणपत्रमा टाँसिइरहन विवश रह्यो । 


समाधान

उच्चपदस्थहरू सम्पति सञ्चयको अतृप्त लालसामा लिप्त थिए; राष्ट्रिय बजेट विकासको बहानामा उनीहरू भण्डार र बैङ्क खाता भर्न बाध्य थिए । कमिशन निःसङ्कोच टेबुलमाथि ओहोरदोहोर गर्दथ्यो । 

उच्चपदस्थबाट भएको यस्तो व्यापक भ्रष्टाचारको सदन, सडक र सञ्चारमाध्यम सबैतिरबाट तीव्र विरोध भयो । भ्रष्टाचार नियन्त्रणका लागि तीव्र दवाब दिइयो । विरोध र दबाबलाई हेर्दा सरकारले केही गर्नैपर्ने भयो । फलतः भ्रष्टाचार नियन्त्रणका उपायबारे सुझाव दिन आयोग गठन गरियो । 

आयोगको सुझावअनुसार सरकारद्वारा भ्रष्टाचारी धनको संकेत दिनसक्ने विशेष यन्त्रमानव तयार गर्न केन्द्रीय विज्ञान तथा उच्च प्रविधि विकास विभागलाई जिम्मा दिइयो । यन्त्रमानव निर्माण गर्न जिम्मा दिइएको समाचार सरकारका तर्फबाट व्यापक प्रचारप्रसार गरियो । समाचारमा यन्त्रमानवको आविष्कारपछि अनुसन्धानको सुरुवात उच्च ओहदाबाट गरिने कुराको पनि सक्रियतापूर्वक प्रचारप्रसार गरियो । समाचारले एकातिर विरोधका स्वरहरू अलमलिए; जिल्लिए; अर्कातिर उच्चपदस्थहरू त्यस्तो यन्त्रमानवको आविष्कार हुनसक्ने सम्भावना नदेखेर सन्तोषको सास फेर्न थाले । 

तीन महिनाभित्रै सरकारको आदेश अनुसार तोकिएको बमोजिमको यन्त्रमानव तयार पारेर सम्बन्धित विभागले मन्त्रीपरिषदमा बुझायो । 

यन्त्रमानवले पनि भ्रष्ट धनको सङ्केत दिन सक्छ । मन्त्रीपरिषदमा ठूलो शंका र त्रास उब्जियो र निर्णय भयो–“यन्त्रमानवको कार्यक्षमताको परीक्षण गर्ने ।”

उक्त निर्णयको एक हप्तापछि एउटा पत्रसाथ यन्त्रमानव प्रविधि विकास विभागमै फिर्ता पठाइयो । 

यन्त्रमानवसँग संलग्न पत्रमा उल्लेख गरिएको थियो–“१५० वटा घरमा परीक्षण गर्दा पनि यन्त्रमानवले भ्रष्ट धनको कुनै संकेत दिन नसकेकाले यसैसाथ फिर्ता पठाइएको छ ।”

उक्त यन्त्र परीक्षणका लागि उपलब्ध एक मात्र टोल थियो–“सुकुम्बासी टोल ।”

 

 



No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...