Saturday, 24 August 2024

टीकाराम रेग्मी ः परिचय, प्रवृत्ति र लघुकथा

 

टीकाराम रेग्मी 

माता, पिता ः यमकुमारी रेग्मी , खेमलाल रेग्मी

जन्ममिति ः २०१३ चैत्र २

जन्मस्थान ः भिरकोट–८, चिलाउनेखर्क, स्याङ्जा 

पहिलो प्रकाशित लघुकथा ः 

लघुकथा कृति ः विपर्यास (२०७१), आवरण (२०७६)

थप परिचय ः

—३९ वर्ष शिक्षण सेवामा काम गरेको ।

—चितवनमा शैक्षिक, सामाजिक एवम् साहित्यिक संस्थामा सक्रिय ।

सम्पर्क नम्बर ः ९८५५०६०९५०

प्रवृत्तिहरू ः 

— राजनीतिक विसङ्गतिको आलोचना ।

—नवपुस्ता आत्मकेन्द्रित एवम् स्वार्थी भएकोमा चिन्ता । 

—साहित्यिका क्षेत्रका विकृतिको चर्चा । 

— पुस्तान्तरणका समस्या ।  

—शिक्षा क्षेत्रका विकृतिको आलोचना । 

— व्यक्ति पात्रका विसंगतिपूर्ण जीवनकर्मप्रति आलोचना । 

— सुत्रात्मक अभिव्यक्तिका साथै सम्वादात्मकता । 

 

त्याग

“ओहो ! यो त मेरो निमित्त खुसीको कुरो हो । कम्तीमा यसै कार्यक्रमको निहुँमा यो देश र समाजको लागि सानै भएपनि सहयोग गर्न पाउने भएँ ।” हरिदास अग्रवालको अनुहार मुस्कायो । 

खेलकुद मन्त्रालयले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्नको लागि भौतिक निर्माणको व्यवस्था गर्न नामै चलेका व्यापारीसित हात पसार्दै थिए । 

“भन्नोस् न त तपाईँको यो कार्यक्रम सम्पन्न गर्नको लागि हामीले के कस्तो सहयोग गर्नुपर्ला ?” मन्त्रालयका सचिवले प्रश्न राखे । 

“निर्माणमा लाग्ने त्यही पाँच, सात हजार टनजति पाइप र त्यति नै बन्डल जति जस्तापाताको पैठारीमा लाग्ने छुटको व्यवस्था भएपुग्छ हजुर । अरू केही पर्दैन ।”

म तपाईँको यो त्यागको निमित्त कुन शब्दले धन्यवाद दिउँ ? भन्सार दरको कुरा त सामान्य भयो नि । म अर्थमन्त्रीज्यू समक्ष अनुरोध गर्छु । तपाईँ निश्चिन्त भएर तयारीमा लाग्नुहोस् ।” सचिवले खुसी हुँदै भने । 

“हस् ! मलाई यो समाजसेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद ।” हरिदासले शिर निहुर्याएर पाउ नजिकै पुर्यायो ।

सरासर बाहिर गयो र मुनिमलाई फोनबाट काम अह्राउन गयो । 

”ल जोगिन्दर, कुरा मिलिहाल्यो । अब यो खेलकुदको लागि बनाउने टहरामा कबाडीमा आएका पाइप र जस्ता प्रयोग गर्ने । जो नयाँ आउँछ, सो सब बजार लाने । भन्सारको प्रतिपत्रको कुरो पनि मिलाउने । कुरा बुझिलिएको छ ?”

“मैले देशको निमित्त त्याग गर्ने तरिका तपाईँबाट राम्ररी सिकेको छु मालिक, बुझेको छु ।” मुनिमले गम्भीर भएर भन्यो ।   

पूर्णकदको सालिक

सहिद सप्ताहको भव्य तयारी भइरहेको थियो । सहिदहरूप्रति अगाध सम्मान झल्काउने प्रेस विज्ञप्ति जारी गरी जनताको मन जित्न, मनको धोको पुरा गर्न विज्ञहरू समेतको रायमा खेस्रा तयार गरी पेश गर्न प्रेस सल्लाहकारलाई आएको थियो । 

राजनीतिक जीवनको सुरुदेखि हरेक अभियानको सहयात्री सुदामाले धेरै असफल प्रयत्नपछि आज मात्र भेट्न पाएको थियो उसलाई । त्यसैले सगरमाथा चढ्दाको जस्तो लालिमा चढेको थियो उसको अनुहारमा । मन पनि खुसी थियो आज । उसले सोच्यो, “आफ्नै सहयात्री योद्धा प्रमुख कार्यकारी पदमा रहेको बेला नपाए कहिले पाइन्छ यो मौका ? आज मैले एउटा महत्वपूर्ण उपलब्धि लिनैपर्छ ।”

”मित्र, आज लामो समयपछि भेट भयो । के छ मनमा, मैले गर्नुपर्ने केही छ भने भन्नोस् । यो कुर्चीमा म हुनु र तपाईँ हुनुमा केही फरक छैन । तुरन्त व्यवस्था मिलाउँछु ।” 

“प्रमुख कार्यकारी नेताको सहयात्री हुन पाउनु, आज यो वचन पाउनु म भाग्यमानी हुँ ।” सुदामाको ह्दय खुसीले छल्कियो । 

“प्रिय नेताजी, अरु त केही होइन, हामीले लिएका विचारका प्रवर्तक, जनआन्दोलन वा युद्धका उर्जा, हाम्रो दर्शनलाई व्यहारिक रुप दिने कार्यका अभियन्ता, हामी सबैका गुरु, आजादलाई कसैले सम्झेन । उहाँको सम्मान गर्नुपर्यो  ।” सुदामाले गम्भीर हुँदै भन्यो । 

“हो त नि । आजाद । एक महान क्रान्तिकारी व्यक्तित्व ।” नेताजी बोल्यो । 

“हँ, यति हो ?” नेताजीले मुस्कुराउँदै सोध्यो । 

“आजादले न्याय पाए पुग्छ मलाई ।” सुदामा खुसीले पागल हुँदै बोल्यो । 

“रमेशजी, आजादजी हामीले कहिल्यै बिर्सन नसकिने नाम हो । उहाँको पूर्ण कदको सालिक बनाउने काम आजैदेखि अघि बढोस् । अँ सुन्नोस् त, उपलब्ध हुनसक्ने उत्कृष्ट कालिगढद्वारा आकर्षक सालिक बनोस् है । यसमा कुनै सम्झौता नहोस् ।” नेताजीले आफ्नो पिएलाई बोलाएर भन्यो ।  

“उहाँ त ज्युँदै हुनुहुन्छ, के को सालिक.....” भन्दै थियो सुदामा, नेताजी त अघि नै बाहिरिइसकेको रहेछ ।       


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...