![]() |
| नारायण तिवारी |
माता, पिता ः धनमाया तिवारी, चक्रप्रसाद तिवारी
जन्ममिति ः वि.स.२०११ पुस ११
जन्मस्थान ः सुनसरी जिल्लाको अमाहीबेल्हा– ७, सीतागञ्ज
पहिलो लघुकथा ः प्रयोग सामयिक संकलनमा वि.स. २०३३ सालमा प्रकाशित ती सबै मेरा सपना हुन्् लघुकथा
लघुकथा कृति ः दसैँ खर्च (२०५७,
ंंमहँगी, भोक र सार्वभौमसत्ता (२०७०)
सम्मान ः पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७५)
प्रवृत्तिहरू ः
— राजनीतिक विसंगतिप्रति आलोचनात्मक चेतना ।
— जातीय, क्षेत्रीय संकीर्ण भावनाको विरोध ।
— निरंकुशताविरोधी चेत ।
— सामाजिक विभेद, अन्याय, अत्याचारको विरोध ।
— निम्नवर्गीय जीवनप्रतिको सहानुभूति ।
—पैसामुखी प्रवृत्तिप्रति आलाचना ।
— भ्रष्टाचारजन्य गतिविधिप्रति असहमति । आर्थिक–प्रशासनिक क्षेत्रका भ्रष्ट चिन्तनप्रति व्यङ्ग्य ।
— साहित्य कलाका नाममा गरिने असामान्य गतिविधि एवम् धार्मिक क्षेत्रको आडम्बरको आलोचना ।
—व्यक्ति पात्रको चरित्र चित्रणमा अभिरुचि ।
—सम्वादात्मक एवम् प्रश्नोत्तर शैलीको प्रयोग ।
विशेष पक्ष ः
—निजामती सेवामा लामो समय कार्य गरी हाल अवकाशप्राप्त जीवन ।
—लघुकथा कुनो र कथा नामक फेसबुक पेजका संस्थापक ।
आजकल
“दाजु ! तुँ त हम्रे अरके कथा लिखैछ !” उसले हाँसेर भन्यो ।
“हो त तिमीहरू नै दुःखी छौ धेरै र म दुःखीहरूको कथा लेख्ने कथाकार हुँ । मैले स्नेहपूर्वक उसलाई अँगालो मार्दै भनेँ । ऊ वडा समितिको पियन थियो–रमेश मण्डल ।
एक दिन एउटा रिक्सावालाले पनि भन्यो–“आहाँ त कि दन हम्रे कथा लिख्ने रहिए....!”
“कसले भन्यो कसले ?” मैले सोधेँ ।
“रमेश मण्डल कहले हम्रा !”
ऊ भन्दै थियो ।
यो रमेश मण्डल पियन भए पनि दुई अक्षर के पढेको छ, खुब पत्रपत्रिका चहार्छ....!
मलाई खुसी नै लाग्यो–यी थिचिएका, मिचिएका, पछाडि परेका मानिसहरूको कथा लेख्न पाउँदा !
म यथार्थ कुरा लेख्थेँ । भरिसके पात्रहरूको नाम पनि फेर्दिनथेँ । उही राख्थेँ । पढ्नेले पढिहाल्थे र हल्ला गर्थे ।
सबैले मान्थे मलाई, आदर गर्थे, दाजु भन्थे । म पनि थिचोमिचो मन नपराउने मान्छे, गरिब मन पराउने तर गरिबी मन नपराउने मान्छे उनीहरू प्रति अनुराग राख्थेँ–स्नेहले सुम्सुम्याउँथेँ ।
अचानक केही कुराहरू बदलिए । सँधै ‘नमस्कार दाजु’ भनेर आदर गर्ने रमेश मण्डलले घुरेर हेर्न थाल्यो । जुन रिक्सावाला “तपाईँले त मेरै कथा लेख्नुभएको छ अरे !” भन्दै खुसी भएथ्यो, उही रिक्सावाल मलाई नदेखेझै गरी मुख अर्कातिर फर्काउन थालेको थियो । मेरा तमाम कथाका पात्रहरू पनि मानौं मेरा वैरी भइसकेका थिए ।
अरू केही भएकै होइन । यति कि त्यस बेला मधेसमा मधेसीहरूको आन्दोलन चलिरहेको थियो । र मेरो सबभन्दा ठूलो दोष ‘पहाडी’ वा ‘पहाडे’ हुनु थियो । म मधेसमा रहे–बसे पनि ‘मधेसी’ हुन सकिरहेको थिएन । अर्थात्, त्यतिबेला म उनीहरूको प्रिय कथाकार होइन, ‘पहडिया’ भइरहेको थिएँ....। र साह्रै दुःखित, रोइरहेको थिएँ....।
भर्याङ
मैेले प्रजातन्त्र आउनुअघि अमुक पार्टीको छातामुनि रहेर काम गरेको थिएँ । निरङ्कुश शासन व्यवस्था विरुद्धको लडाइँमा तन, मन र वचनले समर्पित थिएँ ।
प्रजातन्त्र आएपछि आफू ओझेलमा परेको, टाठा–बाठाहरूले नै अवसर पाएको, कुर्सीका लागि नेताहरू र मर्न मार्न तयार भएको जस्ता यथावत् कारणहरूले गर्दा दिक्क हुँदै खिन्न बन्दै गइरहेको थिएँ म ।
नामी कालजयी बुद्धिजीवीहरू समेत झोला बोक्दै एकुन्टा झन्डाका पछि एकमात्र कुर्सीका खातिर कुदेको देख्दा इमान्दार, नैतिकता, चरित्र–सिद्धान्त सबै पतन हुँदै गएको अनुभूतिले नराम्र्ररी ‘फ्रस्टेड’ हुँदै गएको थिएँ म । त्यसै बेला एक जना प्रौढ व्यक्तित्व श्री जीवनप्रकाशले मलाई साह्रै राम्ररी प्रभावमा पार्नुभयो ।
“बुझ्नुभयो–कुनै झन्डाका पछि, पार्टीका पछि, रङका पछि कुदने होइन, सत्यका पछि कुदनुपर्छ ।” उहाँ भाषण गर्दै हुनुहुन्थ्यो ।
“सबैभन्दा ठूलो सत्य इमान हो, चरित्र हो, नैतिकता हो । अझ भनौं भने ‘मान्छे’ नै हो सबभन्दा ठूलो सत्य, कुनै झन्डा होइन, वाद होइन ।” सबैले पटक–पटक ताली पिटे । म खुबै प्रभावित, झनै जोरले ताली पिटेँ ।
त्यसपछि त मेरो उहाँसितको सान्निध्य बढ्दै गयो । सबै झन्डा, वाद र रङहरूको लिकबाट ‘कट’ भएर म उहाँको पछि लागेँ ।
रहँदै–बस्दै दिन बिते, महिना बिते, वर्षहरू बिते ।
देशमा सहिदले मरेर ल्याएको, जे जस्तो भएपनि प्रजातन्त्र थियो तर त्यही प्रजातन्त्रको पनि राजाले घाँटी निमोठिदिए ।
यस्तैमा एक दिन अचानक उहाँको राजनीतिक नियुक्तिको खबरले म अत्तालिएँ । उहाँको नियुक्ति पञ्चायतकालीन अञ्चलाधिशका झैं क्षेत्रीय प्रशासकमा राजाबाट भएको थियो । उहाँ कुनै पार्टीको पछि लाग्ने अर्थात् राजनीतिको पछि लाग्ने व्यक्तित्व नै होइनन् भने कसरी उहाँ निरंकुश राजाको चाहिँ प्रशासक...? यही प्रश्नले म अत्तालिएँ ।
मलाई कसैले भनिरहेको थियो–“बुझ्नुभयो जीवनप्रकाश त भूमिगत बुद्धिजीवी पो हुनुहुँदो रहेछ । कुनै पार्टीको झन्डा बोक्दिनँ भनेको त मौका परे राजाको झन्डा बोक्छु भनेको पो रे’ छ त ....।”
मैले त्यसपछि केही सुनिनँ केवल जीवनप्रकाश र उहाँका भाषणहरू चलचित्रभाँति मेरा मानसमा उत्रिरहे । एउटा भर्याङभाँति म र मजस्तै अरूहरू प्रयोग भइरह्यौं ।
मलाई आफू फेरि मरेको अनुभूतिले नराम्ररी गाँजिरह्यो.... ।

No comments:
Post a Comment