Wednesday, 21 August 2024

कुसुम ज्ञवाली ः परिचय, प्रवृत्ति र लघुकथा

कुसुम ज्ञवाली
वास्तविक नाम ः फणिन्द्र ज्ञवाली
माता, पिता ः नेत्रकला ज्ञवाली, मुक्तिनाथ ज्ञवाली
जन्ममिति ः वि.स. २०३० मंसीर २२ 
जन्मस्थान ः रिमुवा ४, पतेल्का (गुल्मी)
पहिलो प्रकाशित लघुकथा ः आरम्भ संयुक्त लघुकथा सङ्ग्रह  (२०५४) मा प्रकाशित सहिदले बिर्सेको गाउँ लघुकथा
लघुकथा कृति ः सहिदले बिर्सेको गाउँ (२०६१)
सम्पर्क नम्बर ः ९७७–९८५१०७७३९६ (क्यानाडा)
थप परिचय 
—इन्जिनियर ।
—लेखक, सञ्चारकर्मीका साथै साहित्यिक पत्रपत्रिकाका सम्पादक ।
—नेपालमा र क्यानडामा विभिन्न साहित्यिक संघसंस्थामा नेतृत्वदायी भूमिका ।
—नेपाल विद्युत प्राधिकरणमा सेवा ।
—हाल टोरन्टो, अन्टोरिया, क्यानाडामा बसोबास ।

प्रवृत्तिहरू ः 
 — राजनीतिमा देखापरेको सुविधाभोगी प्रवृत्तिप्रति व्यङ्ग्य । 
— द्वन्द्वकालका मानवअधिकारका घटनाको प्रस्तुति ।
—राजनीतिक विसङ्गतिप्रति आलोचना । 
— समाजमा रहेको असमानता, अन्याय, अत्यचारप्रति आलोचना ।  
—साहित्यिक विकृतिको चित्रण । 
—आधुनिक सभ्यताका नाममा देखापरेका विकृतिको चित्रण । 
— वैदेशिक रोजगारका पीडाको प्रस्तुति । 
—आर्थिक एवम् धार्मिक क्षेत्रका विसङ्गतिप्रति आलोचना ।
—सम्वादात्मक शैलीका साथै स्थानिय भाषाको समेत प्रयोग ।

सन्देश
फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५–६ वर्षको छोरो नफर्किने पति÷पिताको आगमन पर्खेझैं बसेका थिए । 

“आमा ! बुबा किन दशैंमा पनि घर नआ’एको ?” छोराले सोध्यो । गहभरि आँसु पारेर आमाले भनिन,“सानु तिम्रो बुबा सहीद हुनु भयो ?”

“सहिद भनेको के आमा ?” उनले धोतीको सप्कोले मुख छोपिन् । सानुले मसँग सोध्यो, “अङ्कल, सहीद भनेको के हो ?” 

“सहीद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।”
“मेरो बुबा ठूलो मान्छे हो, अङ्कल ?”

“हो बाबु, सबैभन्दा ठूलो मान्छे ।” मेरो गाला पनि अवरुद्ध भयो ।
 
“ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अङ्कल ?”

“गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन, सबैलाई असाध्यै माया गर्छन् ।”

“मन्त्री अङ्कलभन्दा पनि ठूलो हो ?”

“हो ।”

“त्यसो भए मेरो बुबालाई दसैँमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अङ्कलको छोरालाई मन्त्री अङ्कलले केके ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँददैन । कस्तो छुच्चोऽऽऽ !! मेरो बुबा दसैँमा आएको भए त म पनि उनीहरूले झैं पेटभरि मासुभात खान पाउँथे नि, होइन त अंकल ?”

आधिकारिक तथ्याङ्क

काशीनाथले श्रम विभागको जागीरमा अहिले सोह्र ग्रेड खाँदैछन् । पन्ध्र गतेदेखि बालश्रमिकको तथ्याङ्क खोज्न नेपालगञ्जदेखिको झापासम्म घुम्न जाने कुरा पक्का भएपछि अफिसबाहिर चिया पसलमा घाम ताप्दै उनले हकारे, “ए ज्ञाने ! एक गिलास चिया ले !” झुत्रो, फोहरले कलेटी परेको लुगा लगाएर सात–आठ वर्षे कलिलो फुच्चेले चिया लिएर आयो ।
 
  नेपालगञ्ज जाने बस गोगंबुबाट हिँड्न केहीेबेर बाँकी थियो । 

‘मिनरल वाटर ! मिनरल वाटर !’ एउटा फुच्चे करायो । 

‘वाइवाइ ! वाइवाइ चाउचाउ लिने ? चाउचाउ हजुर !’ अर्को फुच्चे चिच्याउँदै थियो ।

‘चुइगम ! स्न्याक्स ! भिक्स हजुर !! आजको ताजा खबर ! ताजा खबर ! हजुर ! दुईददुई रुपैयाँमा सन्ध्याकालीन, महानगर !’

‘बालश्रमिकको तथ्याङ्क तयार हुने ! लौ आयो साप्ताहिक !’ छ वर्षजतिको खाते केटो पत्रिका लिएर आयो । 

सात–आठ वर्षे कलिला हकरहरूको तीखो स्वरले दिक्क भएर काशीनाथले बसको झ्याल बन्द गरे । अर्को बिहान उनी नेपालगन्ज ओर्लिए । 

‘मीठा पान ! जर्दा पान !’

‘दशदश रुपियाँमा मोजा आयो हजुर’

‘काँकरभित्ता ! फोल्डिङ सिट खाली ! काँकरभित्ता !’ 

  सात–आठ वर्षे खातेजस्तो देखिने भाँडा माझ्दै गरेको एउटा केटासँग बालमन्दिर कता पर्छ भनेर सोधे काशीनाथले ।

‘थाहा छैन ।’ उसले छोटो जवाफ दियो । 

बडो दुःखले खोजे उनले । तर बालमन्दिर, प्रहरी थाना, जिल्ला कार्यालय कहीँ पनि बालश्रमिकको आधिकारिक तथ्याङ्क पाएनन् ।

साँझ होटलको कोठामा बसेर प्रतिवेदन तयार पारे–‘जिल्ला कार्यालय, प्रहरी र बालमन्दिरका अनुसार यहाँ बालमजदुरहरू नरहेको पाइयो ।’   

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...