माता, पिता ःज्ञानमाया कोजू, रत्नभक्त कोज
जन्ममिति ः वि.स. २०१४ मंसीर २९
जन्मस्थान ः भक्तपुर नगरपालिका–४, व्यासी, भक्तपुर
पहिलो लघुकथा ः एउटा चित्र, भक्तपुरबाट प्रकाशित हुने स्वर्णद्वार पत्रिकामा वि.स. २०३१ ।
लघुकथा कृति ः बूढो वर्तमान (२०३९) कथा सङ्ग्रहमा लघुकथा रचना समेत समावेश ।
सम्पर्क नम्बर ः ९८४१६९३२४५
प्रवृत्तिहरू ः
— मानव जीवनका अभाव, स्वार्थजन्य गतिविधि एवम् विवशताको चित्रण ।
— पारिवारिक द्वन्द्वका घटनाको प्रस्तुति ।
— समाजमा रहेको निरंकुश प्रवृत्ति एवम् शोषणजन्य गतिविधिप्रतिको आलोचना ।
यान्त्रिक आवाज
दुई साथीहरू एउटा औद्योगिक एरिया काटिरहेका थिए । तिनीहरूकै आँखा सामुन्ने त्यो एरियाले औद्योगिक जुनी पाएको थियो । त्यही गएर पहिले तिनीहरू गाइवस्तु चराउन निस्कँदा जिस्किएर–मस्किएर कति ख्याल–ठट्टाहरू गर्थे । अब त त्यो रमाइलो कथाको रूपमा ती दुवैको मनभरि सम्झनाको शेषमात्र बाँकी छ । जसको सम्झनाले तिनीहरूलाई एउटा सुखद अनुभूति दिन्थ्यो ।
धेरै समयपछिको भेट । त्यसमाथि त्यही ठाउँ । अतः दुवै निक्कै उत्फुल्ल थिए । दुवैले एक–अर्कालाई मीठा–मीठा कुराहरू सुनाएर बाटो काटिरहेका थिए ।
औद्योगिक एरिया सिद्धियो । कान चिर्ने औद्योगिक आवाज अब ठ्याम्मै हराइसकेको थियो ।
–मैले तँलाई कति रमाइला कुरा भनेँ, हगी !
–मैले पनि तँलाई कति रमाइला कुरा सुनाएँ !
–अहँ, तँले झुठो कुरा भनिस् !
–बरु तँले पो मलाई ठगिस् !
ती दुवै एकअर्कादेखि सशङ्कित भए । अगाडिको बाटोमा ती दुई एक अर्कादेखि परपर मुख हुँदै भेटन थाले ।
इलाकाभित्र
उसले रोजगारी पाउन सकेन । अथवा उसले रोजगारीको लागि कुनै प्रयास गरेन वा प्रयास गरे पनि कसैको कानसम्म उसको आवाज घन्किन सकेन । कारण त्यो घोषित शान्ति इलाका थियो । त्यस इलाकाभित्र कुनै आवाज उठ्नु शान्ति भङ्ग गरिएको मानिन्थ्यो । किटेर भन्न सकिने कुरामा पढेर पनि ऊ बेरोजगार नै रह्यो ।
अन्न–पानीको शरीर, एकदिन उसकी आमा थला परी सारङ्गी जस्तो पेट बोकेर । आमाको बिरामी, आफ्नो बेरोजगारी पेटमा भोकको अग्नि आद् कुरालाई कल्पिँदै–कल्पिँदै आमाछेउ निःशब्द रोइरह्यो । छेउको आफ्नो छोरालाई हेर्दै बूढीले आफ्ना अन्तिम घडीका घुँक्कघुँक्क हिक्काहरू छाडी । वर्दीमा एक पुलिस भित्र पसेर उसकी आमाको मुख थुनिदियो । पुलिसको भनाइ थियो– बूढीले इलाकाको शान्ति भङ्ग गरी । ऊ चुप रहन सकेन । प्रतिवाद गर्यो पुलिसले उसलाई घाँटी अँठ्याएर न्यायालयमा उभ्याउन लग्यो । त्यहाँ पुगेर पुलिसले अभियुक्तले इलाकाको शान्तिलाई ललकारेको कुरा जाहेर गर्यो । उसले त्यहाँ पनि प्रतिवाद गर्यो । प्रतिवादको सिलसिला नटुुँगिदै उसलाई सजाय दिइयो अथवा उसको आवान झिकियो र त्यहाँबाट फर्काइयो ।
बाटामा उसले मान्छेहरूसित घरमा आफ्नाी आमा मरिरहेकी र आफूलाई भएको अन्याय सुनाउन मुख चलायो । तर शब्द शून्य । उसको कुरालाई कसैले सुन्न सकेन वा सुनेन । विरक्तिएर ऊ घरभित्र पस्यो र आफ्नी आमाको जिउ छाम्यो । चिसिइसकेको रहेछ । आफूलाई छाम्यो–चिसिँदै गइरहेको पायो । हडबडाएर आमाको देहलाई अँगाल्दै ऊ चिच्यायो–‘........’

No comments:
Post a Comment