Thursday, 8 August 2024

रत्न कोजू ः परिचय, प्रवृत्ति र लघुकथा

           रत्न कोजू


माता, पिता ःज्ञानमाया कोजू, रत्नभक्त कोज

जन्ममिति ः वि.स. २०१४ मंसीर २९

जन्मस्थान ः भक्तपुर नगरपालिका–४, व्यासी, भक्तपुर

पहिलो लघुकथा ः एउटा चित्र, भक्तपुरबाट प्रकाशित हुने स्वर्णद्वार पत्रिकामा वि.स. २०३१ ।

लघुकथा कृति ः बूढो वर्तमान (२०३९) कथा सङ्ग्रहमा लघुकथा रचना समेत समावेश ।

सम्पर्क नम्बर ः ९८४१६९३२४५


प्रवृत्तिहरू ः 

 — मानव जीवनका अभाव, स्वार्थजन्य गतिविधि एवम् विवशताको चित्रण ।

— पारिवारिक द्वन्द्वका घटनाको प्रस्तुति ।

— समाजमा रहेको निरंकुश प्रवृत्ति एवम् शोषणजन्य गतिविधिप्रतिको आलोचना । 


यान्त्रिक आवाज

        दुई साथीहरू एउटा औद्योगिक एरिया काटिरहेका थिए । तिनीहरूकै आँखा सामुन्ने त्यो एरियाले औद्योगिक जुनी पाएको थियो । त्यही गएर पहिले तिनीहरू गाइवस्तु चराउन निस्कँदा जिस्किएर–मस्किएर कति ख्याल–ठट्टाहरू गर्थे । अब त त्यो रमाइलो कथाको रूपमा ती दुवैको मनभरि सम्झनाको शेषमात्र बाँकी छ । जसको सम्झनाले तिनीहरूलाई एउटा सुखद अनुभूति दिन्थ्यो । 

        धेरै समयपछिको भेट । त्यसमाथि त्यही ठाउँ । अतः दुवै निक्कै उत्फुल्ल थिए । दुवैले एक–अर्कालाई मीठा–मीठा कुराहरू सुनाएर बाटो काटिरहेका थिए । 

    औद्योगिक एरिया सिद्धियो । कान चिर्ने औद्योगिक आवाज अब ठ्याम्मै हराइसकेको थियो । 

–मैले तँलाई कति रमाइला कुरा भनेँ, हगी !

–मैले पनि तँलाई कति रमाइला कुरा सुनाएँ !

–अहँ, तँले झुठो कुरा भनिस् ! 

–बरु तँले पो मलाई ठगिस् !

ती दुवै एकअर्कादेखि सशङ्कित भए । अगाडिको बाटोमा ती दुई एक अर्कादेखि परपर मुख हुँदै भेटन थाले ।


इलाकाभित्र

        उसले रोजगारी पाउन सकेन । अथवा उसले रोजगारीको लागि कुनै प्रयास गरेन वा प्रयास गरे पनि कसैको कानसम्म उसको आवाज घन्किन सकेन । कारण त्यो घोषित शान्ति इलाका थियो । त्यस इलाकाभित्र कुनै आवाज उठ्नु शान्ति भङ्ग गरिएको मानिन्थ्यो । किटेर भन्न सकिने कुरामा पढेर पनि ऊ बेरोजगार नै रह्यो । 

        अन्न–पानीको शरीर, एकदिन उसकी आमा थला परी सारङ्गी जस्तो पेट बोकेर । आमाको बिरामी, आफ्नो बेरोजगारी पेटमा भोकको अग्नि आद् कुरालाई कल्पिँदै–कल्पिँदै आमाछेउ निःशब्द रोइरह्यो । छेउको आफ्नो छोरालाई हेर्दै बूढीले आफ्ना अन्तिम घडीका  घुँक्कघुँक्क हिक्काहरू छाडी । वर्दीमा एक पुलिस भित्र पसेर उसकी आमाको मुख थुनिदियो । पुलिसको भनाइ थियो– बूढीले इलाकाको शान्ति भङ्ग गरी । ऊ चुप रहन सकेन । प्रतिवाद गर्यो  पुलिसले उसलाई घाँटी अँठ्याएर न्यायालयमा उभ्याउन लग्यो । त्यहाँ पुगेर पुलिसले अभियुक्तले इलाकाको शान्तिलाई ललकारेको कुरा जाहेर गर्यो । उसले त्यहाँ पनि प्रतिवाद गर्यो । प्रतिवादको सिलसिला नटुुँगिदै उसलाई सजाय दिइयो अथवा उसको आवान झिकियो र त्यहाँबाट फर्काइयो ।

       बाटामा उसले मान्छेहरूसित घरमा आफ्नाी आमा मरिरहेकी र आफूलाई भएको अन्याय सुनाउन मुख चलायो । तर शब्द शून्य । उसको कुरालाई कसैले सुन्न सकेन वा सुनेन । विरक्तिएर ऊ घरभित्र पस्यो र आफ्नी आमाको जिउ छाम्यो । चिसिइसकेको रहेछ । आफूलाई छाम्यो–चिसिँदै गइरहेको पायो । हडबडाएर आमाको देहलाई अँगाल्दै ऊ चिच्यायो–‘........’  

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...