Saturday, 24 August 2024

सुशीला देउजा ः परिचय, प्रवृत्ति र लघुकथा

सुशीला देउजा

 माता, पिता ः लक्ष्मीदेवी खाण, तुङ्गध्वज खाण

जन्ममिति ः वि.स. २००७ फागुन ११

जन्मस्थान ः सिलगढी (डोटी)

लघुकथा कृति ः दोभान (२०६६) एवम् पेटको आगो (२०७६)

कथा कृति  ः प्रयासको पहिलो खुडकिलो (२०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा र यात्रा संस्मरण, २०६४), चारु (२०७०) 

सम्पर्क नम्बर ः ९८४०२३२७८१


प्रवृत्तिहरू ः 

 — राजनीतिक सङ्क्रमणकालका समस्याको प्रस्तुृति ।

— राजनीतिक भ्रष्टाचार, अराजकताप्रति आलोचना

— धर्मका नाममा हुने गलत क्रियाकलापप्रति व्यङ्ग्य। 

—  प्रशासनिक क्षेत्रका अव्यवस्थाको प्रस्तुति ।  

— सरकारी कार्यालयबिचको समन्वयको अभाव । 

—नयाँ पुस्ताको आत्मकेन्द्रित, स्वार्थी गतिविधिका साथै जेष्ठ नागरिकका पीडाको अभिव्यक्ति । 

— व्यक्ति पात्रका असामान्य गतिविधिले उत्पन्न विसंगतिको अभिव्यक्ति । 


बिकाउ दुलहा

मागेजति पैसा र गरगहना नदिएकाले जग्गेमा बसिसकेको दुलहा उठेर जन्ती सहित फिर्ता जान तयार भयो । दुलहीको बुबा चिन्तित भए । उनले दशतिर हात जोडी बिन्तीभाउ गर्दै बल्लतल्ल भनेजति पैसा जम्मा गरेर बुझाए । नगद हातमा परेपछि मात्र विवाह सम्पन्न भयो । दुलही लिएर दुलहा आफ्नो घर फिर्ता भयो । घर अगाडि पुगेपछि दुलाहा गाडीबाट ओर्लियो । उसले दुलहीलाई पनि गाडीबाट ओर्लिन भन्यो तर दुलही नओर्लिकन त्यतिकै गाडीभित्र बसिरही । 

“किन नओर्लिएकी ? घर आइपुग्यो ।” दुलहाले भन्यो ।

“भूइँमा खसेको त्यो जुत्ता मलाई लगाइदेउ त !” दुलहीले अह्राइ । 

“किन तिमी आफै लगाउन सक्दिनौ ?” अचम्म मानेर भन्यो । 

“सक्छु, तर मैले किन आफै लगाउने ? जीवनभरका लागि मेरो सेवा गर्न भनेर नै बुबाले तिमीलाई नोकरको रुपमा यत्रो पैसा दिएर किन्नुभएको छ । त्यसैले आजदेखि मेरो सम्पुर्ण काम तिमीले नै गर्नुपर्छ ।”

दुलहीले घुम्टो खोलेर भनी ।

बिकाउ दुलहा भने जिल्ल परेर हेरिरह्यो ।  

तातो रगत

लामो बसयात्राले थाकेको यात्रुहरूलाई मध्यरातमा एउटा सानो बस्तीमा उतारियो । हरेकपल्ट यस ठाउँमा खानेकुरा खान बस रोकिन्छ । सबै जनाले चियानास्ता खाए । खासमा गन्तव्यस्थल धेरै टाढा थिएन । यो चियानास्ता खाएको ठाउँ बेँसीमा थियो भने अब यहाँबाट खतरनाक पहाडी बाटो शुरू हुन्थ्यो । यात्रुहरू सबै आआफ्ना सिटमा गई बसे तर ड्राइभरको केही अत्तोपत्तो थिएन । सबैतिर खोजे । कहीँ पाइएन । भात खाएर केही यात्रु त्यतै कतै बास बसे भने कोही बसमै थिए । चिसो रात बिच बाटोमा अलपत्र पारेर के गरेको होला ? ठेगानमा पुर्याइदिएको भए सबै आआफ्नो घरमा गई आरामले त सुत्न पाउँथे । कति दुःख दिन सकेको ? भन्दै यात्रुहरू फत्फत गर्दै थिए ।

कति जना उसलाई खोजिरहेकै थिए । खोज्दै जाँदा रक्सी खाँदै केटीसँग गफ्फिएर बसेको भेटियो । खोज्न जानेहरूले उसलाई गाली गरे,“हामी चाहिँ जाडोमा बसमा कुरिरहने ? तपाईँ चाहिँ यहाँ खाना खाँदै गफ लगाएर बस्ने । कति दुःख दिन सकेको । ल छिटो हिँड्नुस ।” भन्दै रिसाउँदै बसतिर लागे । उसै त रक्सीले उम्लेको तातो रगत, त्यसमाथि केटीको अगाडि गरिएको अपमानको चोटको पीडा । उसलाई असह्य भयो । रिसले आँखै देखेन । रन्थनिँदै बसमा आएर भन्यो, “जस जसलाई माथि जान हतार छ, यस बसमा आउनु । हतार नभएका यात्री बस्नू ।” ड्राइभरको कुरा सुनेर कोही आए, कोही आएनन् । यात्रु लिएर ऊ उकालो लाग्यो । अघिको तातो रगत सेलाएको  थिएन । उसको मनमा बदलाको डरलाग्दो आगो सल्किरहेथ्यो । निकै माथि पुगेपछि एउटा खतरनाक मोडमा उसले जानीजानी बसलाई खोलातर्फ मोड्यो ।  

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...