Tuesday, 20 August 2024

अगीब बनेपाली ः परिचय, प्रवृत्ति र लघुकथा

अगीब बनेपाली
वास्तविक नाम ः त्रैलोक्यमान बनेपाली 
माता÷पिता ः रापती बनेपाली ÷ईश्वरीमान बनेपाली
जन्ममिति ः वि.स. २०२६ पुस १
जन्मस्थान ः इताछेँ टोल–१, भक्तपुर

पहिलो प्रकाशित लघुकथा ः नेपालभाषा साहित्य तःमुञ्ज्या पत्रिका, भक्तपुरमा २०५०, अङ्क १, पूर्णाङ्क १, प्रकाशित ‘विसङ्गति’ लुघकथा

लघुकथा कृति ः शुभयात्रा (२०६०) एवम् अन्तिम आग्रह (नेपाली र नेपाल भाषा दुवैमा, २०६२) 

पुरस्कार÷सम्मान ः द रेयुकाइ नेपालबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगिता (२०५८) मा तेस्रो एवम् राष्ट्रिय जागरण मञ्च, पोखराबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगिता (२०६२) मा द्वितीय स्थान प्राप्त
सम्पर्क नम्बर ः ९८४१३७१६६३

थप परिचय ः
—नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य 
—नेपाली एवम् नेपाल भाषामा स्नातकोत्तर, दुवै भाषामा समान रुपले कलम चलाएको ।
—नेपाल भाषामा स्नातकोत्तर शोधमा लघुकथा सम्बन्धित अनुसन्धान गरेको ।
—प्राध्यापन सेवामा संलग्न रहिसकेको

प्रवृत्तिहरू ः 
 — राजनीतिक विसङ्गतिप्रति आलोचना ।
—द्वन्द्वकालीन समयको त्रासदी चित्रण ।
— निरंकुशताविरोधी चेतना ।
—सामाजिक क्षेत्रका विकृतिप्रति व्यङ्ग्य । 
—  वर्ग, जाति, लिङ्गका आधारमा भेदभाव गर्ने प्रवृत्तिको आलोचना ।  
—शिक्षा, स्वास्थ्य, साहित्य एवम् सांस्कृतिक जीवनका अनेकन गलत पक्षप्रति आलोचना । 
— समाजमा पूँजीवादी चिन्तनले उत्पन्न गरेका कुप्रभावको प्रस्तुति । 
— व्यक्ति पात्रका विसंगतिको चिरफार ।
—सम्वादात्मक शैलीको प्रयोग ।

दौड प्रतियोगिता
महाकालीदेखि मेचीसम्मको दौड सुरु हुन लागेको थियो । भाग लिएका प्रतियोगीहरू एकसेएक नाम कहलिएका व्यक्तिहरू थिए । कोही पूर्वेली, कोही पश्चिमेली, कोही पहाडी त कोही हिमाली भेगका । ती सबै प्रतियोगीहरू स्वच्छ र दागरहित थिए । प्रतियोगीहरूले आआफ्नो ठाउँ अनुसारका भेष लाएर आएका थिए । 

दौड सुरु भयो । सबै प्रतियोगीहरू आफ्नो बलबुताले दौडिन थाले । दौडिँदै जाँदा बिच बाटोको एक ठाउँमा लेखिएको थियो–लुगा फुकाल्नुहोस् । सबै प्रतियोगीहरूले लुगा फुकालेर पुनः दौडिन सुरु गरे । धेरै प्रतियोगीहरूले दौड बिचैमा परित्याग गरे । केही अझै बढ्दै थिए, बाटामा अर्को एउटा कार्ड लेखिएको थियो । यो अन्डरवियर बाँकी गरेर सबै फुकाल्नुहोस् । बचेखुचेका प्रतियोगीहरू मुखामुख गरेर जीउमा सिङ्गो अन्डरबियर मात्र लगाएर केही प्रतियोगी अघि अगाडि बढे । देशको नाकामा फेरि अर्को कार्ड लेखिएको भेटियो–ल अब बाँकी सबै फुकाल्नुहोस् र  आफ्नो लक्ष्य भेटाउनुस् ।

यहाँ पुगेका प्रतियोगीहरूले भुक्तभोगी भइसकेकाले हो कि के हो, फटाफट फुकालेर कसैको वास्ता नगरी नाका काटेर नाङ्गै दौडिरहे । दौड प्रतियोगिता नेपालले आयोजना गरेको भएता पनि पुरस्कार दिल्ली सरकारले दिने प्रावधान थियो । पुरस्कार थियो–झन्डावाल कुर्ची ।  


हिसाब मिलेन्
“आमा, मलाई हजुरले मन नपराईपराई जन्माउनु भएको हो ?” आफ््नो बाह्र्रवर्षे छोरीको प्रश्नले आमा अक्कनबक्क पर्छे । आमा टोलाउँदै राम्ररी छोरीलाई नियाल्छे । “हैन छोरी  ! हरेक आमाले आफ्नो सन्तानलाई जन्माउन नौ महिना कोखमा राखेर निके पीडा सहेर जन्माएको हुन्छ । चाहे त्यो छोरा होस् या छोरी ।” आमाको कुरा सुनी छोरी टोलाउँछे । 

उनी एउटा सवालको जवाफ खोज्न उन्मुख थिइन् । जुन सवालले उनको जीवनमा प्रत्यक्ष प्रभाव पारिराखेको थियो । उनकी आमा सामाजिक सेवामा केही अग्र्रसर थिइन् । उनी महिला समूहकी हर्ताकर्ता थिइन् । बुबा चाहिँ दिनभर गाउँ चाहाथ्र्यो, तास खेल्यो बस, दिन काट्थ्यो । उनको भाइ बोर्डिङ स्कुलमा पढ्न जान्थ्यो । उनको सवाल यहीदेखि जन्मेको थियो । आमाले उत्तिकै दुःख गरेर जन्माएका सन्तानहरू भए पनि ऊ किन सरकारी स्कुलमा ?

“हिसाब मिलेन ।” उनको मुखबाट निस्क्यो । उनलाई अरू धेरै कुराले गर्दा मनमा असन्तोष उब्जिएको थियो । उनले हिसाब गरिन्, कुनै सन्तुलन भेट्टाइनन् । 

रातमा सबै परिवारले खाना खाएपछि उनका बुबा चुरोट तान्दै थिए, आमा भोलिका लागि तरकारी केलाउँदै थिइन् । भाइ मस्तले बुबासँग सुतिसकेको थियो । उनी जुठो मोल्दै उही हिसाबमा लागिन् ।

”बुबा ! हिसाब मिलेन...” छोरीले हिसाब बुबालाई दिँदै भनी ।

”छोरीको काम–बिहानै सबेरै उठनु, दैलो लिपपोत गर्नु, चिया पकाएर बुबा आमा र भाइको सिरानीमा पुर्याउनु, लुगा धुनु, पानीपँधेरो गर्नु, सोत्तर सोहर्नु, गृहकार्य गर्नु, आमाबुबासँग सुत्न नपाउनु.....“ बुबाले पढिसकेर आामचाहिँको मुख हेर्यो । 

”छोराको काम–नौ बजे उठनु, सिरानीको चिया खानु, गाउँ चाहार्नु, तास खेल्नु, बोर्डिङ स्कुल जानु, बुबाआमासँग सुत्न पाउनु......।” बुबाचाहिँले केही सङ्कोच मान्दै आमालाई फेरि हेर्यो । आमा र बुबालाई छोरीले राम्ररी नियाली ।

”हिसाब मिलेन, बुबा आमाको कुनै हिसाब मिलेन.... ।” बुबाको अनुहारको रङ्ग उड्यो । आमाको अनुहारमा केही राहत भएपनि गम्भीर मुद्रा थियो । आमाले छोरीलाई आफ्नो काखमा राखिन् । आमाले बिहानको छोरीको प्रश्नको अर्थ बल्ल चाल पाइन् । उनको आँखामा आँसु छल्कियो । 

”भोलिदेखि छोरी पनि बोर्डिङ स्कुलमा जान्छे, बुझ्नुभो ।” आमाले छोरीको निर्दोष मुहार हेर्दै दृढ स्वरमा भनिन् ।     

 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...