Wednesday, 21 August 2024

देवा अधिकारी ः परिचय, प्रवृत्ति र लघुकथा

देवा अधिकारी

 माता, पिता ः गंगादेवी पोखरेल, महेशरमण पोखरेल

जन्ममिति ः २०२६ असोज शुक्ल पञ्चमी

जन्मस्थान ः इनरुवा–९, बलाहा सुनसरी

पहिलो प्रकाशित लघुकथा ः मनोभाव साहित्यिक मासिकमा २०५६ असारमा प्रकाशित नारीमुक्ति लघुकथा

लघुकथा कृति ः भुटुन (२०७६)

सम्मान÷पुरस्कार ः गोरखापत्र संस्थानद्वारा आयोजित लघुकथा प्रतियोगिता २०७३ मा दोस्रो स्थान ।

सम्पर्क नम्बर ः ९८४२१३८०९८

प्रवृत्तिहरू ः 

 — सामाजिक यथार्थको प्रस्तुति÷विकृतिप्रतिको आलोचना

— मानिसका चरित्रमा देखिएका कमजोरकिो उद्घाटन ।

— मानिसको स्वार्थी, आडम्बरी चरित्रको चित्रण  । 

— मानवीय मूल्यको विघटनका साथै नैतिक विचलनप्रति चिन्ता ।  

—राजनीतिक विकृतिको चित्रण । 

—सरल भाषाको प्रयोग । केही कथामा बिम्ब, प्रतिकको प्रयोग ।

— पात्र चयनका सन्दर्भमा अमानवेत्तर पात्रको प्रयोग । 


सिटामोल र भेटेनरी

“साने, आज स्कुल नजा है, टमीलाई भेटेनरी लैजानु छ ।” शर्माजीले घरमा काम गर्ने केटोलाई बिहानै सूचना दिए ।

“आज पनि टाउको दुखेको छ अङ्कल । आज म स्कुल जान पनि सक्तिनँ, भेटेनरी भोलि जाउँला न, हुन्न ?” सानेको निन्याउरो अनुहार देखेर शर्माजीलाई अर्कै पीर  पर्यो  । पोहोर  साल पाँच हजार रुपियाँमा किनेर ल्याएको बेलायती छाउरो केही दिनदेखि ख्यासख्यास गर्दै थियो । आज त नियमित भ्याक्सिन पनि लगाउनु थियो । साने भए छाउरो लान र ल्याउन सजिलो हुने भएकोले शर्माजीले उसलाई फकाए । 

“हिँड न हिँड, फर्कँदा तेरो टाउको दुखेको औषधी पनि किनिदिउँला नि ।”

छाउरोको ख्यासख्यासको कारण पत्ता लगाउन अनेक परीक्षण गर्दा र औषधी किनेर फर्किँदा धेरै ढिला भयो । सानेको औषधि त कुरै मात्र भयो । उसको टाउको झन्झन् दुख्दैथियो ।

घर गएर दुईचार पटक उल्टी गरेपछि केही नखाई साने घुप्लुक्क सुत्यो । श्रीमती शर्माले उसको निधार छाम्दा हनहनी ज्वरो आएको थाहा पाई । इमर्जेन्सी पो लानुपर्छ कि भनी शर्माजीलाई भनिन् ।

शर्माजीले भने, “यहाँ आएर यो बाबुसाहब भएको छ । दायाँबायाँ अलिकति काम बढी भयो ज्वरो आइहाल्छ । यसलाई त एकदुई पटक उल्टी आउँदैमा आत्तिनुपर्दैन । औषधिको बट्टामा सिटामोल होला, निकालेर खान देऊ न, निको भैहाल्छ नि ।”


अपुरो धोको

“सबै लुगाफाटा मुसाले खाइसक्यो । नयाँ लुगा पनि जतन गर्न सकिएन । लौन एउटा दराज त ल्याउनैपर्यो  जसरी पनि” श्रीमती भान्साबाटै लेखनमा व्यस्त श्रीमानसँग गुनासो गर्दैथिइन् ।

“छोराको फी र यो महिनाको रासनमै सबै पैसा सकियो । पर्खन, कते कागताली पर्यो भने किलौँला न ।” श्रीमानले सम्झाए ।

नभन्दै साहित्यमा राम्रो सेवा गरे बापत श्रीमानले दस हजार रुपैयाँको पुरस्कार पाउने खबर पाएपछि यस पटकको एकमुष्ट रकमले जसरी पनि दराज किन्ने कुरामा दुवै सहमत भए ।

पुरस्कार थापेपछि उसले पुरस्कार वितरण समारोहबाट घर जाने बेलामा पुरस्कार रकम श्रीमतीको ब्यागमा राख्न दिएको थियो । सबैको बधाईको पात्र ऊ साथीहरूका माझ घेरियो । त्यस बेलुकी सानोतिनो जलपान गराउन पर्ने प्र्रस्ताव केही साथीहरूले एकै मुखमा राखे र त्यतैबाट एउटा मध्यम स्तरको होटलमा छिरे । चियापानको नाममा साथीहरूले बियर र मासु मगाए । उसले आफ्नो लागि एउटा कोल्ड ड्रिङ्क मात्र मगायो । रात धेरै परिसकेको र चिनेको होटल हुनाले हिसाब गरेर बिल घरमै पठाइदिनू भन्दै ऊ घरतर्फ लाग्यो । 

आज त दराज ल्याउने दिन भन्दै सबैभन्दा छिटो उठेर श्रीमतीले झोलामा कोचेका लुगाबाट दराजमा राख्ने खालका लुगाहरू छुट्याइन् । दराज भित्र्याउने बित्तिकै लुगा थान्को लगाउन उनी आतुर थिइन् । त्यसपछि हतारहतार खाना खाएर श्रीमानश्रीमती फटाफट घरबाट निस्किए । बिच बाटोमा होटलबाट आएको फुच्चे केटाले बिल थमायो । रु. छ हजारको बिल देखेर उसको अनुहार निलो भयो । घर पुगेपछि श्रीमतीले दराजमा राख्न भनी छुट्टयाएका लुगा पिलपिल गर्दै फेरि झोलामै कोच्न थालिन् ।      


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...