Saturday, 24 August 2024

रामकुमार पण्डित क्षेत्री ः परिचय, प्रवृत्ति र लघुकथा

रामकुमार पण्डित क्षेत्री 

मातापिता ः नारायणी क्षेत्री, विनोदकृष्ण पण्डित क्षेत्री

जन्ममिति ः  वि.स. २०३२ साउन १ 

जन्मस्थान ः काठमाडौं महानगरपालिका–६, सिमलटार (बौद्ध)

पहिलो प्रकाशित लघुकथा ः भानु मासिकमा २०७० जेठ महिनामा वर्ष ५१, अङ्क २, पूर्णाङ्क १५३ मा प्रकाशित डढेँलो लघुकथा 

लघुकथा कृति ः देशको खोजी (२०७१)

—आन्तरिक लेखापरीक्षक तथा लेखा कन्सल्ट्यान्टको रूपमा विभिन्न सङ्घसंस्थामा कार्यरत ।

—सुलेख पत्रिकामा सम्पादक,  मध्यान्ह राष्ट्रिय दैनिक साहित्यिक पृष्ठ संयोजक भएर कार्य गरेको ।

सम्पर्क नम्बर ः ९८४१४१६८०७

प्रवृत्तिहरू ः 

 — राजनीतिक विसङ्गतिको विरोध ।

— समाजमा रहेको देखावटीपन, आडम्बर, ठगीपूर्ण क्रियाकलापको आलोचना ।

— सामाजिक सञ्जालमा देखिने शक्तिपुजक प्रवृत्तिको प्रस्तुति । 

— अन्यायमा परेका बालबालिका एवम् नारी जीवनप्रतिको सम्वेदना । 

—साहित्यिक विकृतिको विरोध ।

— सम्वादात्मक शैलीका साथै व्यङ्ग्यात्मक अभिव्यक्ति ।  


सामन्ती

राजनेताले खुलामञ्चको भरिभराउ जनमानस अगाडि भाषण गर्दै थियो– ”फलानो हर्षमान साहू सामन्त.....।”

यो वाक्य पूरा हुँदा नहुँदै हतारिँदै आएर एउटा सहयोगीले उसको कानमा केही कुरा खुसुक्क भन्यो ।

“हर्षमान साहुले भने जति चन्दा द्यो ।”

त्यसपछि राजनेताले भन्यो–“....हो भनेर भनिहाल्न मिल्दैन । हर्षमानलाई सामन्ती जस्तो बनाउन मुट्ठीभरका मान्छेहरू चाहिँ सामन्ती हुन् । हर्षमान त हाम्रो देशको ठूलो समाजसेवी हो ।...”

राजनेताको भाषण सुनेर उपस्थित भीडले तरर्रर ताली पड्काए । 


ठूलो साहित्यकार

उसले दर्जनौं साहित्यिक कृतिहरू लेख्यो । कसैले वास्ता गरेनन् । पाठक कम भएको मुलुकमा सर्वसाधारणले उसलाई चिन्ने त सवालै भएन । पुराना साहित्यिक हस्तीहरूले पनि उसलाई भाउ दिएनन् । दिउन पनि कसरी ? ठूलालाई आदर गर्नु भनेको ऊ चाकडी गर्नु हो भन्ने सम्झन्थ्यो । अनि कतिपय ठूला भनाउँदाहरू पनि यताउताका रचना चोरचार गर्यो , त्यसमा एक, दुई शब्द जोरजार गर्ने गर्थे । उनीहरू उसको साहित्यबारेमा अनभिज्ञ थिए । 

एक दिन प्रलय भयो । हिमाल समुद्रसँग झुक्यो भनेजस्तै भयो । ठुला दाइको आर्शीवादले उसले महत्वपूर्ण पद पायो । त्यसपछि त उसलाई भेटघाट गर्नेको ओइरो लाग्यो । 

उसले लेखेका प्रत्येक साहित्यिक रचनाहरूका केस्राकेस्रा केलाएर समालोचना छापिन थाले । साहित्यिक मञ्चहरूमा उसकै चर्चा चल्न थाले । रातारात ऊ पनि देशको ठूलो साहित्यकार बन्यो ।  


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...