Sunday, 4 August 2024

पूर्णप्रसाद ब्राह्मण ः परिचय र लघुकथा

पूर्णप्रसाद ब्राह्मण
  माता÷पिता ः रुक्मिणीदेवी दवाडी र देवीदत्त दवाडी        जन्ममिति ः वि.स.१९६९ असार हरिशयनी एकादशी         जन्मस्थान ः गोरखा जिल्लाको काफ्लडाँडा                            पहिलो लघुकथा ः वि.स १९९२ को ‘शारदा’ पत्रिकामा वरदान’ कथाबाट                                                                              लघुकथा कृति ः झिल्का  (२००७)  एवम् एकतिस कथा (२०४१)


प्रवृत्तिहरू ः
—आदर्शोन्मुख यथार्थवादी धाराको लेखन ।  
—आध्यात्मिक नैतिक आदर्शको खोजी । 
—मानवतावादी चिन्तनका कथाकार 
—अर्थको अन्योक्तिमूलक तहमा पुगेर परिकथामा झैं  पशुपंक्षीका साथै अमूर्त पात्रलाई अघि सार्ने कथाकार । 
 —प्रकृतिलाई मानवीय रुप प्रदान गरेर चरित्रको निर्माण गरेर आफ्नो विचार राख्ने कथाकार ।
 — सामाजिक अन्धविश्वास, बालविवाह, जातिय भेदभाव, सामाजिक कलह, अन्याय अत्याचारको विरोधका साथौ अशिक्षाप्रतिको विरोध 
 —मानवीय सम्वेदनाको प्रचुर प्रयोग ।
 —मानवीय जीवनका विवशता, चिन्ता, कुुन्ठा, पश्चाताप, घृणा, करूणा, सहानुभूति र सम्वेदनाका भावको प्रस्तुति —यथार्थलाई आदर्शको रुपमा प्रस्तुत गर्ने क्रममा नैतिक मूल्य स्थापनाको चाहना अभिव्यक्त ।
—आदर्श समाज स्थापनाका निमित्त जीवन–जगतमा रहेका खराब पक्षको परित्याग एवम् असल मूल्यको खोजी ।
— जीवनलाई आदर्शका रुपमा प्रस्तुत एवम् सोही अनुरूप पात्रविधान एवम् परिवेशको सिर्जना ।

विशेष पक्ष ः राजनतिज्ञ, समाजसेवी ।


लघुकथाहरू

थोक व्यापार
हुकुमी शासन गयो, तर त्यसको स्वाद कहाँ गएको छ र, के मालिक, के नोकर ! उनीहरूलाई आजकल यति नरमाइलो छ 
        अरुको अगाडि मालिकले खिस्रिक्क हाँसेर हेर्दा आफ्नु कत्रो धाक थियो । लुटको धन फूफुको श्राद्ध  ? अझ केही पाएको दिन त कुरै भएन ? चः चः अब ती दिन गए ?  चिन्तामग्न भएर यति विचार गरेपछि मदनले तुरन्त एउटा बिन्तिपत्र गुप्ती तौरले मालिककहाँ पठाए–“अब हाम्रो चाकडी प्रथालाई दुनियाँले मन पराएन  यसलाई मिटाई नै दिने कि रुपान्तर गरिदिने ?”
        विन्तिपत्रको जवाफ–“विन्तिपत्रबाट खुसी भयौं । हाम्रो सम्बन्ध पुरानै छ । तिमीले भनेजस्तै रुपान्तर गर्न पर्यो । संघको जमाना छ, संगठन गर । आम चुनावमा काम देखाउन सक्यौ भने......। ढोकामा आइरहनु पर्दैन ।”
        मदनले विशाल जनसमूहमा भाषण दिँदै भने–“भाइ हो, निरंकुश राणाशाहीको खुनी पञ्जाबाट मुक्त भयौं । तर देशमा धेरै काम बाँकी छ । आउनुहोस्–संगठित हुनुहोस् ।” इत्यादी ।


सेवा
        ईश्वरले मानवलाई राति आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव ! तँ कर्म गर ।”
        
        त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार  गर्यो, अन्वेषण ग¥यो–वास्तवमा कर्म के हो, पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँडियो, आबादी गर्यो, चित्त बुझेन । ओडार खोप्यो, कुटी बनायो, गाउँ सहर बसायो, तैपनि चित्त बुझेन–“वास्तवमा कर्म के हो ?”
        अनन्त वर्षपछि अज्ञात भएर मानव मन्दिरका देवताहरू कहाँ गयो र सोध्यो–“वास्तवमा कर्म के हो ?”
         उनीहरूले जवाफ दिए–“तिमी त जान्दैनौ, तिमीले कुँदेका हामी के बताउँ ? ‘कर्म यो हो’ हामी त ढुङ्गा न हौं, चेतन र वाक् त तिमीसँगै छ, यति पनि तिम्रै भावनाले पो बोलेको त !”
        फेरि केही समयपछि आव्हलविव्हल मानवले सबै शास्त्रहरूलाई जम्मा गरेर सोधे– “वास्तवमा कर्म के हो ?”
        उनीहरूले पनि त्यस्तै जवाफ दिए–तिमी त जान्दैनौ ? हामी त तिमीले तुनेका गन्थन न हौं ? के जानौ–कर्म यही हो भनेर । हामी त जड अक्षर न हौं । चेतन र वाक् त तिमीसँगै छ, यति पनि तिम्रै उन्मादले बोलेको पो त !
      
        जब मानव निराश भएर अन्धकारमा सुतिरहेको थियो–दयावती उषाले  प्राचीनको स्वर्णद्वार खोलिन् र उज्यालो करसंकेत दिँदै उसलाई भनिन्–“मानव ! वास्तवमा कर्म के हो, प्रकृतिसँग सोध ।”
        मानवले पृथ्वीसँग सोध्यो–“वास्तवमा कर्म के हो ?”
        उनले भनिन्–“सेवा”
        त्यस्तै अप, तेज, वायु, आकाशसँग पनि मानवले सोध्यो– “वास्तवमा कर्म के हो ?”
       ती सबैले पनि एकै स्वरमा भने–सेवा । अनि मानवले पत्ता पायो, यो संकीर्ण, संदिग्ध विश्व समस्यामा वास्तव कर्म के रहेछ । 






 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...