Wednesday, 21 August 2024

रामविक्रम थापा ः परिचय, प्रवृत्ति र लघुकथा

रामविक्रम थापा

माता, पिता ः तुलमाया थापा , सैनध्वज थापा
जन्ममिति ः वि.स. २०२६ पुस २५
जन्मस्थान ः बाम्राङ–८, खोटाङ
पहिलो प्रकाशित लघुकथा ः मिर्मिरे मासिकमा वि.स. २०५२ मा प्रकाशित मान्छेको मोल लघुकथा ।
लघुकथा कृति ः पात्रहरू  (२०५५)
सम्पादन ः प्रतिभा साहित्यिक वार्षिक पत्रिका ।
सम्पर्क नम्बर ः ९७५३००४३६०
थप परिचय ः 
—पहिले गाविस सचिव पछि शिक्षण सेवामा सक्रिय ।
—खोटाङमा साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक गतिविधिमा संलग्न ।

प्रवृत्तिहरू ः 
 — समाजमा रहेको सामन्ती चिन्तन एवम् संस्कारप्रति व्यङ्ग्य । 
— धनसम्पतिलाई प्र्रमुखता दिने पुँजीवादी संस्कृतिको विरोध । 
—राजनीतिक विसङ्गतिको आलोचना ।  
— साहित्यिक क्षेत्रका विकृतिको चित्रण । 
—सम्वादात्मक शैली । 
— उखानटुक्काको प्रयोग । 

मौसमी रङ्ग
सानैमा पढेको कवि शिरोमणि लेखनाथको ”सत्य–सन्देश” कविताबाट साह्रै प्रभावित भएर जीवनभर उसले त्यही अनुसरण गर्यो  । जस्तो र जुनसुकै मौसमलाई पनि सहर्ष स्विकार गर्दै ऊ समयलाई निसंकोच मान्छ । त्यसैले होला, सायद उसलाई दुनियाँले “मौसममान” भन्छ । 
                                                                    •••
धरतीलाई लत्याउँछ र आकाशको आरधना गर्छ । ऊ आकाश हेर्छ, एकपटक ढोग्छ र अनायस स्वशरीरको रङ्ग बदल्छ । त्यो दिर्घकालीन आकाश–सारा पहेँलो  थियो र मौसममान केरा पाकेझैं मात्र होइन, तोरी फूलेजस्तै पँहेलपुर भयो । कतिले जन्डिसकै आशंका गरे पनि आखिर ऊ स्वस्थ र तन्दुरुस्त थियो । 
                                                •••
गड्याङ–गडुङ गर्दै चट्याङ–चुटुङमा मेघ गर्जयो, हात्तीसूँढे पानी बर्जयो र बदलीपछि निर्मल आकाश इन्द्रेणी भयो । अनि मौसममानले सातै रङ्ग धारण गर्यो  । रुप बदल्ने मौसम न हो–आकाश अचानक सागजस्तै हरियो भयो र मौसममान पैतालादेखि टुप्पीसम्म हरियो भयो । फेरि आकाश सिम्रिकजस्तै रातो देखियो र हत्तपत्त ऊ पनि रगतजस्तै रातो रङले लेपियो । 
                                                                    •••
अझै एकपटक आकाश हरियो भयो र ऊ पुनः पहिलेकै रङ्गमा हरिइयो । घुम्दै–फिर्दै रुम्जाटार भनेजस्तै आकाश फेरि बेसारजस्तो पहेँलियो र समय–सापेक्ष मौसममान शुद्ध सुनतुल्य पँहेलो भयो ।
                                                            •••
परिवर्तनशील ढङ्गहरूका विविध रङ्गहरूमा ऊ बदलियो र बदलिरह्यो । सदा पवित्र मौसममान यसरी नै सफलताको सोपान चढ्यो र चढिरह्यो । 

नेतृत्व विकास
उसको चिप्लो भाषण र मीठो आश्वासनमा लट्ठ भएर नै जनताले आफ्नो अमूल्य मतदान गरेर उसलाई नेता चुनेका हुन् ।

आफ्नै श्रीमतीको अध्यक्षतामा उसले एउटा सामाजिक क्लब गठन गरी दर्ता गराएर सबै छोराछोरीलाई सदस्य बनायो । आम जनतालाई उत्प्रेरित गराएर जनश्रमदानकै भरमा क्लबको कार्यालय भवन ठड्यायो । सरकारी विकास कोषबाट मागेरै च्यादर लगायो । 

एनजीओ र आईएनजीओबाट क्लबलाई प्राप्त आर्थिक अनुदानले आफ्नो नाममा खेतबारी किन्यो । अनि एकदिन क्लबको आवश्यकता नरहेको भाषण गरेर जनश्रमदानबाटै उक्त भत्काउन लगाई त्यो च्यादर लगेर आफ्नो घरको छानो छायो । ढुङ्गा, माटो र काठ लगेर एउटा गतिलो मतान बनायो । 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...