![]() |
| गणेश श्रमण |
वास्तविक नाम ः गणेशराज शर्मा
मातापिता ः भीमकुमारी शर्मा, रामप्रसाद शर्मा
जन्ममिति ः वि.स. २०३० भाद्र १५ गते
जन्मस्थान ः कुर्घा, पर्वत
हाल ः चितवन
पहिलो प्रकाशित लघुकथा ः बागिश्वरी पत्रिकाको अङ्क ११, २०६० मा प्रकाशित जीवन लघुकथा
लघुकथा कृति ः गुलियो काठमाडौं (२०७५)
पुरस्कार, सम्मान ः चितवन साहित्य परिषदले गुलियो काठमाडौं कृतिका लागि कृष्णकृष्णा साहित्यिक पुरस्कार (२०७६) लक्ष्मण अर्यालसँग संयुक्त रूपमा ।
थप परिचय ः
—शिक्षण सेवामा आबद्ध ।
—चितवनमा रहेर साहित्यिक–सांस्कृतिक गतिविधिमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४५०४५९५४
प्रवृत्तिहरू ः
— राजनीतिमा बढ्दै गएको अपराधिकरणप्रति चिन्ता ।
— भ्रष्टाचार, ढिलासुस्ती, आत्मप्रशंसामुखी क्रियाकलापको आलोचना ।
—साहित्यिक विकृतिप्रति व्यङ्ग्य ।
— धर्मका नाममा हुने गरेको ठगी एवम् अनैतिकताप्रति छेड प्रहार ।
—पारिवारिक जीवनका समस्याको प्रस्तुति ।
— मानवीय सम्वेदनामा ह्रासप्रति चिन्ता ।
— व्यङ्गात्मक चेतनाको प्रस्तुति ।
—सुत्रात्मक शैलीको प्रयोग
परम्परा
उसले घर छाड्यो ।
घर त एक दिन सबैले छोड्छन् तर उसले त घरमात्र होइन, वृद्ध आमाबुवालाई पनि एक्लै छाड्यो ।
पाँच वर्षअघि उसको विवाह भयो । विवाहपछि घरको वातावरण अर्कै भयो । सासुबुहारीको मध्यमवर्गीय परम्परागत सम्बन्ध त्यस घरमा पनि देखिन थाल्यो । आमाको विचारमा विवाहपछि छोरा आफ्नोभन्दा श्रीमतीको बढी भयो । उसले सकभर मिलाउन खोज्यो । श्रीमतीलाई कम बोल्न र सहनशील हुन जोड दियो ।
आफ्ना बुवाआमासँगको सम्बन्ध थप नबिग्रियोस् भनी उसले घर छाड्यो । हुन त उसको सानो छोराको पढाइका लागि पनि उसले गाउँ छाडी सहर पस्ने निर्णय गरेको थियो ।
...................................................................................................
उसको त्यही एउटा छोराको एक महिनाअघि विवाह भयो र आजै मात्र आमाबुवालाई छाडी अन्तै गयो ।
छोराले घर छोडेको रात उसले पनि पच्चीस वर्ष अघि त्यसरी नै आफूले घर छोडेको माथिको घटना सम्झन पुग्यो ।
गुलियो काठमाडौं
ऊ राजधानी जाने तयारी गर्दै थियो । घरका साना छोराछोरीहरूले बाबुसँग काठमाडौं घुम्न जाने भनेर जिद्दी गरे । श्रीमतीले पनि विवाह भएको वर्षौँ बित्दा पनि काठमाडौं घुमाउन नलगेकोमा दुखेसो पोखिन् । उसले अहिले हतारमा काम विशेषले काठमाडौं जान परेको र पछि फुर्सदमा सबैलाई घुमाउन लैजाने बरू यसपालि मिठाई ल्याइदिने भनेर फकाएर ऊ काठमाडौं हिँड्यो ।
एक हप्तापछि काम सकेर घर फर्कने बेलामा घरका छोराछोरीलाई सम्झियो र एक पोका गुँदपाक किनेर झोलामा हाल्यो । घरमा पुगेपछि आफूलाई घेरेर झोला तानिरहेका आफ्ना केटाकेटीलाई त्यही पोको दियो । केटाकेटीहरूले जीवनमा पहिलोपटक मीठो मानीमानी हात चाट्दै, जिभ्रो फट्कार्दै गुँदपाक खाए । बाबु चाहिँले खुसी भएर सोध्यो–‘कस्तो रहेछ त काठमाडौं ?’
‘बा ! काठमाडौं त गुलियो रहेछ... ।’ उनीहरूले जवाफ फर्काए ।
‘दोस्रो पटक पनि हतारले ऊ काठमाडौं हिँड्नुपर्यो । यसपटक त जसरी नि सँगै जान्छौं भनी पिरालिरहेका केटाकेटीलाई केही ल्याइदिने वाचा गरी ऊ विदा भयो । यसपटक उसले खासाका स्वीटर, ज्याकेट र टोपी ल्याइदियो । जाडो भएकाले छोराछोरीले खुसी हुँदै झोलाबाट तानी आआफ्नै कपडा लगाइहाले । बाबुचाहिँले सोध्यो, ‘कस्तो लाग्यो त काठमाडौं ?’
‘बा ! काठमाडौं त न्यानो र नरम लाग्यो ।’ छोराछोरीले एकैसाथ भने ।
यो पटक भने अचानक ऊ काठमाडौं हिँड्नुपर्यो । बिहानै झिसमिसेमै ऊ हिँडेकाले सुतिरहेका छोराछोरीले बाबुसँग केही गुनासो गर्नै पाएनन् । बाबु गइसकेको कुरापछि आमाले भनेर मात्र थाहा पाए । उनीहरू आफू निदाएको समयमा बाबु काठमाडौं गएकाले खल्लो र नरमाइलो माने । यसपालि के नयाँ कुरा ल्याइदिने आसामा दिनभरि बुवा आउने बाटो कुर्न थाले ।
यता काठमाडौंबाट फर्किँदै गरेको एउटा बस उर्लिरहेको त्रिशूलीमा खसेर बेपत्ता भयो ।
मान्छेहरू त के कुरा, सिङ्गै बस समेतको पत्ता लागेन ।
कसैलाई थाहा छैन्.....! छोराछोरीहरूलाई अब काठमाडौं कस्तो लाग्यो....!

No comments:
Post a Comment