Thursday, 22 August 2024

गणेश श्रमण ः परिचय, प्रवृत्ति र लघुकथा

गणेश श्रमण

वास्तविक नाम ः गणेशराज शर्मा
मातापिता ः भीमकुमारी शर्मा, रामप्रसाद शर्मा
जन्ममिति ः वि.स. २०३० भाद्र १५ गते
जन्मस्थान ः कुर्घा, पर्वत
हाल ः चितवन
पहिलो प्रकाशित लघुकथा ः बागिश्वरी पत्रिकाको अङ्क ११, २०६० मा प्रकाशित जीवन लघुकथा 
लघुकथा कृति ः गुलियो काठमाडौं (२०७५)
पुरस्कार, सम्मान ः चितवन साहित्य परिषदले गुलियो काठमाडौं कृतिका लागि कृष्णकृष्णा साहित्यिक पुरस्कार (२०७६) लक्ष्मण अर्यालसँग संयुक्त रूपमा ।
थप परिचय ः
—शिक्षण सेवामा आबद्ध ।
—चितवनमा रहेर साहित्यिक–सांस्कृतिक गतिविधिमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४५०४५९५४

प्रवृत्तिहरू ः 
— राजनीतिमा बढ्दै गएको अपराधिकरणप्रति चिन्ता ।
— भ्रष्टाचार, ढिलासुस्ती, आत्मप्रशंसामुखी क्रियाकलापको आलोचना ।
—साहित्यिक विकृतिप्रति व्यङ्ग्य । 
— धर्मका नाममा हुने गरेको ठगी एवम् अनैतिकताप्रति छेड प्रहार ।  
—पारिवारिक जीवनका समस्याको प्रस्तुति । 
— मानवीय सम्वेदनामा ह्रासप्रति चिन्ता । 
— व्यङ्गात्मक चेतनाको प्रस्तुति ।
—सुत्रात्मक शैलीको प्रयोग
 
परम्परा
उसले घर छाड्यो ।

घर त एक दिन सबैले छोड्छन् तर उसले त घरमात्र होइन, वृद्ध आमाबुवालाई पनि एक्लै छाड्यो ।

पाँच वर्षअघि उसको विवाह भयो । विवाहपछि घरको वातावरण अर्कै भयो । सासुबुहारीको मध्यमवर्गीय परम्परागत सम्बन्ध त्यस घरमा पनि देखिन थाल्यो । आमाको विचारमा विवाहपछि छोरा आफ्नोभन्दा श्रीमतीको बढी भयो । उसले सकभर मिलाउन खोज्यो । श्रीमतीलाई कम बोल्न र सहनशील हुन जोड दियो । 

आफ्ना बुवाआमासँगको सम्बन्ध थप नबिग्रियोस् भनी उसले घर छाड्यो । हुन त उसको सानो छोराको पढाइका लागि पनि उसले गाउँ छाडी सहर पस्ने निर्णय गरेको थियो ।
...................................................................................................
उसको त्यही एउटा छोराको एक महिनाअघि विवाह भयो र आजै मात्र आमाबुवालाई छाडी अन्तै गयो । 

छोराले घर छोडेको रात उसले पनि पच्चीस वर्ष अघि त्यसरी नै आफूले घर छोडेको माथिको घटना सम्झन पुग्यो । 


गुलियो काठमाडौं
ऊ राजधानी जाने तयारी गर्दै थियो । घरका साना छोराछोरीहरूले बाबुसँग काठमाडौं घुम्न जाने भनेर जिद्दी गरे । श्रीमतीले पनि विवाह भएको वर्षौँ बित्दा पनि काठमाडौं घुमाउन नलगेकोमा दुखेसो पोखिन् । उसले अहिले हतारमा काम विशेषले काठमाडौं जान परेको र पछि फुर्सदमा सबैलाई घुमाउन लैजाने बरू यसपालि मिठाई ल्याइदिने भनेर फकाएर ऊ काठमाडौं हिँड्यो ।

एक हप्तापछि काम सकेर घर फर्कने बेलामा घरका छोराछोरीलाई सम्झियो र एक पोका गुँदपाक किनेर झोलामा हाल्यो । घरमा पुगेपछि आफूलाई घेरेर झोला तानिरहेका आफ्ना केटाकेटीलाई त्यही पोको दियो । केटाकेटीहरूले जीवनमा पहिलोपटक मीठो मानीमानी हात चाट्दै, जिभ्रो फट्कार्दै गुँदपाक खाए । बाबु चाहिँले खुसी भएर सोध्यो–‘कस्तो रहेछ त काठमाडौं ?’ 

‘बा ! काठमाडौं त गुलियो रहेछ... ।’ उनीहरूले जवाफ फर्काए ।

‘दोस्रो पटक पनि हतारले ऊ काठमाडौं हिँड्नुपर्यो । यसपटक त जसरी नि सँगै जान्छौं भनी पिरालिरहेका केटाकेटीलाई केही ल्याइदिने वाचा गरी ऊ विदा भयो । यसपटक उसले खासाका स्वीटर, ज्याकेट र टोपी ल्याइदियो । जाडो भएकाले छोराछोरीले खुसी हुँदै झोलाबाट तानी आआफ्नै कपडा लगाइहाले । बाबुचाहिँले सोध्यो, ‘कस्तो लाग्यो त काठमाडौं ?’ 

‘बा ! काठमाडौं त न्यानो र नरम लाग्यो ।’ छोराछोरीले एकैसाथ भने । 

यो पटक भने अचानक ऊ काठमाडौं हिँड्नुपर्यो । बिहानै झिसमिसेमै ऊ हिँडेकाले सुतिरहेका छोराछोरीले बाबुसँग केही गुनासो गर्नै पाएनन् । बाबु गइसकेको कुरापछि आमाले भनेर मात्र थाहा पाए । उनीहरू आफू निदाएको समयमा बाबु काठमाडौं गएकाले खल्लो र नरमाइलो माने । यसपालि के नयाँ कुरा ल्याइदिने आसामा दिनभरि बुवा आउने बाटो कुर्न थाले । 

यता काठमाडौंबाट फर्किँदै गरेको एउटा बस उर्लिरहेको त्रिशूलीमा खसेर बेपत्ता भयो ।
        
         मान्छेहरू त के कुरा, सिङ्गै बस समेतको पत्ता लागेन । 

कसैलाई थाहा छैन्.....! छोराछोरीहरूलाई अब काठमाडौं कस्तो लाग्यो....!    
 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...