![]() |
| डा.रवीन्द्र समीर |
वास्तविक नाम ः डा. रवीन्द्र पाण्डेय
माता÷पिता ः विमला पाण्डेय÷तेजनारायण पाण्डेय
जन्ममिति ः वि.स. २०३० जेठ २५
जन्मस्थान ः धुर्कोट, गुल्मी
पहिलो प्रकाशित लघुकथा ः कान्तिपुुर कोसेली मा वि.स. २०५० मा प्रकाशित नारा लघुकथा ।
लघुकथा कृति ः तेस्रो आँखा (२०५३), पोष्टमार्टम (२०६२), विकिरण (२०६३), ईश्वरका कथा (२०६५), अर्जुुनदृष्टि (२०६७), अणुु र पहाड (२०६८), एकलव्य दृष्टि (२०७२) एवम् व्यङ्ग्यम् शरणम गच्छामी (सन् २०१४)
सम्मान, पुरस्कार ः प्रथम राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिता (२०५४) मा प्रथम एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अर्जुनदृष्टि लघुकथा कृतिका लागि पद्मश्री पुरस्कार (२०६७)
सम्पर्क नम्बर ः ९८५१०५९९९२
थप परिचय ः
—प्रजनन तथा बाल स्वास्थ्य विशेषज्ञ ।
—लघुकथा समाजमा संस्थापक सचिव ।
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिको आलोचना ।
— सामाजिक जीवनका विकृत परिवेशप्रति व्यङ्ग्य ।
—आधुुनिक सभ्यताका नाममा विकृत नेपाली समाजको चित्रण ।
— नेपाली लघुकथामा एकै विषयमा एक कृति लेख्ने कार्यको प्रारम्भकर्ता ।
— प्रारम्भमा अभिधात्मक शैली भएपनि पछिल्ला समयमा बिम्ब, प्रतिकको प्रयोग ।
—संवादात्मक, प्रश्नोत्तर शैली एवम् मानवीकरणको प्रयोग ।
—पुस्तान्तरणका समस्याको प्रस्तुति ।
—वर्गीय असमानताले उत्पन्न अन्र्तविरोधको प्रस्तुति ।
—वैदेशिक रोजगारका कारण सामाजिक सांस्कृतिक प्रभावको विश्लेषण ।
मुस्कान
बूढाबूढी, केटाकेटी तथा गृहिणी मात्र रहेकोले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
–“कस्तो लाछी लाठे रहेछ । यसो अरबतिर जानु, पैसा कमाउनु ।”
राजुलाई यो वाक्यले बारम्बार ठुँगिरहन्थ्यो । त्यसैले ऋण गरेर भए पनि स्थानिय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।
मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरूत्साहित भयो । उदास भयो । डिप्रेसनको सिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।
श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी–“तपाईँ त कस्तो निष्ठुरी । विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?”
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरूसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हे¥यो, उता हे¥यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पाश्र्वमा गगनचुम्बी महलहरू आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो, कपडा चम्किला भएपनि उसको अनुहार औंसीको रातजस्तै थियो ।
–“कमसेकम फोटो खिच्ने बेलामा एकपल्ट हाँस् ।”
यन्त्रमानवले झैंं यन्त्रवत् चिज–हाँसो हाँस्यो, खिसिक्क ।
उसकी श्रीमती फोटो रहेर दङ्ग परी–“आहा ! मेरा श्रीमान्ले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मिठो मुस्कान !”
मौलिक लेखन
एक प्रसिद्ध लेखक एउटा खँदिलो साहित्यिक लेख लेख्न पलेँटी कसे र खुकुलो बनाए मनमस्तिष्कलाई ।
उनलाई अत्यन्त मौलिक कृति लेख्नु छ । मौलिक रचना गर्नु भनेको चानचुने कुरा होइन । अब के गर्ने ? संसारमा यति धेरै लेखक छन् । लेख्नुपर्ने विषय र शैली सबे लेखिसके, अब के लेख्ने ? कसरी लेख्ने ? लेखकलाई ठूलो समस्या प¥यो ।
उनको मस्तिष्कमा एउटा जुक्ति आयो । प्रसिद्ध कुनै दुई लेखकको शैलीलाई मिसाएर नयाँ शैली बनाउने । गजबको जुक्ति । विषय सबैको एउटै त हुन्छ–प्रेम, जीवन र मृत्यु ।
आफ्नो वरिपरि पुराना नेपाली, ताजा हिन्दी तथा सरल अङ्ग्रेजी पुस्तकहरू एवम् शब्दकोषहरू पूर्ववत् फिँजाए । ती पुस्तकका हरफहरू तलको माथि र माथिको तल पारे । लेखहरू अनुदित भए पनि उनले आफ्नो लेखकीय धर्म अनुसार महत्वपूर्ण कुरा भने मौलिक लेखन बिर्सिएका थिएनन् ।
लेखिसकेपछि आफ्नो हाइब्रिड रचनालाई दङ्दास पर्दै हेरिरहे । गज्जबको मौलिक भयो । यसले केही गर्लाजस्तो छ । पुस्तकको शीर्षक पनि दुई राम्रा कृतिका शीर्षक मिसाएर तेस्रो शीर्षक बनाए । शीर्षक पनि मौलिक लाग्यो लेखकलाई ।
उनलाई सबैभन्दा अमौलिक लाग्यो–आफ्नै नाम । त्यसमा पनि जुक्ति निकाले र नामको पछि सुटुक्क एउटा नयाँ उपनाम राखे ।

No comments:
Post a Comment