![]() |
| सुमन सौरभ |
वास्तविक नाम ः सुमन खरेल
माता÷पिता ः भुवना खरेल÷बालमुकुन्द खरेल
जन्ममिति ः २०२३ मंसीर ३०
जन्मस्थान ः खरेलथोक, काभ्रे
पहिलो प्रकाशित लघुकथा ः साधना त्रैमासिकमा वि.स. ०४५ सालमा प्रकाशित वियोग लघुकथा
लघुकथा कृति ः आधुनिक लघुकथाहरू (२०५२), पराई विचार (२०६५), चौथो लिङ्गी (२०६८), मृत्यु सङ्ग्रह (२०७१) एवम् स्वप्निस्तान (२०७४)
सम्पादन ः नेपाली लघुकथा
पुरस्कार÷सम्मान ः राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार (२०६७), चिसाप पुरस्कार (२०७५)
सम्पर्क नम्बर ः ९८५१०२५१३४
प्रवृत्तिहरू ः
— बौद्धिक एवम् तार्किक लेखनशैली । प्रयोगशील लेखन ।
— राजनीतिक विकृतिप्रति आलोचना ।
— सामाजिक विसङ्गतिप्रतिको आलोचना ।
— प्रशासनिक—आर्थिक क्षेत्रका अराजकताको प्रस्तुति ।
— मानवीय विवशताको चित्रण ।
— आर्थिक अभावका कारण उत्पन्न दीनता, मानिसको हिंस्रक प्रवृत्ति, पुस्तान्तरण, बदलिँदो मूल्यमान्यता र चिन्तनजस्ता विषयको प्रस्तुति ।
–शिक्षा, स्वास्थ्य एवम् विज्ञानसँग सम्बन्धित कथ्य सन्दर्भको प्रस्तुुति ।
— मानवीय अनुभूतिको सुक्ष्म विश्लेषण ।
— मनोविज्ञान एवम् स्वैरकल्पनाको प्रयोग ।
–आधुुनिक सभ्यताका नाममा देखिएका जटिलता एवम् पत्रकारिता क्षेत्रका विसङ्गतिप्रतिको आलोचनात्मक चेत ।
–एउटै विषयसँग सम्बन्धित रहेर सिंगो कृति लेख्ने कृतिकार ।
आशिष्
उनीहरूका पढेलेखेका छोराबुहारी । एउटै अफिसमा दुवैजना जागीरे ।
सरकारी काममा केही दिन बाहिर गएका छोराबुहारी काम सिद्धाएर घर फर्के अरे ।
आमाबुवाले उनीहरू आइपुगेको खबर सुन्न मात्र के पाएका थिए, टुप्लुक्क आफ्नै अगाडि देख्न पाए ।
मर्यादाले नुहेर छोराले बाबुलाई ढोक चढायो । बाबुले उसको टाउकोमा हात राख्दै आशिष् दिए्–“भाग्यमानी भएस् ।”
उसले आमालाई पनि ढोग्यो । आमाले फूलिन् । ”आयुष्मान् भएस्” भन्दै कुम समातेर प्रेमले उठाइन् ।
छोराकै सिकोमा बुहारी पनि आशिष् लिन ससुरातर्फ निहुरिई । ससुराले टाउकोमा हात राखिदिए । केही बोलेनन् । ऊ ससुराबाट हटेर सासुमा निहुरिई । छोरालाई जस्तै कुम समातेर प्रेमले उठाउँदै सासु बोलिन्–“सौभाग्यवती भएस् ।”
आच्या ! यो के हो ? प्रणाम गर्छ छोरा आशिष् पाउँछ छोरो । प्रणाम गर्छे बुहारी, आशिष पाउँछ फेरि उही छोरो । “सौभाग्यवती भएस्” अर्थात् तेरो लोग्ने, जो मेरो छोरो हो, दिर्घायु होस् । बुहारीको लागि त हात लाग्यो शुन्य ।
बुहारी फेरि सासुको अगाडि निहुरिई । सासू जिल्ल परिन् । उसले केही सोच्न पाएकै थिइनन् । बुहरालीले आदरपूर्वक मसिनो आवाज निकाली–“मुमा ! मलाई पनि आशिष् बक्स्योस् न ।”
आदर्श
धेरै दिनपछि आज फेरि उसलाई आफ्नो मरिसकेको पतिको याद आयो । आफ्नो प्यारो पतिको साथमा बिताएका सुखद क्षणका स्मृति र आजको नमीठो पीडाजन्य वास्तविकताले उसको मनलाई विह्वल बनायो ।
ऊ एकाएक उठी र विधवाको बैराग्य पहिरनमा मसानघाटमा पुगी । आफ्नो पतिको चिहानमा सेतो फूलको गुच्छा चढाई र परेली चिसो बनाई–“प्रियतम ! म एक्लीलाई दुःखमा छोडेर कहाँ गयौ ? मलाई पनि सँगै लगेको भए कति बेस हुन्थ्यो ।”
ऊ दुःख मनाउँदै थिई । अचानक हुरी चल्यो । धूलो उड्यो । उसले देखी–उसको पतिको चिहानबाट एउटा मधुरो प्रकाश निस्कियो । प्र्रकाश क्रमशः चहकिलो हुँदै गयो र स्वर्गीय पतिको रूपमा बदलियो ।
“नरोऊ प्रिय ।” ऊ पतिको स्वर सुन्दै थिई–”तिमीले धेरै बिलौना गरिसक्यौ कि मैले ईश्वरको दरबारमा तिमीलाई लगिनँ, एक्लै गएँ । आऊ प्रिय, आऊ, तिम्रो अभावमा म पनि विचलित छु । आऊ, अब सँगै जाऔं ।“
उसको पति दर्दपूर्ण अनुहारमा उसलाई अंकमाल गर्न दुवै हात फिँजाइरहेको थियो ।
उसले झुकेर पतिलाई प्रणाम गरी, दुई कदम पछाडि हटी र बोली–“कहाँ तिमीसँग जानु, घर लथालिङ्ग छ, बरु हिँड तिमी मसँग, घर जाऔं ।”

No comments:
Post a Comment