![]() |
| सुषमा चित्रकार |
माता, पिता ः ज्योतिमाया चित्रकार, बुद्धरत्न चित्रकार
जन्ममिति ः वि.स. २०२० साउन २९
जन्मस्थान ः सुन्धारा, ललितपुर
पहिलो प्रकाशित लघुकथा ः २०६४ असोजमा मधुपर्कमा प्रकाशित अमिलो अंगुर लघुकथा
लघुकथा कृति ः आजका लघुकथा संयुक्त लघुकथा सङ्ग्रह (२०७४)
घाम (२०७५)
कथा कृति ः अनावरण कथा सङ्ग्रह (२०७४)
बालकथा कृति ः नयाँ साथी (२०७०)
थप परिचय ः
—नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कार्यरत ।
— कार्यसमिति सदस्य, लघुकथा समाज ।
सम्पर्क नम्बर ः ९८४१२५२८१६
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिको चित्रण ।
— नारी समस्या एवम् पीडाप्रति सम्वेदनाभावको अभिव्यक्ति ।
— समाजमा नैतिक मूल्यको ह्रासप्रति चिन्ता ।
— जेष्ठ नागरिकका समस्याको प्रस्तुति ।
—साहित्यिक विकृतिको आलोचना ।
—आधुनिक सभ्यताका नाममा हुनेगरेका विकृतिको आालोचना ।
—धर्मका नाममा हुने बेथितिको चित्रण ।
— सम्वादात्मक शैलीको प्रयोग ।
फोटो पत्रकार
उनी नामी फोटो पत्रकार । उनको प्रख्यातिमा लगनशीलता मात्र हैन, फोटोमा पाइने विविधता र विशिष्ताको पनि प्र्रमुख भूमिका हुन्थ्यो । नसोचिएको विषय र दृष्टिकोणबाट फोटो खिच्न माहिर उनको छुट्टै पहिचान हुन्थ्यो ।
आज बिहान झिसमिसेमै उनी क्यामरा लिई निस्के । घरबा केही पर पुग्दा सडकको छेउ फोहरको थुप्रोमा उनको आँखा गयो । बोतल र कुहिएका प्लाष्टिकका पोकाहरूमा कुकुरहरू थुतुनो गाड्दै थिए । “शिट” । उनले नाक बिगारे ।
छरपष्ट फोहरको फोटो खिच्नका लागि उनले क्यामरा झिके । एउटा कुकुरले प्लाष्टिकको पोको चिथोर्यो । बासी चाउमिन भुइँभरि पोखियो । पोको खोस्न अर्को कुकुर आइपुग्यो । हात पार्न दुवैमा छिनाझपटी सुरु भयो । कुकुरका खोसाखोसमा प्लाष्टिकभित्रको अर्को पोको भुइँमा खस्यो । उनी धमाधम फोटो खिच्दै थिए । छेउको पोको चल्मलाएको देखेर कुकुरहरू त्यतिैतिर हानिए । लुछाचुँडीमा प्लाष्टिक च्यातियो । त्यसबाट नवजात शिशुको हात देखियो ।
उनले क्यामरा तेर्साए र कुकुरहरूका माझ निरिह शिशुको जीवन मृत्युको सङ्घर्ष कैद गरिरहे । जीवनको आशा सकियो । उनले क्यामेरा बन्द गरे । पत्रिकामा छापिएपछि ती फोटोले निकै सनसनी मच्चाउने कुरामा उनी निश्चिन्त थिए ।
नभन्दै फोटोहरू छापेको दिन शहर स्तब्ध भयो । प्रशंसा र आलोचनाका मिश्रित वाणीभित्र एउटा बेनामी इमेल पनि थियो ।
“तपाईँले चाहनु भएको भए, शायद शिशु बाँच्थ्यो । मानवताको मूल्यमा खिच्नु भएका यी फोटोहरू केही महङ्गा भएनन् र ?”
घाम
“चोकमा सबैका घर अग्ला भए, हाम्रै मात्र होचो ।” माइती जाँदा आमा सँधै सुनाइरहनु हुन्थ्यो ।
“त्यही त । ऊ बेला, अग्ला घरहरू मध्ये हाम्रो पनि पथ्र्यो ।” उहाँको भनाइसँग सहमत थिएँ ।
“के गर्नु, तिनका पो जग्गा धेरै थिए, बेचे । हाम्रो त के छ र, बेच्नु ।”
“हो नि ।” म भन्थेँ ।
हुन पनि चोकका अधिकांशले आआफ्नो जग्गा करोडौंमा बेचेर अग्ला घर ठड्याए । हरेक पटक माइती जाँदा कुनै न कुनै घर अग्लिरहेकै हुन्थ्यो ।
बुवा पक्षघातका बिरामी । उहाँलाई छाडेर आमा आफूमात्र घाम ताप्न बाहिर निस्कने कुरा भएन । त्यसो त कोठामा हिटर नभाको पनि कहाँ हो र ? बेलाबेलामा बत्ती नै गएपछि के लाग्थ्यो । पहिले कोठा, कौसीमा मनग्गे घाम आउने भएर होला, जाडोले त्यति सताएझैं मान्नु हुन्नथ्यो । अहिले जति घर बढे, उति जाडो बढ्यो ।
“जोरिपारि जता हेर्यो, पहाडझैँ अग्ला घरहरू छन्, अरूका घर पनि मनिप्लान्टजस्ता, हलक्क बढिरहने । आफ्नो त न मनिप्लान्ट । न घर नै बढ्यो । कोठाको कुनामा पटक्कै नबढेको मनिप्लान्टप्रति पनि आमाको गुनासै हुन्थ्यो ।
घर अग्लाउन नसकेकोमा भन्दा पनि आफ्नो कौसीमा लाग्ने घाम छेलिएकोमा उहाँ बढी दुखेसो गर्नुहुन्थ्यो । “कोठामा साह्रै ठिहिर्याउँछ । एक झुल्को घाम पनि ताप्न गाह्रो भो !”
धेरै दिनपछि माइती पुगेँ । आमा झ्यालमै हुनुहुन्थ्यो ।
“यस्तो चिसोमा, झ्यालमा के गर्दै हुनुहुन्छ ।” मेरो प्रश्नमा खास्टोबाट मुख बाहिर निकाल्दै उहाँले भन्नुभयो, “घाम ताप्दै ।”
छक्क परेँ । घामले दर्शनै नदिने झ्यालतिर हेर्दै हासेँ, “खै कहाँ छ र घाम ?”
”ऊ पर ।” उहाँले सङ्केत गर्नुभएको दिशातिर नजर दौडाएँ । चोकको कुनामा फेरि अर्को घर अग्लिँदै थियो र त्यसको फराकिलो कौसीभरि लागेको पारिलो घाममा आमाका दृष्टि टाँसिएका थिए ।

No comments:
Post a Comment