![]() |
| आर. आर. चौलागाई |
वास्तविक नाम ः रेवतीरमण चौलागाई
माता÷पिता ः यमुनादेवी चौलागाईँ एवम् इन्द्रप्रसाद चौलागाईँ
जन्ममिति ः वि.स. २०१८ चैत्र ११
जन्मस्थान ः सुन्दरपुर, सिन्धुपाल्चोक
हाल ः हेटौंडा, मकवानपुर
लघुकथा कृति ः विघटनको तयारीमा (२०६५)
पुरस्कार ः पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान (२०८१)
थप परिचय ः
विद्यार्थी राजनीतिमा संलग्न रहेर जेल जीवन बिताएको ।
सामाजिक आन्दोलनमा संलग्नता ।
हेटौंडामा रहेर साहित्य लेखन एवम् साहित्यिक पत्रकारिताका क्षेत्रमा सक्रिय ।
लामो समय सरकारी सेवामा रहे। हाल स्वतन्त्र लेखनमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४५३५१०००
प्रवृत्तिहरू ः
— राजनीतिक विसंगतिप्रति व्यङ्ग्य ।
— साहित्यिक क्षेत्रका विकृतिप्रति आलोचना ।
— आर्थिक, प्रशासनिक क्षेत्रका भ्रष्टाचारको विरोध ।
— शैक्षिक क्षेत्रका विकृतिको आलोचना ।
— पत्रकारिताका नाममा हुने ठगी कार्यको आलोचना ।
—व्यक्ति पात्रका गलत प्रवृत्तिको आलोचना ।
— सुत्रात्मक एवम् सम्वादात्मक शैली।
— व्यङ्ग्य एवम् विद्रोहचेतको समुचित प्रयोग ।
जुलुस
एकदिन मेरो घर अगाडिबाट एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए ः
‘गजेन्द्रे चोर, देश छोड ।’
‘हत्यारा गजेन्द्रेलाई फाँसी दे ।’
मैले छिमेकीलाई ‘के भयो ?’ भनेर सोधेँ । उनले भने–‘गजेन्द्रे गुन्डाले आज एउटी केटीको बलात्कार गरेर मारेछ । त्यसैको जुलुस हो ।’
जुलुसको नेतृत्व मेरै टोलका श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।
यो घटना घटेको लगभग छ महिनापछि मैरे घर अगाडिबा फेरि एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए–
‘यो जित कसको ? जनताको ।’
‘ जनता कसको ? गजेन्द्रको।’
मैले तिनै छिमेकीलाई ‘के भयो ?’ भनेर सोधेँ । उनले भने– ‘गजेन्द्रबाबुले चुनाव जितेछन् । त्यसैको जुलुस हो यो ।’
जुलुसको नेतृत्व मेरै टोलका तिनै श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।
शिष्टाचार
ऊ गुरु रामनाथलाई निकै आदर गथ्र्यो । भन्ने गथ्र्यो ऊ–‘रामनाथ गुरु मेरो श्रद्धेय पात्र हुनुहुन्छ । उहाँबाटै मैले साउँअक्षर सिकेँ । उहाँले नै मलाई छात्रवृत्ति मिलाइदिनुभयो । जीवनभरको निम्ति म वहाँप्रति ऋणी छु ।’ त्यसैले त ऊ रामनाथ गुरुलाई जहाँ भेटे पनि दुई हात जोडेर दण्डवत् गथ्र्यो ।
उसले प्रवेशिका उत्तीर्ण ग¥यो र कलेज पढ्न थाल्यो । अब भने उसमा अलिअलि परिवर्तन आउन थाल्यो । रामनाथ गुरुलाई भेट्दा ऊ दुई हात जोडेर नमस्ते गर्ने मान्छे अब एउटै हातले काम चलाउन थाल्यो । उसले स्नातक गर्यो । अब एउटा हात पनि उठाउन छोडेर मुखले मात्रै नमस्ते भन्न थाल्यो । डिग्री सिध्यायो । ऊ रामनाथ गुरुलाई मुखले पनि नमस्ते भन्न छोड्यो र भेट्दा पनि नचिनेझैं गर्न थाल्यो ।
आज ऊ प्रोजेक्टमा काम गर्छ । महिनामा पचासौं हजार खान्छ । ठूलो घर छ । सुन्दर श्रीमती छे । कार चढेर हिँड्छ । मोबाइल बोक्छ । उसँग के छैन ? सबथोक छ ।
धेरै वर्षपछि उसको भेट रामनाथ गुरुसँग भयो । उसको उन्नति देखेर गुरु खुसी देखिन्थे । तर उसले उसलाई गुरुलाई चिनेर पनि चिनेन । रामनाथ गुरुसँग बोल्दा उसको इज्जत जाने कुरा उसले सोच्यो । कुनै वास्ता गरेन । मुन्टो बटारेर हिँड्यो । बेलुकी श्रीमतीसँग भन्दै थियो ऊ–‘म यति ठुलो मान्छेलाई भेट्दा पनि नमस्ते नगर्ने ? साला रामनाथे !’

No comments:
Post a Comment