![]() |
| कैलाशकुमार शिवाकोटी |
मातापिता ः रमादेवी शिवाकोटी, तिलोचन शिवाकोटी
जन्ममिति ः वि.स. २०३१ जेठ २९
जन्मस्थान ः मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–६, आइतबारे
लघुकथा कृति ः विस्थापित शुक्रराज (२०७०)
थप परिचय ः
—राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत ।
—मानवअधिकार शब्दकोषका लेखक ।
सम्पर्क नम्बर ः ९८४१६८४४४३
प्रवृत्तिहरू ः
— राजनीतिक विसङ्गतिप्रति आलोचना ।
— सामाजिक विभेद एवम् अन्यायको विरोध ।
— नारी जीवनका पीडाको अभिव्यक्ति ।
— जेष्ठ नागरिकका समस्याको प्रस्तुति ।
—प्रशासनिक क्षेत्रका विकृतिको चित्रण ।
—नवीन भाषिक प्रयोग ।
— व्यङ्गात्मक चेतनाको प्रस्तुति ।
अव्यक्त अभिलाषा
रहर, चाहना, इच्छा समयअनुसार पलाउँछन्, समय बितपछि झर्छन् । कहीँ कतै नियमले हावा खान पनि सक्छ । एक दिन नातिलाई सर्कसको दुनियाँमा जाँगर चल्छ । आफ्नो इच्छाले मृत्युवरण गर्नु नपरोस् भनी ऊ सोचाइको पोखरीमा हामफाल्छ । रुखको दुलोबाट चिबे चरी फुत्त निस्केझैं उसको दिमागमा पनि नयाँ सूत्र छिर्छ....हजुरबालाई पनि प्रत्यक्षतः यस महान अभियानको खेलाडी बनाउने । नाफाघाटामा केलाउँदा उसको हातमा एक काज दूई पन्थ पर्ने भो । हजुरबालाई अगाडि सारेपछि घरबार बिना बयान, बिना झन्झट प्रस्थानको लागि अनुमतिपत्र जारी हुने, कुनै मै हुँ भन्ने मुलङ्खरेले पनि “फुच्चे” भनेर मानमर्दन वा अन्य लफडा गर्न हिम्मत नगर्ने । यदि कुनै दशारीलाई दशाले कुत्कुत्याइहालेमा हजुरबाको चाँदे खाइहाल्ने ।
आफ्नो भागलाई बिना नाइँनास्ती हजुरबाले सहमति जनाउने विश्वासमा नातिले प्रस्तावको रहस्य खोल्यो–“हजुरबा ! आज सर्कसको दर्शन गर्न जाऔं न ।”
बाको जाँगर चल्मलाएन । अल्छी शैलीमा जवाफ फर्कियो–“हेर नाति ! म डाँडामाथिको घाम भइसकेको छु । आज हो कि भोलि हो, थाहा छैन । ज्यान नै धरापमा छ, हिँड्न पनि महाभारत नै हुन्छ, तँ जा ।”
पहिलो गाँसमै ठूलै ढुङ््गा । उसले दोस्रो तर अलिक आकर्षक योजना अगाडि सा¥यो–“हजुरबा ! सर्कसको दुनियाँमा त दामी दामी, अजङ्गका बाघभालु सहितका जङ्गली जनावर दर्शन गर्न सौभाग्य जुर्छ ।”
तैपनि बूढालाई तातो लागेन । अनिच्छुक भाव प्रकट गरे–“भैगो, छोड्दे ।”
तर नातिले हार मानेन । फेरि अर्को जाल बिछ्यायो–“हजुरबा, त्यहाँ बाघभालुको जमघट मात्रै होइन, बूढापाकामैत्री खेलहरूको व्यवस्था पनि छ ।”
यति गर्दा पनि हजुरबामा जाँगर उम्रिएन । नातिले ह्याट्रिक गरिसक्यो, तीनतीनओटा प्रस्तावमा फेल भएर । तैपनि जहाँ इच्छा त्यहाँ उपाय । अर्को आकर्षक बम्पर उपहारसहितको प्रस्ताव पेश ग¥यो–“हजुरबा, यी मैले भनेका त खुद्रामसिना कुरा मात्र हुन् । कडी कुराको रहस्यात्मक बाकस त मैले उघारेकै छैन । पल्लाघरका बाले भनेको अझ त्यहाँ त छोटाछोटा कपडा लगाएर दामी–दामी ठिटीहरू नाच्छन् रे ।”
वाक्य अधकल्चो रहेकै अवस्थामा हजुरबा आगोको सुङाइमा परेको नौनीझैं लतक्कै पग्ले । ओइलाएको अनुहारमा चमक भरियो । बाले भाका मिलाउँदै आफ्नो स्वार्थ अगाडि सारे–“ल ठीकै छ, बडो जिद्धिवाल रहिछस् । नाति परिस्, नजाऊँ भनेको मनले मानेन, तेरै लागि भए पनि जानै प¥यो । बरु चाँडो गर, नत्र अहिले अबेर गरेर फर्किँदा रातले भिलेन खेल्छ ।”
फरक मृत्यु
उखरमाउलै तवरले हल्लीखल्ली भयो । सञ्चारमाध्यमले पनि जोरसँग फलाके–“पाँचको निधन, सिङ्गो देश शोकाकुल ।”
सरकार पनि आगोमा तताएको ताप्केझैं तात्यो । शोक विज्ञप्ति जारी गर्दै महिनादिने प्रतिवेदन टोलीको घोषणा गर्यो । मृतकको बिमा लगायतका विषयमा चियोचर्चो गर्न कुनै कन्जुस्याइँ गरेन । सबैलाई सरकार भएको अनुभूति भयो । एक प्रकारले मृत्यु विशिष्ट प्रकृतिको थियो ।
दशा अनि महादशा–अघिल्लो दिनको दुःखद शोकमा थलिएको मुलुकमाथि भोलिपल्ट थप शोक बज्रियो–“ ३५ जना ठहरै, २० भन्दा बढीको ज्यान धरापमा, ५ जनाको अवस्था फत्रयाकफत्रयाक ।”
नेताको हल्का चह¥्याएको टाउकोको उपचार । नामी समाचार बन्यो तर माथिको महापीडादायक विषयक खासै समाचारको लागि लायक ठहरिएन । सरकारी हेराइमा पनि घटना दैनिकभन्दा बढी केही थिएन, खस्नु थियो, खस्यो । शोक वक्तव्य समिति गठन, बीमा, उपचार त स्यालका सिङ नै भइगए । रहस्य थियो–“पहिलो दिन भाग्यमानी जहाज दुर्घटनामा परेको थियो भने दोस्रो दिन अभागी यात्रुबाहक बस ।”

No comments:
Post a Comment