Saturday, 17 August 2024

श्रीओम श्रेष्ठ ‘रोदन’ ः परिचय, प्रवृत्ति र लघुकथा

श्रीओम श्रेष्ठ
वास्तविक नामः श्रीओम श्रेष्ठ
माता, पिता ः बेलकुमारी श्रेष्ठ, शिवकुमार श्रेष्ठ
जन्ममिति ः २०१९ कार्तिक १५ गते लक्ष्मीपुजा
जन्मस्थान ः झम्सिखेल, ललितपुर
पहिलो प्रकाशित लघुकथा ः २०४६ मा सौरभ पत्रिकामा प्रकाशित त्यो बालक लघुकथा
लघुकथा कृति ः आँखीझ्याल (२०५७) र भ्रममार्ग (२०६७)
सम्पादन ः शुभारम्भ (२०५५), सञ्चयन (२०५५), सारांश (२०५८), मधुपर्क लघुकथा विशेषांक (२०५६ र २०७२) एवम् नेपाली लघुकथा (अंक एकदेखि निरन्तर)
सञ्योजन ः प्रथम राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५४) र दोस्रो राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५५)
पुरस्कार÷सम्मान ः मनुमुक्त मानव स्मृति लघुकथा गौरव सम्मान (सन् २०१९) भारत
सम्पर्क नम्बर ः ९८४१९४३२९४
थप परिचय ः 
लघुकथा समाजका अध्यक्ष
गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक

प्रवृत्तिहरू ः 
— राजनीतिक क्षेत्रका विकृतिको चित्रण ।
— सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य । 
—मानवीय सम्वेदनाको प्रस्तुति ।
—नरनारी सम्बन्धका विविध पक्षको उद्घाटन । 
— परनिर्भरता एवम् नैतिक मूल्यको विघटन । 
—धर्म एवम् न्यायकानुन क्षेत्रका विसङ्गतिप्रति व्यङ्ग्य ।
—साहित्य एवम् कलाको उपेक्षाप्रति चिन्ता ।
— व्यति पात्रको विसंगतिको चित्रण । 
—संवादात्मकता ।
—शिर्षकमा छोटोपना, अभिधात्मक लेखनशैलीको प्रभाव, व्यङ्ग्य एवम् सन्देशमूलकता । 
— हस्तलेखनको नवीन प्रयोग । 

संवेदना
अस्पतालमा सनाखत हुन नसकेको युवकको लासको हुलियासहित प्रचार–प्रसार भयो । 

समाचार पढेर सुन्ने छोरो हराएर जति आमाबाबुहरूको अस्पतालमा भीड लाग्न थाल्यो ।
 
युवक–लास हेर्न आउनेहरू रूँदै बिलौना गर्दै थिए–

“छोरा, तिमीलाई के भएको थियो र घर छोडेर हिँड्यौ ?”

“हरे ! तिमीले भनेकैसँग विवाह गरिदिन्थ्यौं नि !”

“हे भगवान ! तिमी त्यस्तो होलाऊ भन्ने सपनामा पनि सोचेका थिएनौं !”

“कति ठूलो सपना बनाएका थियौं, सब भताभुङ्ग भयो ।”

लासको अनुहार हेरेर छोरो पत्ता लगाउन अस्पतालका कर्मचारीले उपस्थित आमाबुबाहरूलाई अनुरोध गरे । 

आफ्नो छोरो ठानेर आत्तिँदै आएका आमाबुबाहरू लासको अनुहार हेर्नासाथ चुप लाग्दथे र हाँस्दै फर्कन्थे ।

अनुहार हेर्न बाँकी रहेकाहरू भने अझ बढी सशङ्कित हुन्थे र अनुहार हेर्नासाथ खुसी हुन्थे । यही क्रम अन्तिम आमाबुबासम्म चल्यो र युवकको लास फेरि बेवारिस बन्यो ।

डिभीप्रेम
प्रमाणपत्र पास भएपछि रामअवतार पढ्नलाई काठमाडौं आएको थियो । उसले सशितालाई मन पराएको थियो । घरको आर्थिक अवस्था राम्रो नभएकोले उसले सुरूदेखि सरकारी क्याम्पस पढ्नुपरेको थियो । काठमाडौंमा राम्रो कोठा लिनसक्ने अवस्था नभएकोले गल्लीभित्रको अँध्यारो छिँडीमा डेरा जमाएको थियो । 

काठमाडौं आएपछि पनि रामअवतार फेसन अनुरूपको बन्न सकेको थिएन । तर पनि जीवनमा पहिलो पटक मन पराएकी सशितालाई आफ्नो भावना राखेको थियो । उसको प्रस्तावलाई सशिताले सबै साथीहरू जम्मा गरेर “भैया ! मै तुमको बहुत प्यार करती हुँ ।” भनेर बेलाबेलामा लाजमर्दो पारिदिएकी थिइन् ।

केही महिनापछि एकदिन रामअवतार क्याम्पसबाट घर फर्कँदै थियो । उसलाई एक्लै देखेर सशिला पछिपछि लागिन् । आफ्नो पछिपछि सशिता आइरहेकी देखेर रामअवतार निकै डराइरहेको थियो । एकान्त ठाउँमा पुगेपछि सशिता हतारिँदै आइन् । त्यतिन्जेलमा रामअवतार कुटाइ खाने डरले निक्कै आत्तिसकेका थियो । सशिताले मुस्कुराउँदै उसको हात समातिन् । र बन्द खाम दिँदै फटाफट अगाडि बढिन् ।

रामअवतारलाई सपना जस्तो लाग्यो । ऊ धेरैबेरसम्म अलमलियो र हतारिँदै कोठामा गयो । चिठी खोल्यो । चिठीमा सशिताले विगतका लागि क्षमा माग्दै विवाह गर्ने शर्त राखेकी थिइन् । अकस्मात सशितामा आएको परिवर्तनले ऊ तीनछक्क प¥यो । ऊ खुसीभन्दा बढी आश्चर्यमा परेको थियो । त्यहीबेला उसले सम्झ्यो, केही दिन पहिले क्याम्पसमा एक जना साथीले केटीहरूलाई सुनाउने गरी उसलाई अमेरिकाका डिभि परेको भन्दै बधाई दिएको ।




No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...