(शशिकला शर्माको जन्म वि.सं. १९८८ असोज फुलपातीका दिन काठमाडौ, भोटाहिटीमा गीवार्णनाथ नेपाल र शारदादेवी नेपालकी सुपुत्रीका रूपमा भएको हो । उनको उसको सुरुवाल (२०१९) कथा कृतिमा केही लघुकथा समावेश छन् । उनले वि.सं. २०१५ सालबाट स्वास्नीमान्छे नामक नारीप्रधान पत्रिकाको सम्पादन र प्रकाशन गरेको पाइन्छ । उनले उदय पत्रिकाको पनि सम्पादक भएर कार्य गरेको पाइन्छ । उनको मृत्यु २०६३ जेठमा भएको थियो । )
लघुकथाहरू
जप
रामेकी आमालाई खुब चटारो लागेको थियो । चार बजे उठेर घरकुचो लाई ढोका पोती भाँडा चोख्याई र पशुुपति जान आँटी । उसले “प्याउलीलाई घरमै छोडेर जान्छु” भनेको त लोग्ने जङ्गिदै करायो, “लैजा ए तेरी आमालाइ । सक्तिन म यो हेर्न !”
रामेकी आमाले प्याकुलीलाई बुईमा हाली अलिकति चामलमा पोको पारी र पशुुपतितिर लागी । पशुुपतिका चारैतिर माग्नेहरूको धुइरो थियो । मान्छेहरू माग्नेहरूलाई “छैन, छोला भनेको, छुन नहुने भनेपछि त अलि पर त हटनुपर्छ” भनेर गाली गर्दै नजिकैको साँढे र देउताको मूर्तिलाई पैसा र अछेता चढाइरहेका थिए ।
रामेकी आमा गौरीघाट गएर नुहाउन लुगा फुकाली, प्याकुलीको मुख धोएर उसलाई खोलाको डिलमा राखेर नुहाउन गई । ऊ नुुहाएर आउँदा छोरी त पाखामा छैन, त्यसको वरपर दुई–तीन बुुढी जप गरेर बसिरहेकी थिइन् । उसले अतालिंदै “नानी ! नानाी” भनेर बोलाई । कतैबाट पनि आवाज आएन । अनि यौटी जप गर्न लागेकी बूढीले सान गरेर पानीतिर देखाई । रामेकी आमाले आतिदैँ पानीतिर हेरी । बरा प्याकुली त पानीमा डुबुल्की मार्दै रहिछ । उसको चुल्ठोको रातो धागो फुत्रुक फुत्रुक उफ्रिरहेको । आमा चाहीं दर्गुदै गएर “मेरो बाबा” भनेर अङ्गालो हाली ।
छोरी पाखामा ल्याएर रामेकी आमाले फत्फताई, “कस्ता पापीहरु ! त्यसरी बालख डुब्दा पनि नभन्ने, कस्तो हरि नभएको मान्छे !”
रामेकी आमाले फतफत सुनेर यौटी “शान्ताकारम्....” भन्दै उठेकी बुढी च्याँट्ठिई “त अब भगवानको चिन्तन गर्न लागेको बेलामा पनि विषयमा लाग्नु, जप गर्न लागेको बेलामा पनि उठ्न हुन्छ ? हेर्नुपर्छ आफ्ना छोराछोरीलाई राम्ररी ।”
जाँदा र आउँदा
तीनधारा पाठशालामा छिँडीमा बस्ने आईमाईले सानी डेढ वर्ष जतिकी छोरीलाई पिटेको देख्दा हिँडने बटुवाका पनि छाती रहेन । सबै टक्क अडिएर त्यो दृश्य हेरिरहे । कसैले बुझ्न सकेनन् । आमाचाहिँ छोरीलाई लौ मर्, लौ मर्, लौ मर् भनेर भकुरिरहेकी थिई मानौं आईमाईको ह्दयबाट मातृत्व भन्न वस्तु नै शुन्य भए जस्तो थियो । छोरीचाहिं ‘पापाने’ भन्दै रुँदै कुटने आमासँग टाँसिन्थी । धेरै बेरको लडन्तपछि आमाचाहिँ हुर्रिदै भित्र गई र आफ्नो सामल राख्ने हाँडी झिकेर भैंमा चकनाचुर पारी । अनि दर्गुदै आएर छोरीलाई अँगालो हालेर रुन थाली । दर्शकहरू जिल्ल पर्दै “हैन, यो आइमाईको मगज खुस्केको ता हैन ?” भनेर हिँडे ।
झण्डै घन्टा जति सहरमा काम सकेर आउँदा फेरि त्यै छिँडीबाट टाढैसम्म सुनिने गरेर कराएको आवाज आइरहेको थियो, म पनि त्यै ठाउँमा पुगेँ र फेरि तमासा हेर्न थालेँ । भित्रबाट लोग्नेमान्छे चाहिँ चिच्याइरहेको थियो । ‘यो राँडीले अझै भात नपकाएकी ए ! मरी–मरी काम गरेर थाकेर आयो भान्सा रित्तै । राँडीलाई बिहान त्यसरी पुजा गरेर गएको पनि केही काम लागेन । पख त, तँ राँडीलाई देशै काटेर जान सकिँन भने ।’
स्वास्नीचाहिं गहभरि आँसु लिएर छोरी डोर्याएर, ठिङ्ग उभिई राणाको पर्खालबाट च्याएर उसको तमासा हेरिरहेका नासपातीलाई हेरिरहेकी थिई ।

No comments:
Post a Comment