Friday, 16 August 2024

नवराज रिजाल ः परिचय, प्रवृत्ति र लघुकथा

नवराज रिजाल

माता÷पिता ःदेवी रिजाल÷ठाकुरप्रसाद रिजाल

जन्ममिति ः वि.स. २०२२ जेठ २९

जन्मस्थान ः बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१२, स्वाभिमान बस्ती

पहिलो लघुकथा ः मातृभूमि साप्ताहिकमा वि.स. २०३९ मा प्रकाशित  पागलको चाहना लघुकथा 

लघुकथा कृति ः अदृश्य पीडा (२०५७), माटो खोज्दै (२०६७)

कथा कृति ः विखण्डित प्रवाह (२०६३)

पुरस्कार÷सम्मान ः सुगन्ध लघुकथा पुरस्कार (२०५१)

मनुमुक्त मानव लघुकथा गौरव सम्मान (भारत, हरियाणा, सन् २०१९) 

सम्पर्क नम्बर ः ९८५११३८२४


थप परिचय  ः

—साहित्य लेखन, प्रकाशनका साथै साहित्यिक पत्रकारिताको क्षेत्रमा समेत लामो समयदेखि सक्रिय ।

— नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक ।

—विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्यापन गर्ने र साहित्यिक संगठनमा समेत सक्रियता ।


प्रवृत्तिहरू ः 

 — नेपाली समाजको बहुसांस्कृतिक परिवेश एवम् चरित्रको उद्घाटन ।

— मध्य तराईको जीवन र त्यससँग सम्बन्धित पात्रको जीवनको अभिव्यक्ति ।

— आर्थिक एवम् प्रशासनिक विकृतिप्रतिको आलोचना ।

—साहित्य–कलाका नाममा हुने गरेका गलत क्रियाकलापप्रति व्यङ्ग्य । 

—  निम्नवर्गीय जीवनको प्रस्तुतिका साथै ती पात्रको जीवनप्रतिको गहिरो सम्वेदना ।  

— जातीय, भेगीय, वर्गीय एवम् लैङ्गिक उत्पीडन कायम रहेको अवस्थाबोध । 

— नेपाली समाजमा रहेको अन्धविश्वास, आडम्बर, परपीडन जस्ता विषयवस्तुुमाथि प्रकाश । 

— शिर्षक चयनमा एकरूपता, एक वा दुई अक्षरका शिर्षकको प्रयोग ।

—संवादात्मक शैलीको प्रयोग ।

—नाटकीय एवम् समाख्यानात्क पद्धतिको प्रयोग । 

—मानवीय, अमानवीय, मूर्त तथा अमूर्त पात्रको प्रयोग । 

—कतैकतै प्रतिकको समेत प्रयोग । 


सहभोज

त्यो निर्धन बस्ती थियो । कोही पनि हुनेखाने र सम्पन्न थिएनन् । आआफ्ना परिश्रमको भरमा जीवन धान्थे । 

बस्तीमा छुवाछुत प्रथा अचाक्ली थियो । त्यहाँ आइपुगेको एक संस्थाले तिनीहरूलाई समानताका निमित्त सहभोज आयोजना गर्ने सुझाव दियो । सबैलाई सल्लाह उपयुक्त लाग्यो । आपसी परामर्श र समझदारीमा कार्यक्रम गर्ने टुङ्गो भयो । वर्षौं वर्षदेखि अछुत ठानिएकाहरूले आफ्नो भोजमा तथाकथित ठूलाबडाहरूलाई ख्वाउन पाउनुलाई ठूलो अवसर सम्झे । 

पकवान तयार भए । निश्चित समयमा निम्तारूहरू आइपुगे । आयोजक मख्ख बने । 

सहभोज सकियो । सोचभन्दा बढी मानिसको उपस्थिति देख्दा ती हर्षले गदगद् भए । अब त हामी पनि बराबरीको हारमा उभियौं, दुईचार दिनसम्म यस्तै गफ गरे तिनीहरूले । 

सहभोज आयोजना गरिएको एक महिनापछि त्यस बस्तीमा भोकमरी मच्चियो ।  


मानवअधिकार

तामदानबाट सर्तकतापूर्वक ओर्लिए बिजुलीप्रसाद । मञ्चको सजाव आकर्षक थियो । तुलहरू हावाको लहरमा हल्लिरहेका देखिन्थे । टाउको उठाएर हेरे, आयोजक मध्येकै एकजनाले वस्तुस्थिति अवगत गरायो । अझ प्र्रकाशमय बन्यो मुखमण्डल । पुनः साउतीको स्वरमा केके हो सोधे । उसले पनि क्रमशः हातको इशारामा टाउको हल्लाउँदै गयो । 

मञ्च झकिझकाउ थियो । खोट लाउने ठाउँ नै थिएन । आफ्नो कामबाट सन्तुष्ट देखिन्थे जिम्मेवारी वहन गर्नेहरू । 

निश्चित समयभन्दा दुई घन्टा २४ मिनटपछि कार्यक्रम सुरु भयो । बिजुलीप्रसाद आउँदा पनि त्यो समय एक घन्टा उन्नीस मिनट बितिसकेको थियो । एक महिना अगाडि नै मानवअधिकार दिवस मनाइने कार्यक्रम तय भएको थियो । स्थानिय संघसंस्था र विद्यालयहरू पत्र मार्फत निम्त्याइएका थिए । आआफ्ना दैनिक कार्यसूचीलाई स्थगन गरेर उपस्थित भएका थिए सबै । सिमाना मुक्तिमोर्चाले राखेको देशबन्दको कार्यक्रम त्यही दिन परेकाले यातायातका कुनै साधनहरू नगुडेको हुँदा आउनेजाने क्रम पैदल नै थियो । 

सभाको अन्त्यमा नारा लाग्यो । सबैले स्वरमा स्वर मिलाए । समानता, स्वतन्त्रता र जिउन पाउने अधिकारसँग सम्बन्धित थिए ती । थिचोमिचो, शोषण, अन्याय र अत्याचारजस्ता विषयहरूमा अतिथिहरूको जोड देखिन्थ्यो । बिजुलीप्रसादले त यसै विषयलाई बारम्बार जोड दिएका थिए । ताली पनि लामो समयसम्म बजेको थियो । 

देशबन्द कार्यक्रमले आफूलाई निक्कै अप्ठयारो परेको र समयमा उपस्थित हुन नसकेको सुनाउँदै बिजुलीप्रसाद पुनः तामदानमा बसे । टाउकाको टोपी फुकालेर डोलेहरूले पसिना पुछे र तामदान उठाए । मानवअधिकारको नारा घन्किरहेको थियो र बिजुलीप्रसाद छाता ओढेर धेरै टाढा पुगिसक्दा समेत हात हल्लाइरहेका थिए । 


 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...