Tuesday, 20 August 2024

प्रोल्लास सिन्धुलीय ः परिचय, प्रवृत्ति र लघुकथा

प्रोल्लास सिन्धुलीय

 माता÷पिता ः लालित्यदेवी अधिकारी एवम् उमानाथ शास्त्री सिन्धुलीय
जन्ममिति ः २०३२ वैशाख ७
जन्मस्थान ः गैयाँटार, सिन्धुली 
पहिलो प्रकाशित लघुकथा ः आँकुरा द्वैमासिकमा वर्ष १, अङ्क १, २०४७ वैशाख–जेठमा प्रकाशित सन्देश लघुकथा ।
लघुकथा कृति ः टाउको नभएको तस्विर (२०७३)
सम्पादन ः कथालिका
सम्पर्क नम्बर ः ९८५१०११३७९

थप परिचय ः
बहुविधाका लेखक ।
मुद्रण व्यवसायी ।

प्रवृत्तिहरू ः 
 — राजनीतिक विकृतिको आलोचना ।
— शासकवर्गको जनविरोधी नीतिको आलोचना ।
— सामाजिक विसङ्गतिप्रतिको आलोचना एवम् व्यङ्ग्य । 
— मानवीय सम्वेदनहिनताप्रति चिन्ता ।  
— परपीडक प्रवृत्तिको आलोचना । 
—व्यक्ति पात्रका क्षुद्रताप्रति चिन्ता । 
— सम्वादात्मकता एवम् भाषिक कुशलताको प्रयोग । 


सहिद
    स्वर्गमा सहिदको भीड बढ्न थाल्यो । सहिद विभागका आवासगृह र सुविधा कोटाहरू सिद्धिए । लाचार भएर व्यवस्थापकले छानबिन सुरु गर्यो । सबैलाई डाकेर सोधपुछ कार्य थालियो । 

    क—चुनावको प्रचारमा जाँदा लडेर मरेको ।
 
    ख—पार्टीको झगडामा मरेको ।

    ग—जग्गा सम्बन्धी किचलोमा अर्को पार्टीको मान्छेद्वारा मारिएको ।
 
    घ—ससुराली जाँदा बाटोमा गोली लागेको ।
 
    ङ—रमिता हेर्न जाँदा पुलिसले समातेर कुटीकुटी मारेको ।
 
    च—.............आदि । 
    धेरैले आफू सहिद हुनाका धेरैवटा कारण दिए । ती सम्पूर्ण कारणहरूको पछाडि एउटै मूल कारण थियो–पार्टीले झण्डा ओढाएको । 
    
    अलिक पर सहिदकोटामा पर्न असफल तर वास्तविक सहिदहरू अँध्यारो अनुहार पारेर पृथ्वीतर्फ हेर्दै थिए ।

    उनीहरूलाई भने देशको चिन्ता थियो । 

प्रमाणपत्र
रिङ्रोडबाट धेरै टाढा नपर्ने चुच्चेपाटीको कुमारीगालमा मेरो घर धमाधम बनिरहेको थियो । तीनबाली लाग्ने सर्लाहीको ३ बिगाहा खेत बेचेर हामीले हालैमात्र त्यहाँ साढे तीन आना जग्गा किनेका थियौं र दुईतले घर पनि हतारमै तयार हुँदै थियो । मैले अघिल्लो वर्ष नै एसएलसी पास गरेको भएपनि काठमाडौंमा घर बनाएर आफ्नै घरमा बसेर पढ्ने रहरले गएको वर्ष त्यतिकै बिताएको थिएँ । अर्थात् क्याम्पसको दैलो टेक्न भ्याएको थिएन ।
 
        वास्तवमा घर मैले सोचेभन्दा चाँडो चाँडो तयार हुँदै थियो । चारैतिर कडा निगरानी राखिरहेको थिएँ । दुई दिनदेखि पूर्वपट्टिको एउटा ढोकाको चौकोस नमिलेर एउटा युवक भत्काउँदै, फिट गर्दै गरिरहेको थियो तर ढोका भने अझै मिलेको थिएन । मैले त्यस युवकलाई हकारेँ, “बुद्धि पनि त हुनुपर्यो नि अलिकता ! दिमागमा गोबर भरिएको छ, कहाँबाट ढोका मिल्छ त !”

        युवक बोलेन । अर्को ज्यामीले ओठे जवाफ पेल्यो, “ल त, आफै बुद्धि लगाउनुहोस त सा’ब ।”
मैले भनेँ, “मैले गर्नुपर्ने भने तिमीहरूलाई किन लगाउँथे ।” तर पनि ढोका मिलाउने कोसिस गरेँ । तर मेरो पनि केही सीप लागेन । त्यो ज्यामी युवकले मुसुक्क हाँस्दै भन्यो, “हाम्र्रो दिमागमा गोबर छ त भन्नुभयो तर साब तपाईँको दिमागमा त त्यही गोबर पनि रहेनछ ।”

        म उफ्रिएँ । “ए मलाई तँलै आफूजस्तै अनपढ, मुर्ख, गँवार सम्झेको ?” मैले अझ उसलाई चोट पार्ने उद्देश्यले भनेँ, “तँलाई कपुरी क कुन चराको नाम हो, थाहा छ ?”
    
    युवकले हतोत्साहित नबनिकन सहजताका साथ उत्तर दियो, “थाहा छ साब ।”

    “ल, लेखेर देखा त ?” मैले फेरि जिस्क्याएँ । 

    त्यो ज्यामी युवक केही बोलेन । चुपचाप खल्तीबाट पट्याइराखेको कागजको टुक्रा निकाल्यो र मेरो हातमा दियो । मैले फुकाएर हेरेँ–त्यो उसले बिए पास गरेको ट्रान्सक्रिप्टको प्रतिलिपि थियो । 

  मेरा आँखा तिर्मिराए । वरिपरि धमिलो हुँदै गयो । 

    मैले भारी नजरले त्यो ज्यामी युवकलाई हेरेँ । ऊ केही नभएको जसरी फेरि त्यही नमिलेको ढोका समाउन पुगिसकेको थियो ।   

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...