![]() |
| प्रोल्लास सिन्धुलीय |
माता÷पिता ः लालित्यदेवी अधिकारी एवम् उमानाथ शास्त्री सिन्धुलीय
जन्ममिति ः २०३२ वैशाख ७
जन्मस्थान ः गैयाँटार, सिन्धुली
पहिलो प्रकाशित लघुकथा ः आँकुरा द्वैमासिकमा वर्ष १, अङ्क १, २०४७ वैशाख–जेठमा प्रकाशित सन्देश लघुकथा ।
लघुकथा कृति ः टाउको नभएको तस्विर (२०७३)
सम्पादन ः कथालिका
सम्पर्क नम्बर ः ९८५१०११३७९
थप परिचय ः
बहुविधाका लेखक ।
मुद्रण व्यवसायी ।
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिको आलोचना ।
— शासकवर्गको जनविरोधी नीतिको आलोचना ।
— सामाजिक विसङ्गतिप्रतिको आलोचना एवम् व्यङ्ग्य ।
— मानवीय सम्वेदनहिनताप्रति चिन्ता ।
— परपीडक प्रवृत्तिको आलोचना ।
—व्यक्ति पात्रका क्षुद्रताप्रति चिन्ता ।
— सम्वादात्मकता एवम् भाषिक कुशलताको प्रयोग ।
सहिद
स्वर्गमा सहिदको भीड बढ्न थाल्यो । सहिद विभागका आवासगृह र सुविधा कोटाहरू सिद्धिए । लाचार भएर व्यवस्थापकले छानबिन सुरु गर्यो । सबैलाई डाकेर सोधपुछ कार्य थालियो ।
क—चुनावको प्रचारमा जाँदा लडेर मरेको ।
ख—पार्टीको झगडामा मरेको ।
ग—जग्गा सम्बन्धी किचलोमा अर्को पार्टीको मान्छेद्वारा मारिएको ।
घ—ससुराली जाँदा बाटोमा गोली लागेको ।
ङ—रमिता हेर्न जाँदा पुलिसले समातेर कुटीकुटी मारेको ।
च—.............आदि ।
धेरैले आफू सहिद हुनाका धेरैवटा कारण दिए । ती सम्पूर्ण कारणहरूको पछाडि एउटै मूल कारण थियो–पार्टीले झण्डा ओढाएको ।
अलिक पर सहिदकोटामा पर्न असफल तर वास्तविक सहिदहरू अँध्यारो अनुहार पारेर पृथ्वीतर्फ हेर्दै थिए ।
उनीहरूलाई भने देशको चिन्ता थियो ।
प्रमाणपत्र
रिङ्रोडबाट धेरै टाढा नपर्ने चुच्चेपाटीको कुमारीगालमा मेरो घर धमाधम बनिरहेको थियो । तीनबाली लाग्ने सर्लाहीको ३ बिगाहा खेत बेचेर हामीले हालैमात्र त्यहाँ साढे तीन आना जग्गा किनेका थियौं र दुईतले घर पनि हतारमै तयार हुँदै थियो । मैले अघिल्लो वर्ष नै एसएलसी पास गरेको भएपनि काठमाडौंमा घर बनाएर आफ्नै घरमा बसेर पढ्ने रहरले गएको वर्ष त्यतिकै बिताएको थिएँ । अर्थात् क्याम्पसको दैलो टेक्न भ्याएको थिएन ।
वास्तवमा घर मैले सोचेभन्दा चाँडो चाँडो तयार हुँदै थियो । चारैतिर कडा निगरानी राखिरहेको थिएँ । दुई दिनदेखि पूर्वपट्टिको एउटा ढोकाको चौकोस नमिलेर एउटा युवक भत्काउँदै, फिट गर्दै गरिरहेको थियो तर ढोका भने अझै मिलेको थिएन । मैले त्यस युवकलाई हकारेँ, “बुद्धि पनि त हुनुपर्यो नि अलिकता ! दिमागमा गोबर भरिएको छ, कहाँबाट ढोका मिल्छ त !”
युवक बोलेन । अर्को ज्यामीले ओठे जवाफ पेल्यो, “ल त, आफै बुद्धि लगाउनुहोस त सा’ब ।”
मैले भनेँ, “मैले गर्नुपर्ने भने तिमीहरूलाई किन लगाउँथे ।” तर पनि ढोका मिलाउने कोसिस गरेँ । तर मेरो पनि केही सीप लागेन । त्यो ज्यामी युवकले मुसुक्क हाँस्दै भन्यो, “हाम्र्रो दिमागमा गोबर छ त भन्नुभयो तर साब तपाईँको दिमागमा त त्यही गोबर पनि रहेनछ ।”
म उफ्रिएँ । “ए मलाई तँलै आफूजस्तै अनपढ, मुर्ख, गँवार सम्झेको ?” मैले अझ उसलाई चोट पार्ने उद्देश्यले भनेँ, “तँलाई कपुरी क कुन चराको नाम हो, थाहा छ ?”
युवकले हतोत्साहित नबनिकन सहजताका साथ उत्तर दियो, “थाहा छ साब ।”
“ल, लेखेर देखा त ?” मैले फेरि जिस्क्याएँ ।
त्यो ज्यामी युवक केही बोलेन । चुपचाप खल्तीबाट पट्याइराखेको कागजको टुक्रा निकाल्यो र मेरो हातमा दियो । मैले फुकाएर हेरेँ–त्यो उसले बिए पास गरेको ट्रान्सक्रिप्टको प्रतिलिपि थियो ।
मेरा आँखा तिर्मिराए । वरिपरि धमिलो हुँदै गयो ।
मैले भारी नजरले त्यो ज्यामी युवकलाई हेरेँ । ऊ केही नभएको जसरी फेरि त्यही नमिलेको ढोका समाउन पुगिसकेको थियो ।

No comments:
Post a Comment