Thursday, 8 August 2024

महेश प्रसाई ः परिचय, प्रवृत्ति र लघुकथा

महेश प्रसाई

  माता, पिता ः धरणीदेवी प्रसाई, गणेशबहादुर प्रसाई

जन्ममिति ः वि.स. २०१३ असोज २१

जन्मस्थान ः सुनसरी जिल्लाको धरान

पहिलो लघुकथा ः वि.स. २०२९ सालमा धरानबाट प्रकाशित हुने झलक सामयिक संकलनमा प्रकाशित उपहार लघुकथा

लघुकथा कृति ः फूलै फूलका आलाप (२०६८), अतिरिक्त स्वरहरु (२०७४)

कथा कृति ः एउटा कथाको पुर्नजन्म, गल्पकावली

 पुरस्कार ः बाटुली–खिलध्वज लघुकथा सम्मान (२०७६) 

                                                           सम्पर्क नम्बर ः  ९८४१४१६७८८

                                                           थप परिचय ः

                                            प्राध्यापक, सम्पादक एवम् खोज अनुसन्धानकर्ता , साहित्यिक संगठनकर्ता । 

प्रवृत्तिहरू ः 

 — राजनीतिक विसङ्गतिप्रतिको आलोचनात्मक चेतना ।

— राजनीतिकर्मीको धोकाधडीपूर्ण अवसरवादिताको आलोचना ।

—समाजमा रहेको वर्गीय असमानता, सामन्ती शोषणप्रतिको विरोध  । 

— कर्मचारीतन्त्रमा रहेको भ्रष्ट प्रवृत्तिको चित्रण ।  

—आधुनिक सभ्यताका नाममा देखापरेको फेसनमुखी प्रवृत्तिप्रतिको व्यङ्ग्य । 

— पौराणिक मिथकको प्रयोग । 

—  मिथकका माध्यमबाट मानवीय विसङ्गतिप्रति व्यङ्ग्य । 

— ससाना वाक्य एवम् अनुच्छेदको प्रयोग ।

—सम्वादात्मकता, सुत्रात्मकता एवम् बौद्धिक लेखन ।


स्वामीभक्त

    एक रात सपनामा एउटा चौपाया जन्तुले आफ्नो मालिक मरेको देख्यो । रोयो बेस्सरी । यो जीव कुकुर थियो ।

............................................................

एकदिन विपनामा एउटा दुईखुट्टे मनुष्यले आफ्नो स्वामी मरेको खबर सुन्यो । आँसु पनि खसालेन । 

यो जीव स्वामीको नजिकको कारिन्दा थियो । 

...................................

दुवै स्वामीभक्तका लागि कहलिएका प्राणी थिए ।


किचेन 

त्यस दिन स्थानिय विकास अधिकारीको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।

विकास निर्माणका लागि आइपुगेको आकर्षक बजेटलाई लिएर भागशान्ति गर्न एउटै बिन्दुमा उत्रिएको थियो ।

       विभिन्न राजनीतिक पार्टीका व्यक्तिहरूको चर्काे जमघटबाट एउटाले भनिरहेको थियो । 

“पार्टी सिस्टममा पोलिटब्युरोले जे अनुमोदन गर्छ, त्यही मान्य हुन्छ । त्यसदेखि बाहिर जान सकिन्न ।”

दोस्रो पार्टीको अर्को सदस्यले भन्यो, “पार्टीभन्दा पहिले देश आउँछ । देशको हितदेखि बाहिर जान सकिन्न ।”

तेस्रोले भन्यो, “जल, जमिन र जंगललाई भोग गर्ने संस्कृतिको सहभागिताबाट देशको जग निर्माण भएको हुन्छ । यो संस्कृतिलाई नाघेर अघि बढ्न सकिन्न ।”

चौथोले भन्यो, “पार्टी र देश आर्दशका विषय हन् । सर्वप्रथम मान्छे प्रमुख हो । मान्छेको अस्तित्व भुँडीबाट प्रारम्भ हुन्छ । भुँडी बिनाको मान्छे हुँदैन । त्यसैले भुँडीलाई नाघेर जान सकिन्न ।”

त्यसपछि चौथो आयामदेखि बाहेक अर्को पनि थियो । उसले भन्यो, “टाउकोबिना कसैको अस्तित्व छैन । टाउकोको ज्ञानलाई नाघेर जान सकिन्न ।”


        यथार्थमा जसले जे भनेपनि यी सबैलाई चलाउने असली रूप अर्कै थियो । जो एकान्त कुनामा ती सबै कुरा निरिक्षण गरिरहेको थियो । ऊ कसैसित बोलिरहेको थिएन । 

यो नबोल्ने आकृति त्यस देशको सशक्त किचेन थियो, जसलाई तिनै भुँडी र टाउकोका सुरक्षा पहरामा राखिएको थियो ।    








No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...