![]() |
| महेश प्रसाई |
माता, पिता ः धरणीदेवी प्रसाई, गणेशबहादुर प्रसाई
जन्ममिति ः वि.स. २०१३ असोज २१
जन्मस्थान ः सुनसरी जिल्लाको धरान
पहिलो लघुकथा ः वि.स. २०२९ सालमा धरानबाट प्रकाशित हुने झलक सामयिक संकलनमा प्रकाशित उपहार लघुकथा
लघुकथा कृति ः फूलै फूलका आलाप (२०६८), अतिरिक्त स्वरहरु (२०७४)
कथा कृति ः एउटा कथाको पुर्नजन्म, गल्पकावली
पुरस्कार ः बाटुली–खिलध्वज लघुकथा सम्मान (२०७६)
सम्पर्क नम्बर ः ९८४१४१६७८८
थप परिचय ः
प्राध्यापक, सम्पादक एवम् खोज अनुसन्धानकर्ता , साहित्यिक संगठनकर्ता ।
प्रवृत्तिहरू ः
— राजनीतिक विसङ्गतिप्रतिको आलोचनात्मक चेतना ।
— राजनीतिकर्मीको धोकाधडीपूर्ण अवसरवादिताको आलोचना ।
—समाजमा रहेको वर्गीय असमानता, सामन्ती शोषणप्रतिको विरोध ।
— कर्मचारीतन्त्रमा रहेको भ्रष्ट प्रवृत्तिको चित्रण ।
—आधुनिक सभ्यताका नाममा देखापरेको फेसनमुखी प्रवृत्तिप्रतिको व्यङ्ग्य ।
— पौराणिक मिथकको प्रयोग ।
— मिथकका माध्यमबाट मानवीय विसङ्गतिप्रति व्यङ्ग्य ।
— ससाना वाक्य एवम् अनुच्छेदको प्रयोग ।
—सम्वादात्मकता, सुत्रात्मकता एवम् बौद्धिक लेखन ।
स्वामीभक्त
एक रात सपनामा एउटा चौपाया जन्तुले आफ्नो मालिक मरेको देख्यो । रोयो बेस्सरी । यो जीव कुकुर थियो ।
............................................................
एकदिन विपनामा एउटा दुईखुट्टे मनुष्यले आफ्नो स्वामी मरेको खबर सुन्यो । आँसु पनि खसालेन ।
यो जीव स्वामीको नजिकको कारिन्दा थियो ।
...................................
दुवै स्वामीभक्तका लागि कहलिएका प्राणी थिए ।
किचेन
त्यस दिन स्थानिय विकास अधिकारीको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
विकास निर्माणका लागि आइपुगेको आकर्षक बजेटलाई लिएर भागशान्ति गर्न एउटै बिन्दुमा उत्रिएको थियो ।
विभिन्न राजनीतिक पार्टीका व्यक्तिहरूको चर्काे जमघटबाट एउटाले भनिरहेको थियो ।
“पार्टी सिस्टममा पोलिटब्युरोले जे अनुमोदन गर्छ, त्यही मान्य हुन्छ । त्यसदेखि बाहिर जान सकिन्न ।”
दोस्रो पार्टीको अर्को सदस्यले भन्यो, “पार्टीभन्दा पहिले देश आउँछ । देशको हितदेखि बाहिर जान सकिन्न ।”
तेस्रोले भन्यो, “जल, जमिन र जंगललाई भोग गर्ने संस्कृतिको सहभागिताबाट देशको जग निर्माण भएको हुन्छ । यो संस्कृतिलाई नाघेर अघि बढ्न सकिन्न ।”
चौथोले भन्यो, “पार्टी र देश आर्दशका विषय हन् । सर्वप्रथम मान्छे प्रमुख हो । मान्छेको अस्तित्व भुँडीबाट प्रारम्भ हुन्छ । भुँडी बिनाको मान्छे हुँदैन । त्यसैले भुँडीलाई नाघेर जान सकिन्न ।”
त्यसपछि चौथो आयामदेखि बाहेक अर्को पनि थियो । उसले भन्यो, “टाउकोबिना कसैको अस्तित्व छैन । टाउकोको ज्ञानलाई नाघेर जान सकिन्न ।”
यथार्थमा जसले जे भनेपनि यी सबैलाई चलाउने असली रूप अर्कै थियो । जो एकान्त कुनामा ती सबै कुरा निरिक्षण गरिरहेको थियो । ऊ कसैसित बोलिरहेको थिएन ।
यो नबोल्ने आकृति त्यस देशको सशक्त किचेन थियो, जसलाई तिनै भुँडी र टाउकोका सुरक्षा पहरामा राखिएको थियो ।

No comments:
Post a Comment