Friday, 16 August 2024

इन्दिरा प्रसाई ः परिचय, प्रवृत्ति र लघुकथा

इन्दिरा प्रसाई

माता, पिता ः दुर्गादेवी नेपाल, गणेशप्रसाद शर्मा 
जन्ममिति ः वि.स. २०१४ फागुन ३ गते
जन्मस्थान ः भारतको दार्जिलिङ
पहिलो लघुकथा ः महत्व  । युवा साहित्यिक परिवार, विराटनगरबाट प्रकाशित प्रयोग सामयिक संकलनमा २०३२ सालमा प्रकाशित
लघुकथा कृति ः बयान (२०५५) 

कथा कृति 
मन सायद उघ्रदैन (२०५१)
दोस्रो सत्ता (२०६२) 
मेरो कथा नलेखिदिनु (२०६२)
पुरस्कार ः धनमान लघुकथा पुरस्कार (२०७६)

प्रवृत्तिहरू ः 
 — नारी अहम एवम् अस्तित्वबोधको प्रस्तुति ।
— समाजिक अन्तर्विरोध, जातिय, लैङ्गिक, एवम् वर्गीय विभेदका घटनाको प्रस्तुति ।   
—  पुस्तान्तरणका समस्या ।  
— हिंसाजन्य गतिविधिको विरोध । 
—मिथकको प्रयोग एवम् व्यङ्गात्मक चेतना । 
—  पुरूषको हैकमवादी चरित्रको विरोध । 

विशेष पक्ष ः
—प्राध्यापन, सम्पादन एवम् साहित्यिक संगठन ।
—विभिन्न विधाका ५५ पुस्तक प्रकाशन ।
—नइ प्रकाशन एवम् त्रिमूर्ति निकेतनको सञ्चालन ।
—विभिन्न साहित्यिक कार्यक्रम सञ्चाल, विभिन्न विशिष्ट साहित्यिक प्रतिभालाई सम्मान, उपाधि प्रदान, उपाधि प्रदान गर्नका निमित्त पहलकदमी ।

लघुकथा रचना ः

निर्माणकला
हापिस मिस्त्रीका हातमा जादु थियो । शम्शेरबहादुरको विशाल भवनको निर्माणकार्य भरखरै सकिएको थियो । भवन हेर्न आउने जोसुकैले पनि निर्माणकलाको प्रशंसा नगरिरहन सक्दैन थिए । हापिस मिस्त्री कुशल राजमिस्त्री हुनाको साथसाथै अत्यन्तै इमान्दार र मेहनती समेत थियो । 
शम्शेरबहादुर हापिस मिस्त्रीसँग धेरै नै प्रसन्न भएका थिए । उनले पनि यसपालि हापिस, उसकी स्वास्नी र दुई भाई छोरालाई समेत एकसरो राम्रा लुगा र केही रुपियाँ समेत बक्सिस दिए । झन्डै दुई महिनासम्म काममा बेजोड खटिएको हापिस खुसी मनले देश फर्केको थियो ।
बसबाट उमङ्ग र उत्साह बोकेर आफ्नो गाउँ पुगेको हापिस मिस्त्री स्तब्ध भएको थियो ।
उसका गाउँमा अविरल वर्षाका कारण हिजो भत्कन गएका चार घर मध्ये एउटा उसको पनि रहेछ । मध्यरातमा घर लडेको हुनाले निदाएका कोही मानिस बाँचेका थिएनन् ।

फूल

“हजुर ! आज बुढियाले सत्यनारायणको पूजा लाउँछु भनेकी छ, अलिकति फूल लगुँ कि ?” मालीले दुल्हैबज्यैसँग नम्र निवेदन गर्यो । 
“कस्तो कुरा गर्छ यो माली, अब यत्रो खर्च लगाएर रोपेका फूल पनि त्यसरी पूजाआजा भनेर टिप्न थाल्यो भने निमिट्यान्न हुँदैन ? बाबुसाहेबलाई एउटा पनि फूल टिपेको मन पर्दैन । अब पूजा भनेर मागेपछि हुन्न भन्दा पनि पाप लाग्छ । पख, म आफै अलि आँखा नपर्ने ठाउँतिरको टिपेर दिन्छु ।”
दुल्हैबज्यैले झर्किएर भनेकी थिइन् ।
त्यसको निकैबेरपछि गाह्रो मानीमानी दुल्हैबज्यैले ओइलाएका, सुक्न लागेका अलिकति फूल टिपेर मालीलाई दिएकी थिइन । 
“हेर माली ! मलाई यसरी फूल माँगेको मन पर्दैन । अर्को पटकदेखि नमाँगेस् । तँलाई तलबमा राखेपछि 
तैँले  फूल माग्न मिल्दैन । किन्न पाइन्छ बजारमा, हामी पनि पूजामा किनेरै चढाउँछौं ।”
त्यस दिन माली चुपचाप निहुरिएर आफ्नो घरतिर लागेको थियो । 
भोलिपल्ट–
“दुल्हैबज्यै ? दुल्हैबज्यै !” माली अत्तालिएर झन्नै चिच्याउँदै मूल ढोकामा पुगेको थियो । 
“के भयो ? किन त्यसरी चिच्याएर मरेको ?” दुल्हैबज्यैले झर्केर सोधेकी थिइन् ।
“फूल जम्मै लुछेको छ, बोटै निमिट्यान्न पारेर, हाँगा लछारपछार पार्दै कुन चोरले सबै फूलबारीको सर्वनाश गरेको रै’छ । मालीले स्याँस्याँ हुँदै भन्यो । 
“के भन्छ यो, हिजो मैयासाबको स्कुलमा फेयरबेल पार्टी रहेछ । केको चोरले फूल लान्छ, मैयासाबका साथी र मैयासाबले टिपेका थिए । 


 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...