![]() |
| डा. हरिप्रसाद भण्डारी |
माता, पिता ः विनितादेवी भण्डारी, प्रमानन्द भण्डारी
जन्ममिति ः वि.स. २०१६ जेठ ५
जन्मस्थान ः गुल्मी जिल्लाको धुर्कोट, वस्तु
पहिलो प्रकाशित लघुकथा ः उत्साह पत्रिकामा वि.स. २०४५ मा प्रकाशित कुकुर तिहार लघुकथा
लघुकथा कृति ः चिराग (केही लघुकथा भएको, २०४७), अविरल यात्रा (२०६३) एवम् काला सर्पको खोजी (२०६७)
कथा कृति ः चिराग (२०४७), अस्वीकृत कथाहरू !
सम्मान,पुरस्कार ः विद्युतकर्मी साहित्य समाजद्वारा आयोजित राष्ट्रव्यापि लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार (२०६३) एवम् मनुमुत्तः मानव लघुकथा गौरव सम्मान (हरियाणा, सन् २०१९) ।
सम्पर्क नम्बर ः ९८५१०८२२२९
थप परिचय ः
–नेपाली लघुकथामा एमफिल एवं विद्यावारिधि उपाधि प्राप्त
–लघुकथाको अनुसन्धान कार्यमा संलग्न ।
–प्रशासनिक क्षेत्रमा कार्यरत रही प्रमुख जिल्ला अधिकारी भएर कार्य गरेको ।
प्रवृत्तिहरू ः
–समाजवादी यथार्थवादी युगचेतनाको प्रयोग ।
— राजनीतिक विसंगतिप्रतिको आलोचनात्मक चेतनाको प्रस्तुति ।
— सामाजिक अन्तर्विरोधका कारण उत्पन्न समस्याको चित्रण ।
— निम्नवर्गीय पात्रप्रतिको सहानुभूतिको स्वरको अभिव्यक्ति ।
–परम्परागत अन्धविश्वास, सामाजिक अराजकता, मानवीय कमजोरीमाथि व्यङ्ग प्रहार ।
— कर्मचारीवर्गमा रहेको चाकरीजन्य क्रियाकलाप, कामचोर प्रवृत्ति, भ्रष्टाचार, आस्थागत विभेदको प्रस्तुति ।
— उच्च वर्गका कर्मचारीमा रहेको अहम, भ्रष्टाचार, चाकरी खोज्ने प्रवृत्तिको चित्रण ।
–निम्नवर्गीय कर्मचारीमा रहेको चाकरी चाप्लुसीका साथै सहकर्मीलाई तल पार्न षडयन्त्र गर्ने प्रवृत्तिप्रति व्यङ्ग्यात्मक चेतनाको अभिव्यक्ति ।
–सम्वादात्मकता एवम् प्रश्नोत्तर शैलीको प्रयोग ।
माटोको सुवास
“जनपक्षीय साहित्यकार” यो उनको नामको अगाडि आउने विशेषण थियो । उनी सँधै जनताको पक्षमा साहित्य सिर्जना गर्थे । उनको लेखाइमा समाजको वास्तविक मर्म उजागर भएको हुन्थ्यो ।
चैतको टन्टलापुर घाममा म उनलाई भेट्न उनका गाउँमा पुगेँ ।
उनी कोठामा बसेर कविता कोरिरहेका होलान् भन्ने लागेको थियो मलाई, तर मेरो अनुमान मिलेन । म पुग्दा उनी कलम समाएर सुकुलमा होइन, कोदाली समाएर बारीमा खनिरहेका थिए ।
चर्को घामले निचोरेर उनका शरीरबाट तपतपी पसिना चुहिए पनि गाल्नचाहिँ सकेको थिएन, बाँझो जमिनले हतोत्साही बनाउन सकेको थिएन र उनी अत्यन्तै दृढ देखिन्थे । आफ्नो कर्तव्यमा निर्धक्क भएर लागेको आभास मिल्थ्यो ।
सामान्य बोलचालपछि मैले साहित्यिक पत्रिकाका लागि एउटा रचना माग्न आएको कुरा व्यक्त गरेँ ।
उनले प्रसन्न हुँदै मेरा अनुहारमा हेरे र कोदाली भुइँमा राख्दै पसिना पुछ्न थाले ।
“यस्तो गर्मीमा, बरु साहित्य सिर्जनामा लाग्न भए त......।” कुराको प्रसङ्ग बदल्दै मैले भनेँ ।
उनले मेरो अनुहारमा हेरेर मुसुक्क हाँसे । एकपटक लामो सास फेरे र भने, “कविता खाएर पेट भरिँदैन क्यारे । बाँच्नु त पर्यो नि ।”
“हजुर ।” मैले यतिमात्र भनेँ । उनैले अगाडि थापे ।
“कवि कलाकारहरूको घाँटी रेट्ने, कलम भाँचिदिने र रचना पोलिदिने समाज हो यो । साहित्य, कला र दर्शनको महत्व बुझेको खोई । स्तुतिगानलाई नै साहित्य ठानिन्छ......।
यस्तै कुराहरू भए केहीबेर ।
केही समयको कुराकानीपछि मलाई भोलि आउन आग्र्रह गर्दै उनी पूर्ववत् काममा जुटिरहे । म उनीसँग विदा भएर आफ्नो बाटो लागे ।
बाटामा हिँड्दै गर्दा पनि उनको अनुहार मेरा अगाडि नाचिरहेको थियो र उनले बोलेका शब्दहरू कानमा गुन्जिरहेका थिए ।
अर्को दिन जाँदा रचना तयार पारेर राखेका रहेछन्, दिए । रचना हेर्दा मलाई लाग्यो, त्यसमा साँच्चिकै माटोको सुवास आइरहेको थियो ।
तटस्थ प्रशासन
“हामीले राजनीतिक आस्थाका आधारमा कुनै पनि कर्मचारीलाई सरुवा, बढुवा वा सजाय गर्ने छैनौं । प्रशासन तटस्थ राख्ने छौं र कर्मचारीहरूको मनोबल बढाउने छौं ।” पदासीन हुनासाथ नयाँ मन्त्रीले सबैसामु आफ्नो प्रतिबद्धता जाहेर गरे ।
“अत्यन्तै सारगर्भित वक्क्तव्य प्रसारित गरिस्यो हजुर, चारैतिरबाट हजुरको खुबै प्रशंसा भइरहेको छ ।” नजिक हुन चाहने केही छेपारे प्रवृत्तिका कर्मचारीहरूले दिल खोलेर मन्त्रीको प्रशंसा गरे ।
“राम्रो माने त सबैले ?” मुसुक्क मुस्कुराउँदै मन्त्रीले जिज्ञासा राखे ।
“यस्तो राम्रो विचार त अहिलेसम्म कसैबाट पनि आएको थिएन हजुर........।” नाकका डाँडीको चश्मा मिलाउँदै एक जनाले भन्यो । उसको कुरालाई अरूले पनि समर्थन जनाए ।
उनीहरूको कुरा सुनेपछि गर्वले मन्त्रीको छाती फुल्यो । नाक घिरौलाजस्तै भयो र मन प्रसन्न पार्दै लामो सास फेरेर मुसुक्क हाँसे ।
एकैछिन वातावरण मौन रह्यो । केही बेरपछि मौन वातावरणलाई चिर्दै मन्त्रीले बिस्तारै भने–“विरोध पनि गरे कि कसैले, यसो प्रतिक्रिया बुझौं न ।”
मन्त्रीको कुरा भुइँमै खस्न भ्याएको थिएन, तिनै मध्येको एक जनाले पाँडेपजनी गर्ने सुनौलो अवसर यही हो भन्ने महसुस गरी मुख बिगार्दै बिस्तारै भन्यो–“अरु त सबै ठीक थिए हजुर तिनीहरूले अलि विरोध जनाए । हेरिस्योस् न हजुर, ‘भाषण गरेर मात्रै हुन्छ र ! व्यवहार पनि उस्तै हो क्यारे’ भन्दै थिए । मलाई त साह्रै नजाति लाग्यो, तर ती छुच्चाहरूसँग के बोल्नुजस्तो लागेर चुप लागेँ ।”
“ती त हजुर विपक्षी पार्टीका मान्छे, उनीहरूको सरकार ढलेको बेला कसरी शान्ति होस् र विरोध नगरुन्। भतभती पोलिरहेको होला नि ती बजियाहरूको मन ।” अर्काले आगोमा घिउ थप्यो ।
“तिनीहरूलाई यस ठाउँमा राख्यो भने त हजुर अनेक षडयन्त्र हुनसक्छ ।” तेस्रोले पंखा चलायो ।
“हँ, ती पाजीहरूको यत्रो हिम्मत ? तिनीहरूलाई दुर्गम पहाडी जिल्लामा सरुवा गर्नका लागि तुरन्त टिप्पणी पेश गर्न लगाउनुहोस् । नकच्चराहरू ।” मन्त्री सन्किए ।
तटस्थ प्रशासनको प्रथम नमुना पेश गर्नका लागि फटाफट काम सुरु हुन लाग्यो । मन्त्रीको नवीन वक्तव्य पत्रपत्रिकाहरूमा छापिन नभ्याउँदै सरूवा पत्रहरू छापिन थालिसकेका थिए ।

No comments:
Post a Comment