Saturday, 24 August 2024

दुर्गाप्रसाद ग्वालटारे ः परिचय, प्रवृत्ति र लघुकथा

    
दुर्गाप्रसाद ग्वालटारे

वास्तविक नाम ः  डा. दुर्गाप्रसाद बराल

माता÷पिता ः अम्बिकादेवी बराल, सीताराम बराल

जन्ममिति ः वि.स. २०१८ मंसीर २

जन्मस्थान ः ग्वालटार, सिन्धुली 

पहिलो प्रकाशित लघुकथा ः सन् २०१४ अक्टोबर १४ मा लघुकथा कुनो नामक सामाजिक सञ्जाल पत्रिकामा प्रकाशित पुस्तकको सराप

लघुकथा कृति ः बोधिचित्तको खोजी (२०७३)

थप परिचय ः

—सिभिल इन्जिनियर ।

—कविता एवम् गजल कृति प्रकाशन ।

सम्पर्क नम्बर ः ९८४१४१५२०९


प्रवृत्तिहरू ः 

 — राजनीतिक विसंगतिको आलोचना ।

— पुस्तान्तरणका समस्या ।

—जेष्ठ नागरिकका पीडाको अभिव्यक्ति । 

— बालअधिकारको हननप्रति चिन्ता ।  

— समाजमा नैतिक मूल्यमा गिरावटप्रति चिन्ता । 

—कर्मचारीतन्त्रका विसङ्गतिप्रति व्यङ्ग्य । 

— साहित्यिक क्षेत्रका विकृतिको चर्चा । 

— स्थानिय जनजीवनका भाषाको समुचित प्रयोग ।

—सुत्रात्मकता एवम् सम्वादात्मक शैलीको प्रयोग ।


सूचनाको हक

हल्का सवारीको लाइसेन्सका लागि दरखास्त बुझाउन लाइनमा थियो ऊ । खुट्टा फतक्क भएर खस्लाझैँ भएका थिए उसका । राति तीन बजेतिर लाइन बसेको दिउँसो बाह्र बजिसक्दा पनि पालो आएको थिएन । “नाथे दर्ताका लागि त यस्तो छ, लिखित, ट्रायल आदि–इत्यादीमा झन् कति दुःख पाइएला ।” सोच्दै दिक्दार थियो ऊ ।

खप्नै नसक्ने भएपछि एउटा साथीलाई फोन गरेर बोलायो उसले र लाइनमा उसलाई छाडेर नजिकैको कोठामा छिरेर अन्यौल हटाउने विचार गर्यो । सेतो सर्ट र निलो पाइन्टमा चिटिक्क सजिएका एक कर्मचारी गफ जोत्दै थियो, उनैसँग सोधपुछ गर्यो  उसले । 

“सर, एउटा कुरा सोधौँ  ?”

“सोध !”

“एक दिनमा कति जनाको फाराम लिइन्छ ?”

“ठेगान हुँदैन भाइ !”

“अनि लिखित जाँच कति दिनपछि हुन्छ ?”

“ठ्याक्कै भन्न सकिँदैन !”

“अनि ड्राइभिङ टेष्ट नि ?”

“ पछि आफै आएर बुझ्नुपर्छ ।”

“.........................”

थुप्रै जिज्ञासा राख्यो उसले तर कुनै पनि प्रश्नको चित्तबुझ्दो जवाफ मिलेन । भित्रभित्रै मुर्मुरियो र बाहिर निस्केर पर्खालछेउको इनारको ढक्कनमा थ्याच्च बस्यो । उसको आँखा नजिकैको होर्डिङ बोर्डमा पर्यो , जसमा लेखिएको थियो–

“सूचनाको हक हामी सबैले निर्वाध रूपमा प्रयोग गरौं ।” 


द्वैध चरित्र

नेपालमा बाल अधिकारको अवस्था ः चुनौती र समाधान नामक एक दिने कार्यशाला गोष्ठीमा बाल–अधिकारकर्मीको हैसियतमा भाग लिँदै थिइन् सुनैना । सोही संस्थामा कार्यरत कर्मचारी देवीनाथको सुनैनासँग सामान्य परिचय त थियो तर कार्यशालाकै दौरानमा अलि बढी हेलमेल र पारिवारिक कुराकानी भए । टेलिफोन, ठेगाना साटासाट पनि भयो । 

भोलिपल्ट काम विशेषले देवीनाथ सुनैनाको घर पुगे ।

“आन्टी त मन्दिर जानुभा’का छ ।” ढोका खोल्नासाथ सानी नानीले भनिन् । साथै, भित्र बस्न पनि आग्रह गरिन् ।

एकै छिनपछि सानी नानीले चिया ल्याएर दिइन् । 

”तिम्रो नाम के हो नानी ?” देवीनाथले सोधे । 

“रुपकला ।”

“आमाको नाम नि ?”

“मनमाया ।”

“मनमाया, अनि ?”

“मनमाया थारु”

“.................”

जति प्रश्न गर्दै गए, उति कुतुहल थपिँदै गयो । चिया खाइसकुन्जेल अरू थुप्रै कुरा सोधे देवीनाथले । बर्दियाको एक सुकुम्बासी परिवारबाट दुई वर्षअघि ल्याइएकी बाह्र वर्षकी रूपकला नजिकैको सरकारी विद्यालयमा पढ्दै रहिछिन् । सिँढीमुन्तिर रहने उनको बस्ने ठाउँ । यहाँ आएदेखि घर गएकी रहिनछिन् । लुगा धुने, भाँडा माझ्ने, बढार–कुँडार आदि नियमित काम रहेछ उनको । कहिलेकाँही फुर्सद मिलेको बेलामा स्कुल जाँदी रहिछिन् ।

सुनैना आइपुगिन् एकछिनमा । कुराकानी सकेर बिदा हुन तैयार भए देवीनाथ । यतिकैमा रुपकला फेरि आइपुगिन, “आन्टी, तरकारी के पकाऊँ” भन्दै ।

”बुझ्नुभो देवीनाथजी......” केही भन्न खोज्दै थिइन् सुनैना । उनले भन्न नपाउँदै केही छिनअघि रूपकलासँग लामो कुराकानी भएको बताए उनले । सुनैना नीलोकालो भइन् ।

”के गर्ने देवीनाथजी, पेसा भनेको पेसा नै हो । बोल्ने कुरा बोल्नै पर्यो । हिजोको कुरामा माइन्ड नगर्नुहोस् ल !”

हिजो कार्यशालामा बाल अधिकारको बारेमा सुनैनाले गरेको घम्साघम्सी सम्झिँदै बाटोभरि चक्राउँदै घर पुगे देवीनाथ ।



No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...