Thursday, 22 August 2024

लक्ष्मण अर्याल ः परिचय, प्रवृत्ति र लघुकथा

लक्ष्मण अर्याल

माता÷पिता ः ज्ञानप्रभा अर्याल÷शिवहरि अर्याल
जन्ममिति ः वि.स. २०२६ साउन १५
जन्मस्थान ः मैदी—२, अमराई, धादिङ
हाल ः चितवन जिल्लाको रत्ननगर नगरपालिका
पहिलो प्रकाशित लघुकथा ः चितवनबाट प्रकाशित हुने आभरण स्मारिकामा वि.स. २०५७ मा प्रकाशित तृष्णा लघुकथा
लघुकथा कृति ः टुटी काण्ड (२०७५), औंला (२०७५)
सम्पादन ः सम्प्रेषणको कार्यकारी सम्पादक, रत्ननगर महोत्सव स्मारिकाको २०६४, २०६६, २०६८ र २०७० को सम्पादक, वन्दना मुखपत्रको प्रधान सम्पादक, स्मृति बिम्बमा बा खेमलाल लामिछाने कृतिको सम्पादक
सम्मान÷पुरस्कार ः चितवन साहित्य परिषदबाट प्र्रदान गरिने चिसाप कृष्णकृष्णा पुरस्कार (२०७६) गणेश श्रमणसँग संयुक्त रुपमा  प्राप्त (औंला कृतिका लागि) ।
थप परिचय ः 
—सहप्राध्यापक, शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवन ।
—बाल्मिकी साहित्य सदन, चितवनका सचिव । 
सम्पर्क नम्बर ः  ९८४५९५९२८६

प्रवृत्तिहरू ः 
— समाजमा नैतिक मूल्यको विघटनप्रति चिन्ता ।
— समाजमा पहिचानका नाममा जातिय, लैङ्गिक विभेद बढ्दै गएकोमा चिन्ता । 
— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता । 
—राजनीतिक विकृतिको आलोचना  ।  
—शिक्षा क्षेत्रमा देखिएका अराजकताको आलोचना । 
—धर्मका नाममा हुने ठगी कार्यप्रति चिन्ता । 
— प्रतिभा पलायनका समस्याको प्रस्तुति । 
—जेष्ठ नागरिक एवम् नारी जीवनका पीडाको अभिव्यक्ति ।
— सत्तामुखी सञ्चारमाध्यमप्रति व्यङ्ग ।
—सहिद परिवारको विवश जीवनप्रति सम्वेदना ।
—सम्वादात्मक शैलीको प्रयोग ।

खिन्नता
सहिद गेटमा धर्मभक्तले गंगालालपट्टि फर्केर भने–“ए गंगालाल ! आज त हाम्रो दिवस रे नि हो ?”

गंगालालले भने–“हो, धर्म दाई । आज माघ १६ गते नै हो ।”

शुक्रराजले दिक्क मानेको स्वरमा भने–“त्यसो भए आज फूलका गुच्छा चढाउन तिनीहरू नै आउँछन् जसले भीरबाट लडेका र दुर्घटनामा परेर मृत्युवरण गरेका ठिटाहरूलाई पनि आफ्ना हात, कलम चलेका बेला सहीद घोषणा गरेर दश लाख दिए ।”

“पैसे सहिद...” भन्दै दशरथ चन्दले ओठ लेप्रयाएको देखेर सबैको मन खिन्न र एकतमासको भयो ।  


चेतना
पाँच छोरीपछि जन्मेको छोराको जन्मोत्सवमा उसले धेरैलाई निम्तो बाँड्यो । आफूहरू मध्ये कुनैको पनि आजसम्म जन्मोत्सव नमनाएकामा छोरीहरू चकित भए र प्रतिवाद पनि गरे ।

जेठीले बुबाआमासामु धारिलो प्रश्न राखी, “यदि पाँच छोरापछि छोरीको जन्म भएको भए आज यो घरमा यस्तै उत्सव हुन्थ्यो ?”

माइली र साहिँलीले पनि मुख खोले–“के छोरीहरू सन्तान होइनन् र ? असल शिक्षा पाएपनि छोरीहरूले उन्नतिका शिखर चुम्न सक्दैनन् भन्ने लाग्छ हजुरहरूलाई ? के हिंसाका लागि मान्छे काटिनै पर्छ र ? यो हिंसा होइन ? यो अन्याय होइन ?”

आमा र बाबु मसिनो आवाजमा बोले–“छोरो वंश चलाउने एउटा माध्यम, मुखाग्नि प्रदायक पात्र, पिण्डदानीको दाता ।”

बाघले मृगको पाठो झम्टेझैं काँइलीले आमाबुबालाई झम्टी–“यदि दिएर पाइन्छ भने यो छोरीहरूले पनि गर्न सक्छन् । छोरै किन चाहिएको ?”

कान्छीले त विद्रोहको चर्को कुरा झिकी–“यदि यो घरमा यसपल्ट छोराका लागि तामझामका साथ जन्मोत्सव हुन्छ भने हामी जन्मोत्सव अवधिभर घरबाहिरै रहनेछौं । रङ्गमञ्च खुला छ, मनाउनुहोस् पुरुषसत्ताको उत्सव ।”

सँधैका गौप्राणी जस्ता लाग्ने छोरीहरूमा रौद्र रूप देखेर आमाभित्रको छोरीको जात छक्कै पर्यो 
। बाबुले भने पानीबाट जमिनतिर उछिट्टिएको माछोझैं छटपटाउन थाल्यो ।  
  

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...