![]() |
| गोपाल अश्क |
वास्तविक नाम ः गोपालप्रसाद सर्राफ
माता÷पिता ः पतियादेवी÷सुरुज साह सोनार
जन्ममिति ः वि.स. २०१८ असोज ११
जन्मस्थान ः पर्सा जिल्लाको भेडि़हारी गाउँपालिका
पहिलो प्रकाशित लघुकथा ः अंकुश, दैनिक पत्रिका, वीरगंजको २०६० फागुन ७ गतेको अंकमा प्रकाशित ‘आजको लक्ष्मण’ लघुकथा
लघुकथा कृति ः आजका लघुकथा (संयुक्त, २०७४)
कथा कृति ः गोपाल अश्कका कथाहरू ( कथा संग्रह, २०७०)
सम्पादन ः लघुकथा ः प्रक्रिया र पाठ (२०६५)
थप परिचय ः
—लामो समय बिमा कम्पनीमा कार्यरत हाल अवकाशप्राप्त ।
—स्वतन्त्र लेखन, अनुसन्धानका साथै अनुवाद कार्यमा सक्रिय ।
—समकालीन साहित्य पत्रिकाका सम्पादक ।
सम्पर्क नम्बर ः ९८५१२३४९९२
प्रवृत्तिहरू ः
— पारिवारिक, सामाजिक जीवनका जटिलताको प्रस्तुति ।
— आदर्शको विघटनप्रति चिन्ता ।
— बाँच्नुको सङ्घर्ष र जटिलताका बिच आफ्नो अस्तित्वबोध गरिरहेका पात्रको चित्रण ।
— सम्वादात्मक शैलीको प्रयोग ।
कमी
छिमेकमा छ महिना अघि आएर बसेको प्रो. मेहता र उनकी श्रीमतीको मधुर सम्बन्ध देखेर त्यहाँका महिलाहरूले ईर्ष्या गर्न थालेका थिए । मौका र समय पाउनासाथ कुरा काट्न थाल्दथे ।
प्रो. मेहता र उनकी श्रीमती जहिले पनि प्रसन्नचित्त देखिन्थे । उनीहरूको अनुहार कहिल्यै अँध्यारो देखिँदैनथ्यो । सँधै प्रेमिल जोडीका रूपमा देखापर्दथे । मानौं, उनीहरूको जीवनमा कुनै कुराको पनि कमी छैन ।
छिमेकी घरमा भएको बर्थडे पार्टीमा प्रो. मेहता र उनकी श्रीमती पनि सहभागी थिए । पार्टीमा एक जनाको आवाज सुनियो–“ ल हेर ! कति मस्किनुपरेको होलो, कति चम्किएकी ? रात त छँदैछ नि । राति जति चम्के पनि भइहाल्थ्यो नि ?”
अर्कीले थपिन्–“हो त नि ! कति मात्तिएकी ?”
यतिकैमा बर्थडे मनाइरहेकी केटोकी आमा कराइरहेकी सुनियो–“ल हेर बदमाशलाई ! मेहता आन्टीले दिएको कति महङ्गो खेलौना भाँचिदियो ।”
केटो डराउँदै आमातिर हेर्दै थियो । ऊ कुटाइ खाइएला कि भन्ने डरले कामिरहेको थियो । उसकी आमा झनै कराउँदै थिईन् ।
त्यतिकैमा श्रीमती मेहताले नजिक आएर भनिन्–“छोरोलाई किन हप्पाइराख्नुभएको दिदी ? केही नबोल्नुहोस् । यो खेलौना जति महँगो भए पनि छोरो जतिको पक्कै हुँदैन । कसैकसैको भाग्यमा त यसरी खेलौनासित खेल्दाखेल्दै भाँचिदिने पनि कोही हुँदैन ।”
सम्बन्ध
घरमा एक दिन छोराहरूसित वादविवाद भयो । जे भए पनि ऊ बुबा थियो । उसमा बुबा हुनुको राप अझै गइसकेको थिएन । उनीहरू उसका सन्तान थिए । मरेपछि उसको मुखमा अग्नि दिएर मुक्ति प्रधान गर्ने । उनीहरूमा यस कुराको राप थियो । ब्लडप्रेसर र सुगरको रोगी ऊ जोडजोडले कराउन थाल्यो–“तिमीहरूका लागि मैले केही पनि गरेन भन्छौ । तिमीहरूका लागि मैले केके गरेँ भन्ने कुरा अहिले थाहा हुँदैन । भोलि जब तिमीहरू पनि बुबा हुन्छौ र तिम्रा छोराहरूले यसरी नै प्रश्न गरेपछि मात्र थाहा पाउनेछौ ।”
कान्छो छोराले भन्यो–“ भै गो । धेरै कमाउनु पर्दैन, भन्द्याछु ।”
उसले कान्छो छोरालाई जवाफ दिनै लागेको बेला जेठो छोराले भन्यो–“जन्म दिनु मात्र बाउको काम होइन के ? हामीले तपाईँको गार्जियनसीपमा कहिल्यै सुख र आनन्दको अनुभूति गर्न पाएका छैनौं । अब त तपाईँसँग बस्न पनि मन छैन ।”
उसले भन्यो–“न बस न त ।”
छोराहरूले झम्टेजस्तो गर्न थालेपछि उसकी श्रीमतीले विवाद थामथुम पारिदिइन् ।
भोलिपल्ट कार्यालय जानलाई सर्ट लगाउन खोज्दा उसले आफ्नै अन्र्तआत्माको आवाज सुन्यो–“यो सर्ट त कान्छोले किनिदिएको हो नि ।”
कोट लगाउँदा–लगाउँदै मनको आवाज गुन्जियो, “यो कोट त जेठोले....।”
“के धाक लाउँछस् मनुवा ! यो टाइ त कान्छोले भिराइदिएको होइन !”
ऊ स्तब्ध भयो । ऊ कतै हराइसकेको थियो ।

No comments:
Post a Comment