![]() |
| रामचन्द्र नेपाल |
माता÷पिता ः टुकामाया नेपाल, हेमसागर नेपाल
जन्ममिति ः वि.स. २०१३ असोज ३
जन्मस्थान ः दोखु, ताप्लेजुङ
हालको बसोबास ः त्रिभुवनबस्ती नगरपालिका ६, कञ्चनपुर
लघुकथा कृति ः प्रतिबिम्ब (२०६९) एवम् अनुक्रम (२०७६)
थप परिचय ः
—राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील ।
—मेरो कथा नामक चलचित्रको कथाकार ।
—सगुन, नवज्योति साहित्यिक पत्रिकाको सम्पादन ।
सम्पर्क नम्बर ः ९८१२६६२२५८८
प्रवृत्तिहरू ः
— राजनीतिक क्षेत्रमा विसंगतिप्रति व्यङ्ग्य ।
— समाजमा विद्यमान अन्याय–अत्याचार एवम् अन्धविश्वासका घटनाप्रति आलोचना ।
— सीमा अतिक्रमणप्रति आलोचना ।
— द्वन्द्वकालमा जनताको जीवन कष्टकर बनेको अवस्थाबोध ।
— शैक्षिक क्षेत्रका समस्याको प्रस्तुति ।
— समाजमा रहेको नैतिकहीन एवम् आचरणहीन क्रियाकलापको आलोचना ।
— बाल मनोविज्ञानको प्रस्तुति ।
— वैयक्तिक जीवनका विसंगतिको प्रस्तुति ।
—गैरसरकारी संस्थाका क्रियाकलापको आलोचना ।
—सम्वादात्मक प्रस्तुति ।
बिहान
“श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव” जप्दै नुहाइसकेर पण्डित शुभशंकरले सुतिरहेको छोरा अनिरुद्धलाई झक्झक्याउँदै उठाएर भने–“बाबु ! एउटा काम गरिहाल्नु पर्ने भयो । लौ, छिटो उठ् उठ् ।” अल्छी मान्दै उठेको छोराचाहिँ धारातिर लाग्यो । उनी कामको तयारीमा लागे । गाउँमा नाम चलेका पण्डित शुभशंकरका घरमा लैनो भैँसी टुट्दैनथ्यो । दिनहुँ ५, ६ किलो दूधको छेलोखेलो भैरहन्थ्यो । पण्डितजी मोही पारेर दुई वटा ठेकीमा राख्थे । एउटामा आफ्ना लागि र अर्कामा माग्न आउनेका लागि । सँधै नभए पनि चार पाँच किलो मात्र दूध बेच्ने गरिन्थ्यो ।
त्यस बिहान उनले दूध तयार गरेर भने–“बाबु यो दूध हरिसाहुको चिया पसलमा बेचेर आऊ ।”
सँधै दूध बेच्ने काम नगरेको अनिरुद्धले आनाकानी गर्दै सोध्यो–“आज मात्र किन बुबा ? मेरो धेरै पढ्नु छ ।”
“जा न जा, यो बेचेर आउने आधी पैसा तैँ लैजालास् !”
आठ कक्षामा पढ्ने अनिरुद्ध २, ३ पटक फकाएपछि बाल्टीमा अन्दाजी ४÷५ लिटर दुध लिएर बेच्न हिँड्यो । पण्डितनीले भान्साबाटै सोधिन्–“के काम परेर दूध बेच्न पठाउनु भा हजुरले ?”
“दूधको सदुपयोग गरौं भनेर ।”
“किन ? दूध घरैमा हुँदा सदुपयोग हुँदैन र ?”
शुभशंकरले अलि खिस्स हाँसेर भने–“ दूधमा पड्के मुसो डुबेछ । कस्तो कुरा नबुझ्या !!”
व्यवसाय
दश वर्ष पार्टीको युवा फाँटमा दगुरेको राजीवले अन्ततः स्वरोजगार बन्ने सोच्यो । दौंतरी विदेश हानिँदा “विदेश जाने होइन् ।” भन्दै ऊ स्वदेशमै अडियो । नभन्दै डेरी उद्योग खोल्यो उसले । नेपाली नपाएर बरेलीबाट ल्यायो कारिगर । दुई वर्ष नबित्दै त्यो कारिगरले छोड्यो । काम सिकेका केही युवा भविष्य नदेखेर विदेशिसकेका थिए । राम्रो कारीगर नपाएर डेरी बन्द भयो ।
एक वर्षपछि । कर्जा मिलाएर उसले फर्निचर उद्योग खोल्यो तर नगरपालिकाभरि दक्ष मिस्त्री नपाउँदा फेरि बाहिरबाटै ल्याउनुपर्यो । मिस्त्री बेस्सरी काम गथ्र्यो र ज्याला पनि ठटाएरै लिन्थ्यो । व्यवसाय राम्रै चल्यो । केही स्थानियले पनि काम सिक्दै गए । तर सिकारुको ज्याला कम थियो । एक दिन ती युवाहरूले ज्याला बढाउन भन्दै काम बन्द गरे । साँझैपिच्छे रक्सी खाएर उनीहरूले राजीवलाई धम्क्याउन थाले । केही सीप नलागेर उसले त्यही मिस्त्रीलाई उद्योग बेचिदियो ।
पछि ती युवा गाउँमा देखिएनन् । त्यही गाउँको बाँझो जमिन ठेक्कामा लिई उखुखेती गर्ने सरदार हरभजन सिँहले भने–“ती ३, ४ जना त काम खोज्न भन्दै भारततर्फ जाँदै थिए । मैले बोर्डर नजिकै भेटेको !”
राजीवका त्यसपछिका योजना चलेनन् । नोेक्सान बेहोरेको ऊ पनि काठमाडौं गयो । दुई वर्ष बिते । यसबिच उसले घरमा पैसा पठाउन थाल्यो । परिवार बजारमा सरे । छोराछोरी बोर्डिङ स्कुलमा पढ्न थाले । श्रीमती फेरीफेरी नयाँ लुगा र चश्मा लगाउने भई । उसले गहना पनि बनाई ।
“राजीवले राम्रै कमाउन थालेछ क्यारे !” मान्छेले चर्चा गरे । भेट्नेहरू भन्थे–ऊ जाउलाखेल बस्थ्यो र बेलाबेला सिँहदरबारतिर देखिन्थ्यो रे ।
तीन वर्षपछि दशैंमा ऊ घर आयो । अष्टमीको दिन उसका काका–भतिजा मासु खान बसे । काकाचाहिँले सोधे–“साँच्चै तँ त्यहाँ के गरेर कमाउँछस् हँ ?”
“काका, उद्योग व्यवसाय गरेर !”
“तर कही त्यस्तो देखिएन त !” उनले खोतल्दै भने–“नढाँटी भन् न !”
अलिअलि रंग चढ्दै गएपछि राजीवले अरूलाई नसुनाउने शर्तमा खुसुक्क भन्यो–“सरुवा मिलाइदिने र मान्छे विदेश पठाइदिने !”

No comments:
Post a Comment