Saturday, 24 August 2024

रामचन्द्र नेपाल ः परिचय, प्रवृत्ति र लघुकथा

रामचन्द्र नेपाल 

 माता÷पिता ः टुकामाया नेपाल,  हेमसागर नेपाल

जन्ममिति ः वि.स. २०१३ असोज ३

जन्मस्थान ः दोखु, ताप्लेजुङ  

हालको बसोबास ः त्रिभुवनबस्ती नगरपालिका ६, कञ्चनपुर

लघुकथा कृति ः प्रतिबिम्ब (२०६९) एवम् अनुक्रम (२०७६)

थप परिचय ः

—राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील ।

—मेरो कथा नामक चलचित्रको कथाकार ।

—सगुन, नवज्योति साहित्यिक पत्रिकाको सम्पादन ।

सम्पर्क नम्बर ः ९८१२६६२२५८८


प्रवृत्तिहरू ः 

 — राजनीतिक क्षेत्रमा विसंगतिप्रति व्यङ्ग्य ।

— समाजमा विद्यमान अन्याय–अत्याचार एवम् अन्धविश्वासका घटनाप्रति आलोचना ।

— सीमा अतिक्रमणप्रति आलोचना । 

—  द्वन्द्वकालमा जनताको जीवन कष्टकर बनेको अवस्थाबोध ।  

— शैक्षिक क्षेत्रका समस्याको प्रस्तुति । 

— समाजमा रहेको नैतिकहीन एवम् आचरणहीन क्रियाकलापको आलोचना । 

— बाल मनोविज्ञानको प्रस्तुति । 

— वैयक्तिक जीवनका विसंगतिको प्रस्तुति ।

—गैरसरकारी संस्थाका क्रियाकलापको आलोचना ।

—सम्वादात्मक प्रस्तुति ।

बिहान

“श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव” जप्दै नुहाइसकेर पण्डित शुभशंकरले सुतिरहेको छोरा अनिरुद्धलाई झक्झक्याउँदै उठाएर भने–“बाबु ! एउटा काम गरिहाल्नु पर्ने भयो । लौ, छिटो उठ् उठ् ।” अल्छी मान्दै उठेको छोराचाहिँ धारातिर लाग्यो । उनी कामको तयारीमा लागे । गाउँमा नाम चलेका पण्डित शुभशंकरका घरमा लैनो भैँसी टुट्दैनथ्यो । दिनहुँ ५, ६ किलो दूधको छेलोखेलो भैरहन्थ्यो । पण्डितजी मोही पारेर दुई वटा ठेकीमा राख्थे । एउटामा आफ्ना लागि र अर्कामा माग्न आउनेका लागि । सँधै नभए पनि चार पाँच किलो मात्र दूध बेच्ने गरिन्थ्यो ।

त्यस बिहान उनले दूध तयार गरेर भने–“बाबु यो दूध हरिसाहुको चिया पसलमा बेचेर  आऊ ।” 

सँधै दूध बेच्ने काम नगरेको अनिरुद्धले आनाकानी गर्दै सोध्यो–“आज मात्र किन बुबा ? मेरो धेरै पढ्नु छ ।”

“जा न जा, यो बेचेर आउने आधी पैसा तैँ लैजालास् !”

आठ कक्षामा पढ्ने अनिरुद्ध २, ३ पटक फकाएपछि बाल्टीमा अन्दाजी ४÷५ लिटर दुध लिएर बेच्न हिँड्यो । पण्डितनीले भान्साबाटै सोधिन्–“के काम परेर दूध बेच्न पठाउनु भा हजुरले ?”

“दूधको सदुपयोग गरौं भनेर ।”

“किन ? दूध घरैमा हुँदा  सदुपयोग हुँदैन र ?”

शुभशंकरले अलि खिस्स हाँसेर भने–“ दूधमा पड्के मुसो डुबेछ । कस्तो कुरा नबुझ्या !!” 


व्यवसाय

दश वर्ष पार्टीको युवा फाँटमा दगुरेको राजीवले अन्ततः स्वरोजगार बन्ने सोच्यो । दौंतरी विदेश हानिँदा “विदेश जाने होइन् ।” भन्दै ऊ स्वदेशमै अडियो । नभन्दै डेरी उद्योग खोल्यो उसले । नेपाली नपाएर बरेलीबाट ल्यायो कारिगर । दुई वर्ष नबित्दै त्यो कारिगरले छोड्यो । काम सिकेका केही युवा भविष्य नदेखेर विदेशिसकेका थिए । राम्रो कारीगर नपाएर डेरी बन्द भयो ।

एक वर्षपछि । कर्जा मिलाएर उसले फर्निचर उद्योग खोल्यो तर नगरपालिकाभरि दक्ष मिस्त्री नपाउँदा फेरि बाहिरबाटै ल्याउनुपर्यो । मिस्त्री बेस्सरी काम गथ्र्यो र ज्याला पनि ठटाएरै लिन्थ्यो । व्यवसाय राम्रै चल्यो । केही स्थानियले पनि काम सिक्दै गए । तर सिकारुको ज्याला कम थियो । एक दिन ती युवाहरूले ज्याला बढाउन भन्दै काम बन्द गरे । साँझैपिच्छे रक्सी खाएर उनीहरूले राजीवलाई धम्क्याउन थाले । केही सीप नलागेर उसले त्यही मिस्त्रीलाई उद्योग बेचिदियो । 

पछि ती युवा गाउँमा देखिएनन् । त्यही गाउँको बाँझो जमिन ठेक्कामा लिई उखुखेती गर्ने सरदार हरभजन सिँहले भने–“ती ३, ४ जना त काम खोज्न भन्दै भारततर्फ जाँदै थिए । मैले बोर्डर नजिकै भेटेको !”

राजीवका त्यसपछिका योजना चलेनन् । नोेक्सान बेहोरेको ऊ पनि काठमाडौं गयो । दुई वर्ष बिते । यसबिच उसले घरमा पैसा पठाउन थाल्यो । परिवार बजारमा सरे । छोराछोरी बोर्डिङ स्कुलमा पढ्न थाले । श्रीमती फेरीफेरी नयाँ लुगा र चश्मा लगाउने भई । उसले गहना पनि बनाई ।

“राजीवले राम्रै कमाउन थालेछ क्यारे !” मान्छेले चर्चा गरे । भेट्नेहरू भन्थे–ऊ जाउलाखेल बस्थ्यो र बेलाबेला सिँहदरबारतिर देखिन्थ्यो रे । 

तीन वर्षपछि दशैंमा ऊ घर आयो । अष्टमीको दिन उसका काका–भतिजा मासु खान बसे । काकाचाहिँले सोधे–“साँच्चै तँ त्यहाँ के गरेर कमाउँछस् हँ ?”

“काका, उद्योग व्यवसाय गरेर !”

“तर कही त्यस्तो देखिएन त !” उनले खोतल्दै भने–“नढाँटी भन् न !”

अलिअलि रंग चढ्दै गएपछि राजीवले अरूलाई नसुनाउने शर्तमा खुसुक्क भन्यो–“सरुवा मिलाइदिने र मान्छे विदेश पठाइदिने !”    


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...