Thursday, 22 August 2024

श्रीराम राई ः परिचय, प्रवृत्ति र लघुकथा

श्रीराम राई
मातापिता ः चन्द्रकुमारी राई र बमबहादुर राई
जन्ममिति ः वि.स. २०३६ वैशाख १५
जन्मस्थान ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज (खोटाङ्ग)
पहिलो प्रकाशित लघुकथा ः वि.स. २०५६ सालमा युवामञ्चमा प्रकाशित आश्वासन लघुकथा
लघुकथा कृति ः आजका लघुकथा (संयुक्त, २०७४)
बालकथा कृति ः टोली नेता (२०७४)
सम्पादन ः हाम्रो भावना साप्ताहिकको सहसम्पादक, खोटाङ पोष्टको सम्पादक, शैक्षिक पैरवी पत्रिकाको सम्पादक, नागरिक जुनकिरीको संयोजक
सम्मान÷पुरस्कार ः गोरखापत्र संस्थानद्वारा आयोजित लघुकथा प्रतियोगिता(२०७३) मा उत्कृष्ट दशमा पर्न सफल ।
सम्पर्क नम्बर ः  ९७४११४१५५४

प्रवृत्तिहरू ः 
— भ्रष्टाचारजन्य गतिविधिको विरोध ।
— वैदेशिक रोजगारका समस्याको प्रस्तुति ।
— एकल महिलाका पीडाको अभिव्यक्ति । 
— अन्धविश्वास, कुरीति, स्वार्थजन्य क्रियाकलाप, मानवीय सम्वेदनहीनताप्रति चिन्ता ।  
—स्थानिय भाषिकाको प्रयोगका साथै स्थानिय परिवेशको प्रस्तुति । 
— सम्वादात्मक शैलीको प्रयोग । 

सेतो सल
“यस मन्दिरमा कति मान्छेहरू धुइरिएका होलान् । यहाँ आएर कसकसले केके पाए होलान् ।” शिखा आफ्नै धुनमा सोच्दै थिएन् ।

“नानु, लु फूल चढाएर भगवानलाई ढोग ।” सँगै गएकी साथीले आफ्नी छोरीलाई अह्राइन् ।

शिखा साथीको वचन काट्न नसकेर त्यहाँ गएकी थिइन् । उनकी दूधेछोरी बिहानी घामजस्तै मुस्कुराउँदै थिइन् । पुजारीहरू फूलपाती चढाउनमै व्यस्त देखिँदै थिए ।

“मैले भगवान सम्झेर केचाहिँ गरेन हुँला । मेरो खसम सात समुन्द्रपारी जाँदै हुनुहुन्छ । मेरो बढ्दै गएको पेट सम्झेर पिरालिनुभएको छ ।  अनिष्ट नहोस् भन्दै चोखो मनले फुलपाती चढाएँ तर अढाई महिना नबित्दै उहाँ हामीबाट खोसिनुभयो ।” उनले झल्झली विगत सम्झिन् । 

अचानक त्यतिकैमा नानी रुन थालिन् । उनलाई बाबुकै सम्झनामा नानी रोएझैँ लाग्यो । लगत्तै उनी पनि भक्कानिइन्–“भगवान ! मेरा लागि किन यति निष्ठुरी । मैले के बिराएकी थिएँ र ।”

“खोई, मन्दिरमा पनि कस्ताकस्ता मान्छेहरू आउँछन् ?” त्यहीँ नजिकैबाट धोद्रो आवाज आउँदै थियो ।
 
“नानी ! तिमी पनि त कुनै दुःखले रोयौ होला । आँसु त्यतिकै झर्दैन् । तर म चाहन्छु, मेरो जति आँसु नझरोस् तिम्रो । हे भगवान ! फेरि कहिल्यै नआओस् ती पापी भुकम्प ।” एउटी बूढीआमाले उनलाई सम्झाउँदै थिइन् । त्यसपछि ती बूढी आमा शून्यमा हराइन् । उनको आँखामा आँसु टिल्पिलाउँदै थियो । 

“आमा खोई के भनूँ म । हाम्रा लागि खुसी खोज्न गएको मेरो खसम अढाई महिनामै बाकसमा थुनिएर आए । मैले भगवानलाई कति विश्वास गरेकी थिएँ ।” उनले मनको भारी बिसाउन खोजिन् । 

“म पनि रोएँ, तर मैले केही पाइनँ । आफूलाई कमजोर नबनाउ । बरू यी नानीलाई असल बाटामा हिँडाएर खसमको सपना पुरा गर् ।” बूढी आमाले फेरि सम्झाइन् ।

उनी निकैबेर सोचमग्न रहिन् । उनलाई मूर्तिले सम्झाएजस्तै लाग्यो, “शिखा, म त ढुङ्गाको मूर्ति न हुँ । असल कालिगढको हातेसीप । मलाई सरापेर के पाउँछ्यौ । बरु, यी नानीका लागि चुनौतीको पहाड छिचोल्दै जाऊ । यसैमा तिम्रो भलाई हुनेछ ।”

उनले मुस्कुराउँदै दरो अठोट गरिन्, “यो दुनियाँलाई अब म कहिल्यै आँसु देखाउँदिन् ।”

त्यसबेला उनको सेतो सल आँसुले निथ्रुक्क भिजेको थियो ।

सम्मान–पत्र
“मनबहादुर दाइ, कति बिरामी अस्पताल लाँदैलाँदै बाटैमा बिते । यहाँ अस्पताल बनाउनु पर्ने भयो । मेरो जग्गाले मात्रै नपुग्ने भयो । त्यसैले तपाईँले पनि जग्गा दिनुपर्ने भयो ।” जफतमानले खुसामद गरे । 

नभन्दै मनबहादुरले जग्गा दिए । तामझामको साथ अस्पताल भवनको शिलान्यास गरियो । जफतमानले भवनको ठेक्का लिए । मनबहादुरले भवन निर्माणका लागि खुसी हुँदै रगतपसिना पनि बगाए ।

ठेकेदार जफतमान र स्थानिय नेता आहुरमानको सहकार्यमा बल्ल अढाई वर्षपछि भवन ठडियो । उद्घाटन समारोहमा प्रमुख अतिथिले बोले–“यस्तो दुर्गम क्षेत्रमा पनि अस्पताल बनाउन सफल हुनुभएकोमा म यहाँहरू सबैलाई बधाई दिन्छु । धर्मका लागि मन्दिर बनाउनुभन्दा बिरामीका लागि अस्पताल बनाउनु राम्रो हुन्छ ।”

कार्यक्रममा अतिथिहरू सँगै मनबहादुर पनि फूलमाला र दोसल्लाले ढाकिए । बेलुकी फुरुङ्ग हुँदै उनले श्रीमतीलाई भने–“अब हामीले उपचार नपाई अकालमै मर्नु  पर्दैन्  

एक दिन आफ्नै छिमेकीको घर छाउँदाछाउँदै उनी छानाबाट लडे । अस्पताल पुर्याइयो तर धरौटी नै राख्न नसकेर उपचार हुन सकेन । गाउँले जडिबुटीले बाँच्न त बाँचे तर हिँडडुल गर्न सकेनन् । श्रीमाको उपचार गर्न नसकेको पीरमा श्रीमती बितिन् । मनबहादुर भने अहिले जीवन र मरणको दोसाँधमा भित्तामा झुण्ड्याइएको सम्मानपत्र हेर्दै आँसु झार्दैछन् । “सम्मानपत्र, तिमीले त आँसु झार्नु पदैन नि ।” 
 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...