Friday, 16 August 2024

सरुभक्त ः परिचय, प्रवृत्ति र लघुकथा

सरुभक्त
वास्तविक नाम ः भक्तराज श्रेष्ठ
माता÷पिता ः लक्ष्मी श्रेष्ठ, रामबहादुर श्रेष्ठ
जन्ममिति ः वि.स. २०१२ (सन् १९५५ अगस्त २५) 
जन्मस्थान ः बागबजार, पोखरा
पहिलो प्रकाशित लघुकथा ः आफ्नै पुस्तक इतिहासभित्रको इतिहास (२०४१) मा रहेको एउटा अर्को सोक्रेटस लघुकथा ।
लघुकथा कृति ः विरुपाक्ष र देश (२०७१)

कथा कृति ः एक अभिनवको आत्मकथा (उपन्यास तथा कथा २०४४), छोरी ब्रह्माण  (२०४७), पदार्थहरूको गीत (२०५३) यामागल (२०५४)
पुरस्कार÷सम्मान ः पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७६)
सम्पर्क नम्बर ः ९८४६०६८१४१

थप परिचय ः
मदन पुरस्कार प्राप्त लेखक ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति ।
बहुविधाका लेखक । 

प्रवृत्तिहरू ः 
 — युद्धजन्य गतिविधिप्रति आलोचना ।
—राजनीतिक विसंगतिको विरोध । 
— सामाजिक जीवनका विकृत परिवेशप्रतिको आलोचना ।  
—मिथकको प्रयोग । 
–धर्मिक शोषणको विरोध । 
— प्रशासनिक कुव्यवस्थाको चित्रण । 
— विसङ्गतिवादी–अस्तित्ववादी चेतनाको प्रस्तुति ।

कङ्कालहरू

बस कहिँबाट आउँदै थियो, उसले सोधेन । ऊ जाउलाखेलबाट बसमा सवार भयो । बसमा टनाटन मान्छेहरू थिए । ऊसित बसमा, चमेरोझैं, झुन्डिनु बाहेक अर्को विकल्प थिएन । उसले विकल्प नपाएकोमा देशलाई गाली गरेन, सरकारलाई गाली गरेन, नेताहरूलाई गाली गरेन । ऊ अभ्यस्ततापूर्वक बसमा झुण्इिरह्यो ।

बस पुल्चोक आइनपुग्दै उसले आफूभन्दा अगाडि झुन्डिरहेका चारपाँच जना युवकहरूले ‘हे..हे..हे..हे’ गर्दै हल्ला मच्चाएको सुन्यो । युवकहरूले होहल्ला मच्चाउँदै अगाडि ठेल्न पनि थाले ।

उसले बुझ्यो, युवकहरूले त्यो उद्ण्डताको सम्बन्ध, अगाडिपट्टि सर्टपाइन्ट लगाएर झुन्डिरहेका दुई युवतीप्रति छ । युवतीहरू डर, लाचारी र अपमानबोधले असह्य भएर झ्यालतिर हेरिरहेका छन् । त्यो दृश्य देखेर उसको मनभित्र मानवता जाग्यो । ऊ बिस्तारै सरेर युवकहरू र युवतीहरूको बिचमा झुन्डिन पुग्यो ।

युवकहरुले होहल्ला गर्दै ठेलिरहे । उसले तिनको अशिष्ट शक्तिलाई सकेसम्म रोक्यो । नसकेपछि शिष्टतापूर्वक बोल्यो, “ए भाईहरू ! कृपया नठुल्नुहोस् न । अगाडि महिलाहरू छन् ।”

“किन बिचमा आएको ? तिम्रा दिदीबैनी हुन् ?” एउटा उदण्ड बोल्यो । अर्को उदण्डले चाकु देखायो । अरू उदण्डले होहल्ला गर्दै ठेले ।

उसले उदण्डहरूको सबै व्यवहार र शक्ति थामिरह्यो तर आफ्नो ठाउँ भने छोडेन । वाग्मती पुल पार गरी बस अडिएपछि उदण्ड युवाहरू बसबाट ओर्ले ।

बस गुडेपछि यात्रीहरू एकाएक गरी कराए,–“तपाईँ त कस्तो मुर्ख मान्छे, ! गुण्डाहरूसित त्यसरी बोलेर पनि साध्य हुन्छ ? कसो ज्यान लिएनन् !”

उसले सबैलाई एकएक गरी हे¥यो । उसले बसमा यात्रुहरू देखेन, मात्र कङ्कालहरू देख्यो । यसर्थ कङ्कालहरूलाई जवाफ फर्काउनु उसले आवश्यक ठानेन ।

चरित्र
क्याम्पस जीवनमा उनी वाम राजनीति गर्थे । पुँजीवादी, साम्राज्यवादी, दलाल, अराष्ट्रिय र भरौट तत्वहरू विरुद्ध उनी भयानक बाढी आएको खोलाझैं उर्लन्थे । तमाम श्रमिक, श्रमजीवी र सर्वहारा वर्गको तर्फबाट कुर्लनुको हदसम्म कुर्लन्थे । कहिले भारतीय दुतावासमा, कहिले अमेरिकी दुतावासमा विरोधका ज्ञापनपत्र बुझाउने भीडमा नेतृत्वकारी भूमिका खेल्थे । बेलाबेला गोरखा भर्ती केन्द्र खारेज हुनुपर्छ भन्ने आन्दोलनको नेतृत्व गर्थे । बेलायत र भारतका पेन्सन क्याम्पहरू घेराउ गर्न पुग्थे ।

क्याम्पस जीवनपछि पनि उनले वाममार्ग छोडेनन् । उनी वाम बुद्धिजीवी भए । वाम लेखक पनि भए । उनले ‘मिस नेपाल’ आयोजनाको विरोध गर्नेदेखि कुनै पनि पूँजीवादी नग्नताको विरोध गर्न छाडेनन् । यहीबिचमा रोजगारीका लागि भनेर पहिले एनजीओ र पछि आईएनजीओमा छिरी रोजगारीबाट मोटो रकम हात पर्न थालेपछि उसले ती संस्थाहरू पूँजीवादी राष्ट्रको अनुदानबाट सञ्चालित हुन् भन्ने सम्झेनन्् । उनले छोराछोरीलाई मज्जाले पढाए, हुर्काए अनि कसैले थाहा नपाउने गरी लुत्त अमेरिका छिराए ।

अमेरिका छिरेको केही वर्षभित्र छोराछोरीले ग्रीन कार्ड पाए, पछि पक्का नागरिकता ।

अब उनी छोराछोरीलाई भेटने बहानामा अमेरिका जान थाले । वर्षको एक, दुई महिना उतै बस्न थाले ।

यता देशका प्रमुख समाचारपत्रहरूमा उनका वाम लेखरचनाहरू प्र्रकाशित भई नै रहेका छन् । उनले आफूलाई वाम बुद्धिजीवी ठानी नै रहेका छन् । मान्छेहरूले मानिरहेका छन् ।

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...