![]() |
| रामप्रसाद पन्त |
माता, पिता ः हरिकला पन्त, गुणाकर पन्त
जन्ममिति ः वि.स. २०१० पुस २३
जन्मस्थान ः बलेटक्सार, दार्सिङबास, गुल्मी
पहिलो प्रकाशित लघुकथा ः मधुपर्क, पत्रिकाको पूर्णाङ्क ३६२ भदौ २०५६ लघुकथा विशेषाङ्कमा प्रकाशित बकोदरी योजना
लघुकथा कृति ः दाउ (२०७२)
कथा कृति ः रुक्मी दिदी (२०६१),सन्झ्याल (२०६२) एवम् पुष्पमञ्जरी (२०६९)
सम्पादन ः दायित्व साहित्यिक द्वैमासिकको वि.स. २०४४ सालदेखि हालसम्म प्रधान सम्पादक
थप परिचय ः
—नेपाल सरकारको उपसचिवबाट निवृत्त
—दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका वि.स. २०४४ देखि हालसम्म अध्यक्ष ।
—साहित्य लेखन एवम् साहित्यिक पत्रकारिता, साहित्यिक संगठनका क्षेत्रमा गरेको योगदानका लागि तीन दर्जन जति संस्थाबाट सम्मान एवम् पुरस्कार प्राप्त ।
सम्पर्क नम्बर ः ९८४१५२६०१७
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिप्रति आलोचना ।
— समाजमा रहेको अन्याय, अत्याचार, गरिबी, शोषणका घटनाको प्रस्तुति
— व्यक्ति पात्रका विसंगतिको चित्रण ।
— प्रशासनिक क्षेत्रका गलत प्रवृतिप्रति व्यङ््ग्य ।
—आर्थिक क्षेत्रमा फैलिएको भ्रष्ट चिन्तन एवम् गतिविधिको आलोचना ।
—सम्वादात्मक शैलीको प्रयोग ।
बकोदरी योजना
उनलाई आफ्नो भुँडीको पटक्कै चिन्ता थिएन । करोडौँ भुँडीहरू उकास्ने धुनमा लागेर कति दुःख र हन्डर खाए, कति जेल र नेल यातना भोगे, बयान गरी साध्य छैन ।
समय सधैँ एकनास, रहन्न । समयले पल्टा खायो । खोरमा बस्नेहरू सडकमा निस्के, महलमा बस्नेहरू दुलाभित्र पसे । उनले आफ्नो दृढ सङ्कल्पलाई सार्वजनिक गरे प्रतिबद्धता दोहोर्याए— करोडौँ नेपालीहरूको दबिएको पेट अब उक्सनेछ, उकास्न प्रयत्न गरिनेछ तर कसरी उकास्ने ? उकास्न अलिकति बल पनि चाहियो । बल आर्जन गर्न अलिकति आफ्नै भुँडी उकास्न पनि त पर्यो । सडकमा लुखुरलुखुर हिँडेर भुँडी उक्सँदैन । सललल बग्नुपर्यो बाटोमा । लचक्क लच्किने गरी बस्नुपर्यो सिटमा । भिटामिनयुक्त भोजन त चाहियो नै ।
उनलाई भनेजस्तै भयो । भुँडी बढ्यो, बढ्दै गयो । उनले मनमनै सङ्कल्प गरे— अब मैले यस आकारलाई घट्न दिनुहुन्न ।
समयको कालचक्र कसलाई के थाहा हुन्छ र ! उनी कुर्सीबाट एक्कासि लडे । भुँडी घट्यो । पोशाक खुकुलियो । कुर्सीमा चढे, फेरि बढ्यो । फेरि चिप्ले, फेरि घट्यो । यो विचलन वर्षाैँवर्ष चल्यो ।
अब उनले पाइन्ट र कोटको आकारलाई घट्न नदिने सङ्कल्प गरे र स्थायीरूपमा भुँडीको आकारलाई योजना बमोजिमको वृत्तमा कायम राख्न दाउ हाने । यो एउटा राष्ट्रिय दाउ थियो । कसैको दाउ लाग्यो, कसैको लागेन । कसैलाई त्यो खाल फाप्यो, कसैलाई फापेन तर उनलाई फाप्यो ।
उनको भुँडी बढाउने पञ्चवर्षीय योजना विधिवत् कार्यान्वयन हुँदै गयो । उनलाई पूर्णविश्वास भयो आगामी दिनहरू अत्यन्त फलदायी हुनेछन् । यदि बीचमा कुनै दुर्घटना भएन भने र भुँडीनायकको मतिमा शैतानी चढेन भने उनको भुँडी पनि घट्ने छैन । पाइन्ट खुकुलो हुने छैन, वेल्टमा अर्काे प्वाल पार्नुपर्ने छैन, कोटको वृत्त खुम्च्याउनुपर्ने छैन । भुँडी बिस्तारै बकोदरी हुँदै जानेछ र तोकिएको आकारमा परिणत हुनेछ ।
राष्ट्रवादी
उनी प्रजातान्त्रिक मूल्य र मान्यताप्रति विश्वास राख्ने व्यक्ति र राष्ट्रवादी चिन्तक भएकै कारण सचिव पदमा बढुवा भएका हुन् । राष्ट्रप्रतिका उनका मन्तव्यहरू अत्यन्त चोटिला र सारगर्भित हुन्थे । राष्ट्रले मागेमा राष्ट्रसेवकले ज्यान दिन पनि तयार हुनुपर्छ भन्ने दरिला अभिव्यक्तिहरू दिन्थे उनले ।
यति मात्र होइन, उनी वर्षको एक÷डेढ महिना विदेश गएर बस्ने पनि गर्थे । भन्थे–हामीले हेश विकासका तौरतरिकाहरू सिक्न र बुझ्न र केही सिक्नका लागि पनि विकसित राष्ट्रहरूको भ्रमण गरिरहनु पर्छ ।
उनी सचिव पदमा आसिन भएकै बेला सरकारले एउटा नीति ल्यायो र मिति तोकेर सूचना पनि जारी गर्यो–डिभी–पिआर होल्डरहरूले कि त डिभी–पिआर त्याग्नुपर्यो, कि त पद त्याग्नुपर्यो। नत्र डिभी–पिआर पनि जान्छ, पेन्सन पनि जान्छ ।
सरकारले दिएको म्याद सकिनै लाग्दा उनले पारिवारिक कारण देखाई राजीनामा दिए ।

No comments:
Post a Comment