Wednesday, 21 August 2024

रामप्रसाद पन्त ः परिचय, प्रवृत्ति र लघुकथा

रामप्रसाद पन्त

 माता, पिता ः हरिकला पन्त, गुणाकर पन्त

जन्ममिति ः वि.स. २०१० पुस २३

जन्मस्थान ः बलेटक्सार, दार्सिङबास, गुल्मी

पहिलो प्रकाशित लघुकथा ः मधुपर्क, पत्रिकाको पूर्णाङ्क ३६२ भदौ २०५६ लघुकथा विशेषाङ्कमा प्रकाशित बकोदरी योजना

लघुकथा कृति ः दाउ (२०७२)

कथा कृति ः रुक्मी दिदी (२०६१),सन्झ्याल (२०६२) एवम् पुष्पमञ्जरी (२०६९)

सम्पादन ः दायित्व साहित्यिक द्वैमासिकको वि.स. २०४४ सालदेखि हालसम्म प्रधान सम्पादक

थप परिचय ः

—नेपाल सरकारको उपसचिवबाट निवृत्त

—दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका वि.स. २०४४ देखि हालसम्म अध्यक्ष ।

—साहित्य लेखन एवम् साहित्यिक पत्रकारिता, साहित्यिक संगठनका क्षेत्रमा गरेको योगदानका लागि तीन दर्जन जति संस्थाबाट सम्मान एवम् पुरस्कार प्राप्त ।

सम्पर्क नम्बर ः  ९८४१५२६०१७


प्रवृत्तिहरू ः 

 — राजनीतिक विकृतिप्रति आलोचना ।

— समाजमा रहेको अन्याय, अत्याचार, गरिबी, शोषणका घटनाको प्रस्तुति 

— व्यक्ति पात्रका  विसंगतिको चित्रण । 

— प्रशासनिक क्षेत्रका गलत प्रवृतिप्रति व्यङ््ग्य ।  

—आर्थिक क्षेत्रमा फैलिएको भ्रष्ट चिन्तन एवम् गतिविधिको आलोचना । 

—सम्वादात्मक शैलीको प्रयोग । 


बकोदरी योजना

उनलाई आफ्नो भुँडीको पटक्कै चिन्ता थिएन । करोडौँ भुँडीहरू उकास्ने धुनमा लागेर कति दुःख र हन्डर खाए, कति जेल र नेल यातना भोगे, बयान गरी साध्य छैन । 

समय सधैँ एकनास, रहन्न । समयले पल्टा खायो । खोरमा बस्नेहरू सडकमा निस्के, महलमा बस्नेहरू दुलाभित्र पसे । उनले आफ्नो दृढ सङ्कल्पलाई सार्वजनिक गरे प्रतिबद्धता दोहोर्याए— करोडौँ नेपालीहरूको दबिएको पेट अब उक्सनेछ, उकास्न प्रयत्न गरिनेछ तर कसरी उकास्ने ? उकास्न अलिकति बल पनि चाहियो । बल आर्जन गर्न अलिकति आफ्नै भुँडी उकास्न पनि त पर्यो । सडकमा लुखुरलुखुर हिँडेर भुँडी उक्सँदैन । सललल बग्नुपर्यो बाटोमा । लचक्क लच्किने गरी बस्नुपर्यो सिटमा । भिटामिनयुक्त भोजन त चाहियो नै । 

उनलाई भनेजस्तै भयो । भुँडी बढ्यो, बढ्दै गयो । उनले मनमनै सङ्कल्प गरे— अब मैले यस आकारलाई घट्न दिनुहुन्न ।

समयको कालचक्र कसलाई के थाहा हुन्छ र ! उनी कुर्सीबाट एक्कासि लडे । भुँडी घट्यो । पोशाक खुकुलियो । कुर्सीमा चढे, फेरि बढ्यो । फेरि चिप्ले, फेरि घट्यो । यो विचलन वर्षाैँवर्ष चल्यो ।

अब उनले पाइन्ट र कोटको आकारलाई घट्न नदिने सङ्कल्प गरे र स्थायीरूपमा भुँडीको आकारलाई योजना बमोजिमको वृत्तमा कायम राख्न दाउ हाने । यो एउटा राष्ट्रिय दाउ थियो । कसैको दाउ लाग्यो, कसैको लागेन । कसैलाई त्यो खाल फाप्यो, कसैलाई फापेन तर उनलाई फाप्यो ।

उनको भुँडी बढाउने पञ्चवर्षीय योजना विधिवत् कार्यान्वयन हुँदै गयो । उनलाई पूर्णविश्वास भयो आगामी दिनहरू अत्यन्त फलदायी हुनेछन् । यदि बीचमा कुनै दुर्घटना भएन भने र भुँडीनायकको मतिमा शैतानी चढेन भने उनको भुँडी पनि घट्ने छैन । पाइन्ट खुकुलो हुने छैन, वेल्टमा अर्काे प्वाल पार्नुपर्ने छैन, कोटको वृत्त खुम्च्याउनुपर्ने छैन । भुँडी बिस्तारै बकोदरी हुँदै जानेछ र तोकिएको आकारमा परिणत हुनेछ ।


राष्ट्रवादी

उनी प्रजातान्त्रिक मूल्य र मान्यताप्रति विश्वास राख्ने व्यक्ति र राष्ट्रवादी चिन्तक भएकै कारण सचिव पदमा बढुवा भएका हुन् । राष्ट्रप्रतिका उनका मन्तव्यहरू अत्यन्त चोटिला र सारगर्भित हुन्थे । राष्ट्रले मागेमा राष्ट्रसेवकले ज्यान दिन पनि तयार हुनुपर्छ भन्ने दरिला अभिव्यक्तिहरू दिन्थे उनले ।  

यति मात्र होइन, उनी वर्षको एक÷डेढ महिना विदेश गएर बस्ने पनि गर्थे । भन्थे–हामीले हेश विकासका तौरतरिकाहरू सिक्न र बुझ्न र केही सिक्नका लागि पनि विकसित राष्ट्रहरूको भ्रमण गरिरहनु पर्छ । 

𛲠𛲠𛲠

उनी सचिव पदमा आसिन भएकै बेला सरकारले एउटा नीति ल्यायो र मिति तोकेर सूचना पनि जारी गर्यो–डिभी–पिआर होल्डरहरूले कि त डिभी–पिआर त्याग्नुपर्यो, कि त पद त्याग्नुपर्यो। नत्र डिभी–पिआर पनि जान्छ, पेन्सन पनि जान्छ ।

सरकारले दिएको म्याद सकिनै लाग्दा उनले पारिवारिक कारण देखाई राजीनामा दिए ।   




No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...