![]() |
| शारदा पौडेल निशा |
वास्तविक नाम ः शारदा पौडेल
माता÷पिता ः हुमादेवी पौडेल÷पीताम्बर शर्मा पौडेल
जन्ममिति ः २०२९ मंसीर २२
जन्मस्थान ः भरतपुर–१४, चितवन
पहिलो प्रकाशित लघुकथा ः सौर्य दैनिकमा जनवरी १४, २०१४ मा प्रकाशित मानसिकता लघुकथा ।
लघुकथा कृति ः छोरीका आँखा (२०७५), तेस्रो पाइला (२०७६)
थप परिचय ः
—नेपालमा शिक्षकको रुपमा कार्य गरेको ।
—हाल वैदेशिक रोजगारको क्रममा स्पेनमा ।
—अनेसासको स्पेन शाखाको अध्यक्ष ।
सम्पर्क नम्बर ः ००३४६१२५३१७७० (स्पेन)
प्रवृत्तिहरू ः
— नेपाली नारीको पहिचान, प्रतिनिधित्व र अस्त्विबोधको चर्चा ।
— राजनीतिक विसङ्गतिको चर्चा ।
—मानव अधिकार हननप्रति चिन्ता ।
— मानिसको आडम्बरपूर्ण क्रियाकलापप्रति व्यङ्ग्य ।
आधुनिक सभ्यताको नाममा गरिने विकृत त्रियाकलापप्रछि चिन्ता ।
—शिक्षा क्षेत्रका विकृतिको आलोचना ।
—समसामयिक युगजीवनको यथार्थको प्रस्तुति ।
— सम्वादात्मक शैली ।
आफन्तको खोजी
“काका हेर्नू न, पढेर पनि केही काम नै पाउन सकिएन । खै के गर्ने हो ? खेती किसान गरौँ भने आम्दानीभन्दा खर्च धेरै हुने, उल्टो घाटा खाएर खेती गरेर बसेर नि कामै भएन । त्यसैले म पनि त्यतै आउनपर्यो, काम लगाइदिनु है ?” मैले भनेँ ।
“हुन्छ आइज ।” काकाको जवाफ सुन्नेबित्तिकै मैले पासपोर्ट बनाएँ । एउटा कन्सलटेन्सीलाई बुझाएँ । महिना दिनमा नै भिसा लाग्छ भन्यो । नभन्दै भिसा लाग्यो । भिसा लागेपछि बल्ल सबै परिवार, इष्टमित्र छाडेर हिँड्दैछु, के हुने होला ? कसो हुने होला भनेर मनमा कुरा खेल्न थाल्यो । अर्को मनले “अब युरोपको सम्पन्न देशमा जाने हो । केही वर्ष बसिन्छ, कमाइन्छ र फर्किइन्छ भन्ने ठूलो आशा बोकेको थियो ।”
जाने दिन आयो, आमा–बुबा, दाजुभाई, इष्टमित्र सबले टीका लगाएर बिदाइ गर्नुभयो । आमाले रूँदै भन्नुभएको थियो, “नजा भन्दा मानेनौ बाबु । सबैले यही देशमा गरी खाएकै थिए । अब राम्रोसँग जाऊ । बापछिका काका हुँदै हुनुहुन्छ, पीर नगर । यति भन्ने बेलासम्म आमाको मुटुमा गाँठो परिसकेको थियो । त्यत्तिकैमा बाले भन्नुभयो, “विदेशमा कोही छ होइन कि म छु र मैले गर्नुपर्छ भन्ने सोच लिएर हिँड्नुपर्छ ।”
म सबैसँग बिदाइका हात हल्लाएँ मन भारी बनाउँदै गेटपासभित्र छिरेँ र सपनाको शहरतिर हानिएँ । मैले काकालाई आउने समयतालिका सबै मेलमा पठाएको थिएँ र उहाँ सोही समयमा एयरपोर्ट लिन आउँछु भन्नुभएको थियो र आउनुभयो पनि ।
जब काकालाई एयरपोर्टमा देखेँ, खुसीको सीमा रहेन । बसेको ठाउँमा पुग्नको लागि मेट्रो चढ्यौँ र केही समय काका–भतिजा भलाकुसारी गर्यौं । बाआमा छोडेर आए पनि काकालाई देखेपछि उहाँभित्र बाको स्वरूप देखेको थिएँ । मनमनै निकै हर्षित थिएँ । मैले केके सोच्न पुगेछु । एकछिन हामीबिचमा सन्नाटा छायो ।
यही सन्नाटालाई चिर्दै काकाले भन्नुभयो–“हेर केटा ! यो विदेश हो । यहाँ आफ्नो आफन्त कोही हुँदैन । सबै व्यवस्था आफैंले गर्नुपर्छ । तँलाई आजको रात मेरो घरमा बस्न दिन्छु । भोलि बिहानै आफ्नो बाटो लाग्नू ।” म एक्कासी आकाशबाट खसेँ, झस्किएँ र बालाई सम्झिएँ अनि अघिको बाको स्वरूपलाई नियालिरहेँ ।
जिज्ञासा
केही दिन अगाडि बाबा, आमा र म बजार गएका थियौँ । “आएको बेला केही किनेर लैजान पाए आमा खुवाउने औँसीको दिन बजार आइरहन पर्दैन ।” आमाले भन्नुभयो ।
“हुन्छ तिमीले किन, मचाहिँ किन्दिन ।” बाबाले भन्नुभयो ।
“किन नकिन्ने बाबा ?” मैले सोधेँ ।
“तिमी सानी छौ, बुझ्दिनौ ।” बाबाले भन्नुभयो ।
दुई–दुईवटा छोरा भएर पनि हजुरआमा गाउँमा एक्लै बस्नु, भेट्न जाँदा बुबा बेसरी रिसाउनु, देख्न मन लागे ढाँटेर जानुपर्ने, आदि कुराले मलाई पिरोल्न थालेको थियो ।
“आमाभन्दा सम्पत्ति ठूलो भयो तिम्रा बाबालाई ? हेर्न मन लागेको छ । न ऊ आउँछ, न मलाई बोलाउँछ ।” भन्दै रुनुहुन्थ्यो हजुरआमा ।
म केही बुझ्दैनथेँ । नरुनु भन्थेँ, फकाउने कोशिस गर्थेँ ।
“जन्म दिएकै छोराहरूले नै यस्तो गर्छन् भने बाहिरबाट ल्याएका आमा र काकीलाई के भन्ने ?” मनमनै सोच्थेँ ।
हजुरआमा भएको ठाउँमा बाबा किन जानुहुन्न सोधेरै छाड्छु भनेर अड्डी कसेँ र भनेँ, “आमा मामाघर जानुहुन्छ । हजुर र म हजुरआमा भएको ठाउँमा जाम् है बाबा ?”
बाबाले भन्नुभयो, “किन जाने ? तिनैको छोरो आउला नि ?”
मैले दंग पर्दै सोधेँ “हजुरलाई जसले जन्मायो, उसैलाई भेट्न जाऊँ न हुन्न ?”
“जन्म दिएर मात्रै हुन्छ ? तिमीसँग भएको पेवा पैसा लेऊ न आमा भन्दा नदिएको बिर्सेको छु ?” राता आँखा बनाउँदै बाबाले भन्नुभयो ।
“भएको अंश जग्गाजमिन कहाँबाट आयो ? शहरको घर के गरेर बनाउनु भयो बाबा ? हजुरले हजुरआमालाई जाबो पेवा दिइनन् भनेर यस्तो गर्नुहुन्छ भने, दिएको भए पनि ‘छैन, म छोरो हुँ खाएँ’ भन्नुहुन्थ्यो होला हैन ?”
“त्यसो भए हजुरलाई एउटा प्रश्न सोधुँ बाबा ?”
“हुन्छ सोध, के सोध्न मन छ ?” झर्किँदै भन्नुभयो ।
“सम्पत्तिकै लागि हजुरले आमालाई यस्तो गर्नुहुन्छ भने भोलिपर्सि भएको सम्पूर्ण सम्पत्ति भाइलाई दिँदा मैले हजुरहरूलाई के गर्नुपर्ला ?

No comments:
Post a Comment