![]() |
| दिव्य गिरी |
माता, पिता ः मिनु गिरी, भरत गिरी
जन्ममिति ः वि.स. २०११ कार्तिक ७
जन्मस्थान ः ललितपुर, इमाडोल
पहिलो लघुकथा ः पूर्वाद्ध पत्रिकामा २०३७ असारमा प्रकाशित खेल लघुकथा
लघुकथा कृति ः भेँडीगोड र भेडो (२०७३)
पुत्ला दहन (२०७९)
कथा कृति ः अनामिका (२०६१)
पुरस्कार ः गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगिता (२०७४) मा प्र्रथम
सम्पर्क नम्बर ः ९८४१४११३९३
थप परिचय ः
—त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) को उपप्रशासकका रुपमा कार्यरत रही हाल अवकाश प्राप्त ।
—विभिन्न साहित्यिक एवम् सामाजिक संस्थामा आबद्धता ।
प्रवृत्तिहरू ः
— नेपाली राजनीतिका विसंगत पक्षप्रतिको आलोचना ।
— द्वन्द्वकालमा भएका हिंसाजन्य गतिविधिको प्रस्तुति, यस अवधिमा भएको मानवमूल्यको विघटनप्रति चिन्ता ।
—नेपाली समाजमा देखिएको आडम्बर, भ्रष्ट चिन्तन र सो चिन्तनले उत्पन्न विसंगत जीवन कर्मप्रति आलोचना ।
— नेपाली प्रशासनिक क्षेत्रमा रहेको अवसरवाद, धोकापूर्ण व्यवहार, भ्रष्टाचार, टिकाटिप्पणीमा रमाउने कार्यप्रति व्यङ्ग्य ।
— स्वास्थ्य, शिक्षा एवम् कलाकारिता क्षेत्रका विसंगतिप्रतिको आलोचना ।
शपथ ग्रहण
सरकार परिवर्तन भएपछि ऊ भूतपूर्व मन्त्री भयो । मन्त्री भएको बखत भ्रष्टाचार गरेर करौडौंको सम्पति कमाएको आरोापमा उसलाई मुद्दा लाग्यो ।
अन्ततः एक दिन ऊ अदालतमा बयान दिन जानै पर्ने भयो ।
“तपाईँ मन्त्री हुँदा देश र जनताप्रति वफादार भई देश र जनताको लागि इमानदारीपूर्वक काम गर्नेछु भनेर शपथ खानु भएको थियो तर तपाईँलाई त भ्रष्टाचार गरेको आरोप पो लागेको छ । तपाईँ उपर भ्रष्टाचारको आरोप लाग्नुपर्ने कारण सहित बयान दिनुस् ?” न्यायाधिशले भने ।
“श्रीमान, मैले देश र जनताको नाममा शपथ खाएको हुँ । मैले शपथ खाए अनुसार नै काम पनि गरेको हुँ । जे गरेको छु, देश र जनताकै लागि गरेको छु ।” उसले निर्धक्क उत्तर दियो ।
उसको उत्तर सुनेर न्यायाधिश झन छक्क परे ।
“ भ्रष्टाचार पनि देश र जनताको लागि गरेको काम हुन्छ र ? यो के भन्नुभएको ?” न्यायाधिशले प्रतिप्र्रश्न गरे ।
“हो श्रीमान, मैले भ्रष्टाचार गरेर कमाएको सबै धन मेरो स्वास्नी, छोराछोरी, भाइभतिजा, दिदीबहिनी, सालासाली, नातागोता, इष्टमित्रहरूको नाममा राखिदिएँ । तिनीहरू पनि त यो देशका जनता नै हुन् । तिनीहरू धनी भएपछि यो देश पनि धनीहरूको देश हुने भयो । अब भन्नुस् श्रीमान, के मैले देश र जनताको लािग काम गरिनँ र ? मैले खाएको शपथग्रहण पूरा भएन त ?”
उसको बयान सुनेर अदालतमा उपस्थित सबै मुखामुख गर्न थाले । न्यायाधिश पसिना पुछन थाले ।
खण्डहर
“हैन, समाचार आइरहेथ्यो, किन बन्द गरेको ?” समाचार हेर्दाहेर्दै रिमोट कन्ट्रोलबाट टेलिभिजन बन्द गरेको देखेर आरतीले सोधी ।
ती मारिएका मान्छेको लाश र भत्किएका घरहरू मलाई पटक्कै हेर्न मन छैन ।” अशोकले कारण बताउँदै भन्यो–“आज माथ्लाघरे जयकृष्णसँग अचानक भेट भएथ्यो । हिजो मात्रै काठमाडौं आएका रहेछन् । उनले भनको कुरा सम्झँदा मन घरी–घरी कुँडिन्छ । भित्रभित्र पीडाको ज्वाला बलेजस्तो हुन्छ ।”
“ए, के छ रे, गाउँतिरको खबर ? उनले त्यस्तो के कुरा गरे जसले तपाईँको मन दुख्यो ?” आरतीले जिज्ञासा राखी ।
“गाउँघरको खबर भन्दा पनि यो वर्षको वर्षात्ले हाम्रो घर पुरै भत्केको रे ।” अशोकले भावुक हुँदै भन्यो ।
कोठामा एकछिन मौनता छायो । घर भत्केको कुरा सुनेपछि आरतीको मन पनि चिसो भयो ।
“पन्ध्र वर्षसम्म त टेकेछ । मान्छे नबसेपछि, मर्मत सम्झार नभएपछि घरको के कुरा, दरबार त भत्किन्छ । हाम्रो कर्ममा त्यो घर भोग गर्न लेखेको रहेनछ । यो शहरको दुर्गन्धित गल्लीभित्रको अँध्यारो कोठामा गुम्सिएर बाँच्नु परेको छ । जे हुनु भैसक्यो । अब जति चित्त दुखाए पनि हुने केही होइन ।” आरतीले सान्त्वना दिँदै भनी ।
“घरबार छोडेर विस्थापित हुँदा पनि मेरो मन त्यति रोएको थिएन जति आज रोएको छ । अशोकको गला अवरुद्ध भयो ।
आरतीले अशोकको अनुहारमा हेरी । उसका दुवै आँखामा आफ्नै घरको खण्डहर मात्र देखी ।

No comments:
Post a Comment